भारतका सडकमै फसे साढे ३ लाख ट्रक, ३५ हजार करोडको सामान अलपत्र

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २७ गते १९:३३
भारतका सडकमै फसे साढे ३ लाख ट्रक, ३५ हजार करोडको सामान अलपत्र

नयाँ दिल्ली- कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउनमा रहेकाले भारतका विभिन्न सामान बोकेका करिब ३ लाख ५० हजार मालवाहक ट्रक सडकमै फसेका छन्। सामान अनलोड गर्नु पर्ने फ्याक्ट्री र गोदाम बन्द हुँदा ट्रक सडकमै अड्किएका हुन्।


यसरी सडकमा अड्किएका ट्रकमा करिब ३५ हजार करोड भारतीय रुपैयाँ बराबरको सामान रहेको द टाइम्स अफ इन्डियाले लेखेको छ। ती ट्रकहरूमा कार, एसयुभी, दुईपाङ्ग्रे सवारी, एसी, रेफ्रिजेरेटर, वासिङ मेसिन, अन्य विद्युतीय सामग्री रहेका छन्। त्यसैगरी केमिकल, स्टिल र सिमेन्टका औद्योगिक कच्चापदार्थ समेत बोकेका ट्रक छन्।

ट्रकहरूमा बिग्रने तथा फुट्ने सामान धेरै भएकाले लामो समयसम्म अनलाड गर्न नपउँदा ढुवानीकर्ताहरू त्रसित बनेको समाचारमा उल्लेख छ। अधिकांश स्थानमा हेल्परसमेत नभएकाले सामान अनलोड गर्न समस्या भएको छ। 


‘हजारौं करोडको सामान बोकेका ट्रक सडकमै फस्नु निक्कै दुःखदायी अवस्था हो,’ अल इन्डिया मोटर ट्रान्सपोर्ट कर्पोरेशनका अध्यक्ष कुलतरन सिंह अत्वालले भने, ‘हामीलाई यो अवस्थाबाट बाहिर निकाल्न तत्काल केही गरियोस्।’ ट्रकहरूमा खाद्यान्न, ओषधिलगायतका अत्यावश्यक सामग्री समेत भएकाले सरकाले केही कदम चाल्ने पर्ने अल्वालले बताए।
कतिपय ट्रकका चालक तथा सहचालक गाडी छोडेर हिँड्न थालेकाले अवस्था झनै जटिल हुँदै जाने ढुवानीकर्ताहरूको भनाइ छ।

कार क्यारियर्स एसोसिएसनका अध्यक्ष विपुल नन्दका अनुसार फसेका उक्त ट्रकहरूमा १५ सयवटा ठूला कन्टेनर छन् र तिनमा १० हजारभन्दा बढी विभिन्न ब्रान्डका कार एसयुभी रहेका छन्। यी सवारी पनि फसेकै ट्रकमा रहेको उनले बताए।


सडकमा फसेका सबैजसो ट्रकहरूले भारतकै एक प्रदेशबाट अर्को प्रदेशमा सामान लिएर गएका हुन्। बेलैमा समस्या समाधान नगर्ने हो भने धेरै ढुवानीकर्ताहरू टाट पल्टिने नन्दको भनाइ छ। ट्रकहरूमा महगा र धेरै कर लाग्ने सामान भएकाले उक्त अवस्था आउन सक्ने उनले बताए।
सरकारले मालबाहक ट्रकलाई पास हुन दिने भनेको भएपनि विभिन्न कारणले समस्या आएको अल इन्डिया ट्रान्सपोर्टस् वेलफेयर एसोसिएसनका अध्यक्ष प्रदीप सिंहले बताए। सरकारले दिएको सुचना तल्लो तहसम्म नपुग्दा पनि सामान अनलोडमा समस्या आएको उनको भनाइ छ।
त्यस्तै ढुवानीकर्ताहरूले सरकारले विशेष प्याकेज ल्याउनु पर्ने समेत बताएका छन्। किस्ता तिर्ने समयमस ६ महिनको लचकता हुनुपर्ने, राष्ट्रिय पर्मिट पनि सोही समयसम्म थपिनु पर्ने, आधा वर्षको सडक कर छुट हुनुपर्ने लगायत माग उनीहरूको छ।

प्रकाशित : २०७६ चैत २७ गते १९:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI