कोरोना प्रकोप : अमेरिकामा मृतकको संख्या २० हजार नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ३० गते १४:४३
कोरोना प्रकोप : अमेरिकामा मृतकको संख्या २० हजार नाघ्यो

एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर एक लाख आठ हजार आठ सय मानिसको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाखभन्दा बढी पुगेको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा हालसम्म मृत्यु हुनेको संख्या २० हजार ६ सय पुगेको छ । विश्वमा भाइरसको संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हुने देश अमेरिका बनेको छ । यसभन्दा अगाडि इटालीमा धेरै मानिसको ज्यान गएको थियो । 

अमेरिकामा संक्रमितको संख्या पाँच लाखभन्दा बढी छ । न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित छ । यहाँ एक लाख ८० हजार मानिस संक्रमित भएका छन् । यहाँ एकैदिनमा मृत्यु हुने मानिसको संख्या पनि उच्च छ । राज्यका गभर्नर एन्ड्र्यू कुमोका अनुसार प्रत्येक दिन करिब सात सय ८० मानिसहरुको मृत्यु भइरहेको छ । उनले २४ घण्टामा सात सय ८३ जनाको मृत्यु भएको बताएका छन् ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु मार्च १ मा भएको पुष्टि भएको थियो । भाइरसको संक्रमणका कारण त्यहाँ एक लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमान गरेअनुसार त्यति धेरै संख्यामा मानिसको मृत्यु नहुने बताएका छन् । 

शनिबारसम्म सबै अमेरिकी राज्यले संकटकाल घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले लागु गरेको सामाजिक दूरी कायम गर्ने सुझावहरू अप्रिल ३० सम्मका लागि तोकिएको छ । 

प्रकाशित : २०७६ चैत ३० गते १४:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI