No ads found for this position

किसानको लकडाउन पिडा : ‘माटोमा उब्जिएको माटोमानै मिल्ने भयो’

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २६ गते १७:३८
No ads found for this position
No ads found for this position

सालिकराम कोईराला
हुप्सेकोट ( नवलपुर ) : भर्खरै जुँगाको रेखी बस्दै गरेको लक्का जवान ठिटो । गोरखपुरे रेलमा छक छक गर्दै हुँईकिंदै थिए । सपना थियो भारतीय सेनामा भर्ती हुने । तर भाग्यले साथ दिएन । सपना तुहियकोमा उनी मर्माहत भए । लाहुरे हुने सोच चाउरिए पनि उनी सफल किसान बनेर देखा परे ।

नवलपुरको हुप्सेकोट गाउँपालीका वार्ड नं १ जुकेपानी बस्ने मिहेनती किसान ग्याम बहादुर रजालीको जीवनको संक्षिप्त कथा हो यो । आफ्ना दर्लामीहरू लाहुरे भएको देखेर फौजी बन्ने सपना साँचेका रजालीको जीवनमा अचानक नयाँ मोड आयो । रेलको यात्रामा भारतियहरुले खिरीलो काँक्रो बेचेको देखेका उनको मनमा नानाथरी कुरा खेल्न थाल्यो । “आ भर्ति नभएर के भो त ? अब आफ्नै देशमा खेती किसानी गर्छु ।” रजालीले मनमनै दृढ प्रतिज्ञा गरे । लाहुरेको सपना कुहिरिमण्डल भएपछि उनले विवाह गरे ।

चैत बैशाखको धुपमा आफूले मुखै रसाउने गरि रेलमा भारतियसंग किनेर खाएको काँक्रो सम्झिए । “ओहो ! त्यसरीनै काँक्रो खेती गर्न पाए कसो हुन्थ्यो होला ?“ मनमनै सपना सजाए । केही समयको अन्तरालमा उनै लक्का जवान ठिटो नयाँ घरजम सहित काँक्रो खेतीमा लागे । आफु जस्तै मिहेनती श्रीमती र परिवारका अन्य सदस्यले काममा सघाए । लाहुरे बन्ने सपनालाई रूपान्तरण गर्दै जीवनको पुरै समय कृषि कर्ममा होमीने अठोट गरे । शुरूमा आफ्नै बारीको पाटामा काँक्रा खेती गरे । बिस्तारै टमाटर, फर्सी, करेला, बन्दागोभी लगाएतका विभिन्न तरकारी बाली उत्पादन गर्न प्रेमपिण्ड तरकारी उत्पादक केन्द्र स्थापना गरेर ब्यबसायिक रूपमै कृषिमानैं लागिपरे ।


हुप्सेकोटमा बसोबास गर्ने रजालीले कावासोती–४ हँसौरामा दुई बिगाहा प्लट भाडामा लिएर अहिले ब्यबसायिक रूपमै भक्तपुरे लोकल काँक्रा खेति गर्दै आएका छन् । बारीभरि लटरम्म काँक्रा फलेको छ । तर परिस्थितिले फेरि रजालीलाई यस पटक नराम्ररी थला पारिदियो । कारण कोरोना संक्रमणको भयले पुरै देश लकडाउन हुँदा उनको काँक्रा बारीको बारीमै रह्यो । टिप्न र बजार सम्म पुर्याउन सकिएन । काँक्राबाटै गतबर्ष खर्च कटाएर १२ लाख कमाएका ग्याम बहादुर यसपाली नराम्ररी थलिए ।

आफ्नै घर परिवारका ६ जनाको मिहिनेत र पौरख माटोमै बिलाएपछि उनी रनभूल्ल परेका छन् । हुनत उनी मात्र हैन यहाँका कृषकहरू थमन रजाली,चेतन रजाली,मन बहादुर थापा र रबिन्द्र रजालीको पनि हालत उस्तै छ । कसैको कृषि उत्पादन बजार पुर्याउन सकिएको छैन । लकडाउनका कारण यहाँको उत्पादन खपत हुने स्थानीय बजारहरू नारायणगढ, बुटवल,भैरहवा र पोखरा तथा काठमाडौ समेत सबै ठप्प छन् । कँहि पनि काँक्रा पुर्याउन नसकिएकोमा ग्याम बहादुरले निरासा ब्यक्त गरे। “अब एत्तिकै त होलानी माटोमै उब्जिएको माटोमै मिल्ने भयो।“ उनले खुईय् गर्दै सुसेल्दै पसिना पुछे । उनी जस्तै किसानहरूले कुल ४० बिगाहामा यो क्षेत्रमा काँक्रा खेती गरेका छन् । यसबर्ष मात्रै सरदर २ करोड ४० लाख बराबरको काँक्रा नष्ट हुने स्थानीय कृषकहरूले सामुहिक रूपमा सत्य कलमलाई जानकारी गराए ।

हुप्सेकोटका जुकेपानी,बेलानी, गिरूवारी, झ्यालबास, कोलिया र शंखदेवलाई पकेट क्षेत्र घोषणा गरि ब्यबसायिक काँक्रा खेती गरिएको छ । कृषि बिज्ञ तथा हुप्सेकोट गाउँपालिका कृषि शाखा प्रमुख राजेन्द्र गौडेलका अनुसार यहाँका ५ सय कृषकले ३ सय हेक्टर जमिनमा बार्षिक १६ हजार मेट्रिक टन काँक्रा फलाउँदै आएका छन् ।

प्रकाशित : २०७६ चैत २६ गते १७:३८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI