काठमाडौंबाट बाहिर जान दिने निर्णयबाट पछि हट्यो सरकार

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २७ गते १९:१४
काठमाडौंबाट बाहिर जान दिने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं, २७ चैत :  काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर भोली र पर्सि जान दिने निर्णयबाट सरकार पछि हटेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय प्रदेश सरकारहरुले विरोध गरेपछि पछि हटेको हो ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा संक्षिप्त जानकारी राख्दै काठमाडौंबाट भोलि र पर्सि बाहिर जान दिने निर्णय नभएको दाबी गरे । तर, विहिबार समितिका संयोजक पोखरेलको नेतृत्वमा बसेको केही मन्त्रीहरूको अनौपचारिक बैठकले भोली र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेको थियो । यसको प्रक्रिया गृह मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरेर टुंगो लगाउने जानकारी पोखरेलको सचिवालयले नै दिएको थियो । त्यही निर्णय अनुसार बिहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपानेको नेतृत्वमा सरोकारवालाबीच मन्त्रालयमा बैठक पनि बसोके थियो ।

बैठकमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख र यातायात व्यवसायी महासंघका प्रतिनिधि सहभागी थिए ।

गृह सचिव न्यौपानले उपत्यका बाहिर लैजानको निम्ती योजना बनाउन अनुरोध गरेका थिए । त्यही बिचमा कोभिड १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ उपप्रधानमन्त्री पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगे । उनले तत्काल पठाउन सम्भव नभएको जानकारी गराए ।

काठमाडौं उपत्यकाबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिने उच्चस्तरीय समन्वय समितिको निर्णय सार्वजनिक भएलगत्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विरोध जनाए । पोखरेलले समेत काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए । मुख्यमन्त्रीसँगै सामाजिक सञ्जालमा समेत उक्त निर्णयको व्यापक विरोध भएको थियो।

तिव्र बिरोध भएपछि उच्चस्तरीय समन्वय समिति निर्णयबाट पछि हट्यो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलले कुनै त्यस्तो निर्णय नभएको दाबी सहित सामाजिक सञ्जालमा जानकारी गराए । 

प्रकाशित : २०७६ चैत २७ गते १९:१४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI