भारतमा लकडाउन दुई हप्ता थपिदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २९ गते २०:४४
भारतमा लकडाउन दुई हप्ता थपिदै

एजेन्सी, २९ चैत्र । भारतमा फेरि दुई हप्ता लकडाउन लम्बिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेपछि लकडाउन लम्बिने निश्चित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चार घन्टा १० मिनेट लामो भिडियो कन्फरेन्समा सबैजसो प्रदेशका मुख्यमन्त्रीहरुले लकडाउन लम्ब्याउनुपर्ने बताएको इन्डियन एक्सप्रेसले लेखेको छ । २१ दिनको लकडाउन समाप्त हुन दुई दिन बाँकी हुँदा मोदीले भिडियो कन्फरेन्स गरेर छलफल गरेका हुन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले लकडाउन अप्रिलभर लगाउनुपर्ने भन्दै ट्वीट गरेका छन् । कम्तिमा दुई हप्ता लकडाउन हुने आशयसहित उनले ट्वीट गरेका हुन् ।

भारतमा यसअघि २१ दिन लकडाउन गरिएको थियो । त्यहाँ कोराना भाइरस संक्रमितको संख्या छ हजारभन्दा बढी भइसकेको छ । संक्रमणलाई दृष्टिगत गरी भारतले लकडाउनमा कडाई गरेको छ ।

भारतमा लकडाउन अझै दुई हप्ता लम्बिने निश्चितप्रायः भएपछि नेपालमा पनि यसको असर पर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरी लकडाउन छिट्ट्ै नहट्ने र सीमामा कडाई हुने स्पष्ट पारिसकेका छन् । भारतमा संक्रमण फैलिइरहेको भन्दै उनले देशभित्र लकडाउन अन्त्य हुन नसक्ने बताएका छन् ।

प्रधानमन्त्रीको भनाई सार्वजनिक भएसँगै नेपालमा वैशाखको दोस्रो हप्तासम्म लकडाउन हुने निश्चितप्रायः भएको छ । ३ वैशाखसम्म दोस्रो चरणको लकडाउन घोषणा गरेपनि फेरि थपिने विश्वस्त स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : २०७६ चैत २९ गते २०:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI