कोरोनाबाट विदेशमा नौ नेपालीको ज्यान गयो, सय बढीलाई संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २७ गते १०:४४
कोरोनाबाट विदेशमा नौ नेपालीको ज्यान गयो, सय बढीलाई संक्रमण

काठमाडौं । कारोना भाइरस (कोभिड–१९) का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुक बाहिर रहेका नेपाली पनि प्रभावित भएका छन् । हालसम्म विभिन्न मुलुकमा नौ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । अमेरिकामा पाँच, बेलायतमा तीन र संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गइसकेको छ । १०० भन्दा बढी नेपाली विभिन्न मुलुकमा कोरोनाको सङ्क्रमणमा परेका छन् ।


नेपालमा संक्रमण
नेपालमा भने ९ जनालाई संक्रमण भएको छ । १ जनालाई निको भएको छ भने बाँकीको उपचार भइरहेको छ । सबै खतरा बाहिर रहेको बताइएको छ ।  परीक्षण भने २ हजार ३६६ जनाको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २३ सय ५७ जनामा परीक्षण नेगेटिभ आएको छ ।  उपत्यकामा १२ र उपत्यका बाहिर १२२ गरी १३४ जना आइसोलेसनमा रहेका छन् ।

बेलायतमा तीनको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट बेलायतमा तीन नेपालीको मृत्यु भएको छ । बेलायतमा तेस्रो तथा समग्रमा नवौं नेपाली पूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको ज्यान गएको हो । उनले दुई हप्ताअघिमात्रै बच्ने तरिकादेखि सामाजिक दुरी कायम गर्नेसम्मको सन्देश सामाजिक सञ्जालमा शेयर गर्ने गरिरहेका थिए ।  यसअघि पूर्व गोर्खा सैनिक लीलाबहादुर राई र पेशाकर्मी प्रशान्त अर्यालको मृत्यु भएको थियो । 


यस्तो छ साउदी अरेबियामा नेपालीको अवस्था
 
नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमण भएकामध्ये तीनजना निको भई काममा फर्किएका रियादस्थित नेपाली दूतावासले जनाएको छ । अन्य एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ । निको भएर काममा फर्किएका नेपालीसँग नियमित सम्पर्कमा रहिरहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार उनीहरुबाहेक थप नेपालीमा कोरोना सङ्क्रमण भएको जानकारी प्राप्त भएको छैन । साउदी अधिकारीहरुले जारी गरेको तथ्याङ्कअनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई हजार ९३२ पुगेको दूतावासले जानकारी दिएको छ । साउदीले कोरोनाको सङ्क्रमण फैलन नदिन मुलुकभर कफ्र्यू लगाएको छ । दूतावासले विदेशी नागरिकसँग काम गर्दा, हिँड्डुल, उठबस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्न तथा एकअर्काबीच दूरी कायम गर्न त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेको छ । साउदीमा दुई लाखभन्दा बढी नेपाली कार्यरत रहेको बताइन्छ ।

प्रकाशित : २०७६ चैत २७ गते १०:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI