धार्चुलामा अलपत्रहरूको सन्देश– आफ्नै देशमा मर्छौं, ‘ढाट’ खोलिदिनू !

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २७ गते १४:४४
धार्चुलामा अलपत्रहरूको सन्देश– आफ्नै देशमा मर्छौं, ‘ढाट’ खोलिदिनू !

काठमाडौं । “हामी १२ दिनदेखि धेरै दुःखमा छौं । देश फर्कने आशामा ८० किलोमिटर पैदल हिँडेर आयौं । घर परिवारसँग सम्पर्क हुन पाएको छैन । घर–परिवार रोइरहेका होलान् । हामी आफ्नै देशमा फर्कन चाहन्छौं । आफ्नै घरमा क्वारेन्टाइनमा बस्छौं । आफ्नै खर्चमा उपचार गर्छौं । मरे पनि आफ्नै देशमा मर्छौं । हामी देश आउन चाहन्छौं ढाट (नाका) खोलिदिनू । हामीलाई आफ्नै देश फिर्ता गरिदिनू ।”

यो याचना बझाङ, बुङल गाउँपालिका वडा नम्बर ८ का पुस्कर कामीको हो ।

भारतमा कोरोनाले आतङ्क मच्चाएपछि देश फर्किएर आएका पुस्कर धार्चुलाको बलुवाकोट महाविद्यालयमा भारतीयहरूको आश्रयमा छन् । पुस्करमात्र होइन दार्चुला सदरमुकाम खलङ्गाको ठीक पारिपट्टि, भारतको पिथौरागढ प्रशासनले एक हजार ६ जना नेपालीलाई विभिन्न सेल्टरमा बाँडेको छ । 

धार्चुलाको जबाहरसिंह मिनि स्टेडियममा ३ सय २५, बलुवाकोट महाविद्यालयमा ३ सय ७१, जौलजीवीमा २ सय २५, निगलपानीमा ३२ र बरममा ५३ नेपाली राखिएकोको पिथौरागढ प्रशासनले जनाएको छ । 

उनीहरूलाई दुई छाक खाना र बासको बन्दोबस्त भारतीय प्रशासनले गरेको छ । धार्चुलाबाट प्रतिनिधिसभामा निर्वाचित गणेशसिंह ठगुन्नाले भारततर्फको उद्योग वाणिज्य संघ, नागरिक समाज र त्यहाँको प्रशासनले गास, बासको प्रबन्ध गरेको जानकारी पाएको बताउँछन् ।

तर, अलपत्रहरूको भनाइ ठीक विपरीत छ । 

भारतीयहरूले दुई छाक खानाको प्रबन्ध गरेको भए पनि अलपत्र नेपालीको सङ्ख्या बढी हुँदा कतिले एकछाकमै चित्त बुझाउनु परेको बताउँछन् । प्रदूषण फैलिएर महामारीको रूप लिन सक्ने उनीहरूको चिन्ता छ । भारतको विभिन्न सहरमा रोजगारीका लागि गएका र कोरोनाको डरले फर्किएका उनीहरूको स्वास्थ्य परीक्षणसमेत भएको छैन । थर्मल गनले एकाधको ज्वरो परीक्षण भएको उनीहरूले बताएका छन् ।

धार्चुलालगायत सीमावर्ती इलाकामा अलपत्र परेका नेपालीलाई सके देशभित्र प्रवेश दिनु नसके उतै क्वारेन्टाइनसहितको प्रबन्ध मिलाउनु भनेर सर्वोच्चले पनि आदेश दिइसकेको छ । 

धार्चुलामा अलपत्र नागरिकहरूले न्यूनतम सुविधासमेत नपाएको जिकिर गरिरहेका छन् । देशभित्र ल्याउन याचना गरिरहेका छन् ।

“हामीले मुस्किलले खान खान पाइरहेका छौं । बस्ने ठाउँ क्वारेन्टाइनजस्तो छैन । सरकारले बस्दा एक मिटरको दूरी कायम गर्नुपर्छ भनेको छ । तर यहाँ एक मिटरको दूरीमा पाँचजना अटाउनुपर्छ । सुत्दा त त्यो संख्या अझै बढी हुनसक्छ,” बंगल नगरपालिका वडा नम्बर ८ का सुवास विश्वकर्मा बताउँछन् ।
१३ दिनदेनि सुवास देश फर्कने बाटो हेरिरहेका छन् । सरकारको आदेश पर्खिइरहेका छन् । सरकारले सुरुमा चैत १८ गतेसम्म लकडाउनको अवधि तोकेको थियो ।

अन्तर्राष्ट्रिय सीमा नाका बन्द भए पनि १८ गतेपछि देश छिर्न पाइने सुवासको आशा थियो । सरकारले २५ गतेसम्म लकडाउन लम्ब्यायो ।

“त्यसपछि आउन पाइने आशामा कष्ट सहेका थियौं । फेरि बढाएर वैशाख ३ गतेसम्म पुर्‍याइएको छ । सरकारले फेरि बढ्न सक्ने बताएको छ भन्ने सुनेका छौं । त्यतिञ्जेल हाम्रो अवस्था के हुने हो ? चिन्तैचिन्ताले मर्न लागिसक्यौं,” सुवास पीडा सुनाउँछन् ।

देश फर्कने आशमा पुस्करजस्तै उनी पनि २ सय ८० किलोमिटर पैदलै छिचोल्दै धार्चुला आइपुगेका थिए । चैत १३ गतेदेखि आफू धार्चुलामै अड्किएको सुवास बताउँछन् ।

“देशभित्र आइसकेकालाई अलपत्र पार्दैन भन्ने विश्वास थियो । तर हामी निराश भयौं,” उनी सरकारलाई आग्रह गर्दै भन्छन्, “ नेपाल सरकारलाई हाम्रो अनुरोध छ– जति क्वारेन्टाइनमा बस्नुपरे पनि तयार छौं, हामीले आफ्नै भूमिमा आउन दिनुपर्‍यो । नाका खोलिदिनुपर्‍यो ।” 

बाह्रखरी बाट

प्रकाशित : २०७६ चैत २७ गते १४:४४
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI