कोरोनाले निम्त्याएको सङ्कट र सावधानी

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २७ गते ८:४१
कोरोनाले निम्त्याएको सङ्कट र सावधानी

प्रमाण अधिकारी

यी पंक्ति लेख्दै गर्दा संसारभर २०९ वटा देश, प्रान्त आदि कोरोना भाइरसको महामारीबाट प्रभावित भइसकेका छन्। सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुवेइ प्रान्तको राजधानी वुहान शहरबाट शुरु भएको संक्रमणले हाल महामारीको रूप लिएको सर्वविदितै छ। यसका कारण हालसम्म संसारभरका प्रभावित मुलुकहरूमा १५,१८,५१७ जनता कोरोना भाइरसबाट संक्रमित भएका छन् जसमा ३,३०,५८९ निको भएका छन् भने ८८,४९५ को इहलीला समाप्त भएको छ। त्यसैगरी ४८,०७९ मानिस अत्यन्त गम्भीर अवस्थामा यस संक्रमण विरुद्ध लड्दै छन्। (स्रोतः https://www.worldometers.info/coronavirus/)

नेपालको सन्दर्भमा कुरा गर्दा हालसम्म २३६६ जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिएकामा ९ जनामा संक्रमण पुष्टि भएको छ जसमा १ जना निको भएका छन् भने बाँकी ८ जनाको उपचार जारी छ। नेपाल बाहिरबाट आएका व्यक्तिमार्फत नेपालमै रहेका व्यक्तिलाई भाइरस संक्रमण भएसँगै नेपाल पनि यस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको हो।

माथि उल्लेखित पृष्ठभुमिलाई याद गर्दै हाल युरोपेली देशहरू र अमेरिकाजस्ता विकसित मानिएका देशहरूले भोगिरहेको दुःखद अवस्थासँग तुलना गर्दा हामीले सतर्कता अपनाउन पर्ने ठूलो खाँचो देखिन्छ। उच्च आर्थिक वृद्धिको बहानामा जनताले प्राप्त गर्ने आधारभूत सेवाका क्षेत्र, जस्तै, गुणस्तरीय शिक्षा, स्थास्थ्य आदिमा गरिएको हेलचेक्र्याइँको मँहगो मूल्य अहिले सारा विश्वले तिर्न बाध्य भइरहेको छ। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री अभावका कारण विकसित भनिएका मुलुकहरूबीचमै स्वास्थ्य सामग्रीको खोसाखोस र आरोप प्रत्यारोप चलिरहेको छ।

विकसित भनिएका देशहरूको पनि यस्तो दुर्दशाले नेपाल जस्तो अति कम विकसित मुलुकले संक्रमणको मात्रा बढेका खण्डमा कसरी यसको सामना गर्छ भन्ने अहिले गम्भीर प्रश्नका रुपमा तेर्सिएको छ।

संसारमै उच्च गुणस्तरको स्वास्थ्य सेवा भएको भनेर प्रचार गरिएका विकसित मुलुकहरूको वर्तमान लाचारी र उपचारमा अत्यावश्यक मास्क, व्यक्तिगत सुरक्षा सामग्री र भेन्टिलेटर आदिको अभावले कमजोर स्थास्थ्य संयन्त्र र पूर्वाधार भएका नेपालजस्ता अति कम विकसित राष्ट्रलाई आउँदा दिनहरूमा यस किसिमका विपत्ति सामना गर्न तयारी गर्ने अवसर त छ तर यो अहिलेको विपत्तिलाई परास्त नगरी सम्भव छैन। विकसित भनिएका देशहरूको पनि यस्तो दुर्दशाले नेपाल जस्तो अति कम विकसित मुलुकले संक्रमणको मात्रा बढेका खण्डमा कसरी यसको सामना गर्छ भन्ने अहिले गम्भीर प्रश्नका रुपमा तेर्सिएको छ। स्थास्थ्यजस्तो अति संवेदनशील आधारभूत क्षेत्रमा कुनै पनि राष्ट्र खरो उत्रिएको महसुस हुन सकेको छैन यस्तो संकटको घडीमा। आधारभूत आवश्यकताको क्षेत्रमा धनी र निजी क्षेत्रको व्यापक संलग्नताले सेवाभन्दा पनि नाफालाई महत्व दिने हुँदा आधारभूत सेवाका क्षेत्रमा यस किसिमको बेथिति र हाहाकार भएको हामीले नकार्न मिल्दैन।

सत्ता र शक्तिनिकट रहेका सीमित धनीहरूले अर्थतन्त्र नियन्त्रण गर्ने आसेपासे पुँजीवाद (क्रोनी क्यापिटलिजम्) हाबी भएका बखत सबल, सुलभ र सहज आधारभूत सेवा प्राप्त हुने कुरा कल्पना गर्न सकिंदैन। यस्ता आधारभूत आवश्यकताका क्षेत्रमा समस्या आइपर्दा जहिले पनि हामी राज्यको प्रत्यक्ष संलग्नता, नियमन र नियन्त्रणका कुरा गर्छौं तर हालसम्म पनि यसले ठोस कार्यरुप लिएको देखिंदैन।

संक्रमण फैलनबाट रोक्ने प्रयास स्वरूप सरकारले जारी गरेको एकान्तबास र बन्दाबन्दीको व्यवस्था आवश्यक र स्वागतयोग्य छ। आज काम गरेमात्र बेलुका र बिहानको गासको प्रबन्ध मिल्ने दैनिक ज्याला मजदुरी गर्ने वर्ग, देशका विभिन्न भूभागबाट कामको सिलसिलामा देशभित्र र देशबाहिर आफ्नो श्रमले गास, बास र कपासको थिति मिलाउने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूको जीवनयापन सहज बनाउनतर्फ केन्द्र सरकारदेखि स्थानीय तहसम्मका संरचनाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ। गास र बासको उचित प्रबन्ध मिल्दाका अवस्थामा मात्र हिंडडुलमा सीमितता ल्याउन सकिएला तर कमजोर स्थास्थ्य उपचारको व्यवस्थाले अर्को गम्भीर समस्या नल्याउला भन्न सकिंदैन।

कोरोना भाइरस संक्रमणका लक्षणसँग मिल्दाजुल्दा र पूर्ण रुपमा फरक रोगका बिरामीले पनि उचित उपचार नपाएको, स्वास्थ्य संस्थाले बेवास्ता गरेको, स्थास्थ्य परीक्षण नगरेको जस्ता समाचार हामीले दैनिक पढ्दै र सुन्दै आएका छौं। यो अवस्था ज्यादै नै गम्भीर अवस्था हो जसका कारण अनाहकमा मानिसको अमूल्य जीवन सामान्य उपचार र औषधी अभावमा अन्त्य हुनसक्छ। यसतर्फ पनि आवश्यक कदम चाल्न जरुरी देखिन्छ। त्यसैगरी धेरै बिरामीका ज्यान जोगाउन सक्ने चिकित्सक, स्थास्थ्यकर्मी र सम्बन्धित कर्मचारीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाए मात्र यो स्थिति थप सहज हुने देखिन्छ।

हामी सबैले एक कर्तव्यनिष्ठ नागरिकको भूमिका निर्वाह गर्न पनि आवश्यक छ। कसैलाई नटेर्ने, कसैसँग डराउँदिन भनेर देखाउन खोज्ने, नेपाली हो नि, भन्ने प्रवृत्ति सामाजिक दुरी कायम गर्न र संक्रमण फैलनबाट रोक्न अर्को चुनौतिका रूपमा देखिएको छ। आफू भलो त जगत भलो भनेझैं आफू सुरक्षित रहने र आफ्ना परिवारका सदस्य र समुदायमा संक्रमण फैलन नदिन भूमिका खेल्ने व्यक्ति नै वर्तमान अवस्थामा एक जिम्मेवार र कर्तव्यनिष्ठ नागरिक ठहरिन्छ ।

यसै लेखमार्फत ती तमाम मृत आत्माको चीर शान्तिको कामना गर्दै संक्रमित व्यक्तिहरूको शीघ्र स्थास्थ्यलाभको कामना यो पंक्तिकार गर्न चाहन्छ साथै यस संक्रमण विरुद्धको अग्रमोर्चामा रही आफ्नो जिम्मेवारी निभाइरहनुभएका सम्पूर्ण व्यक्तित्वहरूलाई सलाम।

[email protected]

रामघाट, पोखरा महानगरपालिका-१०

लेखकबाट थप-

विकासको अवधारणा र स्थिरताको चिन्तन

प्रकाशित : २०७६ चैत २७ गते ८:४१
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI