मस्जिदमा भीड नगर्न आग्रह गर्ने प्रहरी माथि नै रौतहटमा हातपात

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २८ गते १४:२३
मस्जिदमा भीड नगर्न आग्रह गर्ने प्रहरी माथि नै रौतहटमा हातपात

रौतहट । नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशैभर लकडाउन गरेको छ । यस लकडाउन अवधिमा सम्पूर्णलाई घरमै बस्नलाई आग्रह गरेको छ । नेपाल सरकारले अत्यावश्यक काममा बाहेक अन्य कामको लागि घर बाहिर ननिस्कन आग्रह गरेको छ । यसरी लकडाउनको अवज्ञा गर्ने विरुद्ध प्रहरीले पनि कडा रुप अपनाउँदै आएको छ । तर रौतहटस्थित एक मस्जिदमा लकडाउनको अवधिमा भीडभाड नगर्न अनुरोध गर्न गएका एकजना नेपाल प्रहरीमाथिनै हातपात भएको छ ।

लौकाहा प्रहरी चौकीमा प्रमुख प्रहरी सहायक निरीक्षक मुनमुन सिंहको गस्ती टोलीले जिल्लाको परोहा नगरपालिका स्थित तेजापाकड मस्दिजमा भीडदेखेपछि भीड नगर्न आग्रह गर्दा उल्टै उनीहरु प्रहरीमाथि जाइलागेको प्रहरीको भनाइ छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे वारातको पूर्वसन्ध्यामा उनीहरु बिहीबार साँझ ७ बजेतिर दुईसय बढीको संख्यामा मस्दिजमा भेला भएर नवाज पढ्दै थिए । सो समूहमा बच्चा, युवा, प्रौढ , वृद्ध सबै उमेरका मानिसहरु रहेका थिए ।

लकडाउनको बेला यसरी मानिसहरु जम्मा भएर भीड नर्गन र आफ्नै घरमा सुरक्षित रहन आग्रह गर्दा उल्टै आफुहरु माथि केही युवाहरुले हातपात गरेको प्रहरी सहायक निरीक्षक सिंहको भनाइ छ । उहाँले गस्ती गर्ने क्रममा मस्दिजमा भीडदेखेपछि त्यहाँ नमाज पढ्न आएका मानिसहरुलाई आफुहरुले भीड गर्दा कोरोना भाइरस र यसको संक्रमणको बारेमा सम्झाएको तर उल्टै अनेकौँ कुतर्क गर्दै हातपात गरेको बताउनुभयो ।

जम्मा चारजनाको संख्यामा रहेको सिंहको टोलीले स्थिति नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय मौलापुर लगायतमा स्थानहरुबाट ठूलो संख्यामा प्रहरी थप मद्धतको लागि सो स्थानमा पुगेको थियो । थप प्रहरी वल पुगेपछि स्थिति सामान्य भएको थियो ।
सो क्रममा प्रहरीमाथि हातपात गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेकोछ । पक्राउ पर्नेमा परोहाका कलाम अन्सारी, साजिद अन्सारी र लालुु अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक रवीराज खड्काले जानकारी दिनुभयो ।

उहाँले आक्रमण गर्ने अन्य व्यक्तिहरुको पहिचान खुलिसकेकाले उनीहरुलाई चाँडै पक्राउ गर्ने बताउनुभयो । जिल्लाका कतिपय मस्जिदहरुमा अझैपनि मानिसहरु जम्मा भएर नमाज पढ्ने क्रम नरोकिएको स्थानीयहरुको गुनासो रहेको छ । आफुहरुलाई पनि यस्तो गुनासो आइरहेकाले प्रहरीले मस्जिदमा विशेष निगरानी बढाइरहेको जिल्लाका प्रहरी प्रमुख खड्काको भनाइ छ ।

प्रकाशित : २०७६ चैत २८ गते १४:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI