कारागारमा कोरोना संक्रमणको जोखिम

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २६ गते १७:४०

परासी : कारागार कार्यालय पश्‍चिम नवलपरासीमा रहेका कैदीबन्दीमा कोरोना संक्रमणको जोखिम बढेको छ। क्षमताभन्दा बढीको संख्यामा कैदीबन्दी रहेका कारण जोखिम बढेको हो ।  कोरोना संक्रमणबाट सुरक्षित रहन सामाजिक दूरी कायमलाई प्रमुख रुपमा लिइएको छ। तर कैदीबन्दीलाई भने एउटा कोठामा ३० देखि ३५ जनासम्म बस्नुपर्ने बाध्यता छ । 

कारागारको क्षमता २५ जना महिला र १ सय ५० जना गरी कुल १ सय ७५ रहेको जेलर जगत बहादुर बस्नेतले जानकारी दिए । हाल ६४ महिलासहित ४ सय बन्दी छन् । कारागारमा महिलातर्फ ४ र पुरुषतर्फ १० कोठा छन्। 

कोठा अभावका कारण एउटै कोठामा कोचिएर बस्नुपर्ने अवस्था छ। यसैबीच कैदीबन्दीको स्वास्थ्यमा विशेष निगरानी राखिएको जेलर बस्नेतले दाबी गरे । ‘अहिलेसम्म कुनै कैदीबन्दीलाई ज्वरो, रुघा खोकीलगायतका लक्षण देखिएको छैन। देखिएमा तत्काल उपचारका लागि अस्पताल पठाउँछौं,’ बस्नेतले भने।

कोरोना संक्रमण फैलिन नदिन सरकारले १ वर्ष कैद तोकिएका कैदीबन्दीलाई निवेदनका आधारमा सजाय छुट दिने जनाएपछि कारारगारबाट ५ जना छुटेका छन् । 

एक कैदीबन्दीको मृत्यु

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारागार कार्यालय पश्चिम नवलपरासीमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीबन्दीको बुधबार मृत्यु भएको छ।मृत्यु हुनेमा रुपन्देही सैनामैना १ क ३५ वर्षीय शिवराज परियार छन् । उनको जन्डिस रोगका कारण मृत्यु भएको जेलर बस्नेतले बताए ।१० वर्ष कैद र १ लाख जरिवाना तोकिएका मृतक परियार २०७२ साल भदौदेखि कारागारमा थिए ।  

प्रकाशित : २०७६ चैत २६ गते १७:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI