सम्पादकीय: कोभिड-१९ त्रासका बिचको नयाँ बर्ष

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत ३० गते १८:००

प्रकाश भण्डारी “बिवेक”

विश्व यतिवेला कोभिड-१९ नामक एउटा महामारीको ठूलै सामना गरिरहेको अवस्था छ। ठूला बैज्ञानिकहरू देखि सामान्य जन-जीविका निर्वाह गर्ने आम समुदाय अहिले कोरोना भाईरस (कोभिड-१९) नामको जीवाणु सामु घुँडा टेक्नुपर्ने अवस्था सृजना भएको छ।

प्रकाश भण्डारी “बिवेक”

सायदै मानव पुस्ताले आंकलन गर्न नसकेको यो नियती अहिले बिश्वसामु प्रमुख चुनौतीको रूपमा रहेको देखिन्छ। चीनको वुहान राज्यमा देखा परेसँगै मानव संसर्ग र मानवकै सहारामा एक अर्कामा संक्रमण फैलिएसँगै यस कोभिड-१९ ले बिश्वका २१० राष्ट्रका करिब १ लाख ९ हजार ७ सय ९० भन्दा बढि मानिसहरूको ज्यान लिईसकेको छ भने १७ लाख ९२ हजार ८ सय ०१ जना यस रोगको संक्रमण देखापरेको छ। ४ लाख ११ हजार ५ सय ९० जना संक्रमितहरू उपचारपश्चात निको भैसकेको यो तथ्यांक चैत ३० गते आईतबार सम्मको हो।

निकै विकसित तथा सुबिधासम्पन्न र बिकासोन्मुखको चरणमा रहेका देशहरूमा हाल यो सहजै नियन्त्रण गर्नसक्ने अवस्था भन्दा बाहिर पुगेको देखिन्छ। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसँगै यो महामारीको त्रास झनै बिश्वभरी फैलिएको हो। नेपाललाई विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसको उच्च जोखिम मुलुकमा पहिले नै दर्ज गरिसकेको अवस्था छ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेसँगै नेपालले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गर्दे सचेतना र पूर्वतयारीका लागि सम्पूर्ण तहमै उच्च सतर्कता अपनाएकै अवस्था छ।साथै सरकारले बिभिन्न संचार माध्यम देखि सामाजीक सञ्जालको सदुपयोग गर्दे सचेतनामूलक सावधानीका उपायहरूबारे जनतालाई सुसुचित गरेको छ।

बिभिन्न महत्वाकांक्षी योजना सहित देशको अर्थतन्त्र र पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने अपेक्षानुरूप घोषणा गरिएको “भिजिट नेपाल २०२०” कार्यक्रम तथा खुबै महत्व दिईएको “सगरमाथा संवाद” कार्यक्रम पनि कोभिड-१९ संक्रमणको कारणले स्थगित हुन पुग्यो। बिश्व अर्थतन्त्रमा संशय फैलाईरहेको यस कोभिड १९ संक्रमणले नेपाललाई पनि खर्बौँको क्षति पुर्‍याईसकेको अवस्था छ।

सामान्य अवस्थामा समेत हाम्रा सरकारी अस्पतालमा मागभन्दा कैयौं गुणा कम आइसियु बेड उपलब्ध छन्। स्वभवतः सघन उपचारको जनशक्तिको अवस्था उस्तै निम्छरो छ। पर्याप्त मात्रामा डाक्टर तथा नर्सको अभाब छ। भेन्टिलेटरसहितको सुबिधा सम्पन्न आइसियु सेवा विस्तारमा चुनौती थपिएको छ। देशमा कैयन निजी अस्पतालहरू सञ्चालनमा छन्। तर संक्रमणको यस घडिमा आपतकालिन उपचार समेत बन्द गरेर बिरामीहरूका लागी थप पिडा थप्ने कार्य भैरहेको छ। जोखिमपूर्ण अवस्थाका बिरामीहरूका लागी अस्पताल पुर्‍याउँदा अस्पतालका मूल गेटबाटै उनीहरूलाई फर्काईन्छ।बिरामीलाई बचाउनको निमित्त अन्य अस्पताल पुग्दै गर्दा आधारभूत उपचार सेवा समेत नपाएर बिरामीले अकालमै मृत्युवरण गर्नुपरेको तितो यथार्थ हामी सामु सर्बविधितै छ।

देशमा हजारौँको संख्यामा रहेका गैरसरकारी संघ संस्थाहरू तथा धनाठ्यको सुचीमा परेका व्यक्तिहरू यतिबेला गुमनाम अवस्थामा रहेका छन्। बिश्व जगत तथा नेपालले समेत कोभिड-१९ को सामना गरिरहेका बेला अर्बौँको बजेट बेकम्मा शिर्षकमा खर्चिएको आंकडा निकालेर बैदेशिक सहायतामा चलेका हजारौँ एनजिओ तथा आइएनजिओहरू यतिबेला सम्पर्क बिहीन अवस्थामा रहेका छन्। कुनैपनि त्यस प्रकारका एनजिओ तथा आइएनजिओहरूले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दे महामारीको यस बिषम परिस्थितिमा सहयोग गरेको समाचार सुन्नमा नआउनु दु:खद बिषय हो।

भुकम्पका बेला कैयन एनजिओ तथा आइएनजिओहरू फर्जी बिल तथा बेकम्मा शिर्षक र नक्कली पीडित बनाई उद्धार गरेको समाचार नसुनिएको होइन। कति एनजिओ तथा आइएनजिओहरूले यस्ता बिषम परिस्थितिमा पनि आफ्नो हेक्का गुमाए। सामाजिक अस्तित्व बिर्षिए। धर्म प्रचारको गतिलो अवसरको रूपमा लिए। सरकारले यी र यस्तै कार्यमा लागेका एनजिओ तथा आइएनजिओहरूलाई छानवीन गरेर कारवाही गर्ने त परैको कुरा बिभिन्न राजनीतिक प्रतिसोधका कारण बचाउ गरेको बिगतका घटनाक्रमहरूबाटै जनजायर छ। बिश्वनै कोभिड-19 संक्रमणको सामना गरिरहेको बेला सरकारले यी एनजिओ तथा आइएनजिओहरूको निगरानी बढाउनु पर्ने देखिन्छ। यी संस्थाहरूबाट पनि यस बिषम परिस्थितिमा सहयोगका लागी सरकारले पहलकदमी उपाय अपनाउनुपर्ने हो।

सरकारले सडक निर्माण, भिउटावर तथा मनोरञ्जनका क्षेत्रमा छुट्याउँदै आएको खर्बौँ रूपैया तथा बर्षेनी निकम्मा फ्रिज हुँदै गएको बजेट बाट केही रकम कटौती गरेरै भएपनि ठाउँ-ठाउँमा सुबिधा सम्पन्न अस्पताल निर्माण गर्नुपर्ने हो। स्थानीय निकायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू पनि यस बारेमा त्यती गम्भीर भएको देखिँदैनन्। स्वास्थ जस्तो क्षेत्रमा सरकार गम्भीर नहुनु, पटक पटक सरकार परिवर्तन हुनु, उच्च ओहोदामा पुग्नका लागी राजनीतिक भागबण्डा र मौलाउँदै गएको भष्ट्राचारले गर्दा आम देशवासीको सरकार र राजनीतिक दलको कर्यप्रति बितृष्णा जाग्नु स्वभाविकै हो।

बिश्वभर फैलिएको कोभिड-19 भाईरसको यस बिषम परिस्थितिमा सबैले आफ्नो तह र तप्काबाट जिम्मेबारीपूर्ण भूमिका निर्वाह गर्दे सरकारले लागू गरेको लकडाउनको पालना गर्नु हाम्रो प्रमुख दायित्व हो। देशलाई कोभिड-१९ को संक्रमणबाट बचाउनका लागी सरकारले लागू गरेको लकडाउन पक्कै पनि सह्राणीय छ।सबै घरभित्रै शुरक्षित रहने, आफ्नो स्वास्थयको उच्च प्राथमिकता दिँने, सरसफाईमा ध्यान दिने र खानपान लगायत सामाजीक दुरी कायम गर्नुसिवाय हाम्रो अन्य बिकल्प छैन।

यति बेला विश्वले नै कोभिड-१९ संक्रमणको सामना गरिरहेको छ। सायदै हाम्रो पुस्ताको सबैभन्दा ठूलो संकट यहि नै हो। धेरै जनधनको क्षति र नोक्सानीका बिच ढिलो चाँडो पक्कै साम्य होला। २१ औँ शताब्दीका मानवलाई भविष्यका आईपर्ने यस्तै प्रकारका रोगजन्य महामारीबाट पूर्वसावधानी तथा बचाउका लागी यसले ठूलै पाठ सिकाएर जानेछ।

कोभिड-१९ संक्रमणको त्रासका बिचमै हामीले लकडाउनको कैयन दिन घरमै बिताईसकेका छौँ। र अझै कैयन दिन बिताउनु पर्ने परिस्थिति जनजायरै छ। साथीभाई, नातागोता,कामकाज र सम्पूर्ण स्वतन्त्रतालाई सीमितता भित्र बाँध्दै गुप्तबासमा बस्न बाध्य छौँ। लकडाउनकै बिचमा हाम्रा कैयन चाडपर्वलाई नमज्जासँग बिदाई गरिसकेका छौँ। यसै बिचमा नेपालीहरूको नयाँ बर्ष २०७७ पनि हाम्रै घर आगनमा भित्रीसकेको छ। अन्यबर्षको तुलनामा यस नयाँ बर्ष २०७७ लाई धुमधामसँग स्वागत र बिभिन्न आरोह अवरोह पार गरेको २०७६ साललाई बिदाई गर्ने पाएका छैनौँ। नयाँ बर्षको एउटै बिकल्प खुशी साटासाट गर्न र परिवारजन तथा साथीभाईहरूसँग रमाउन मोवाइल-फोन तथा सामाजिक सञ्जालको सहि सदुपयोग गर्दे शुभकामना आदान-प्रदान गर्नु सिवाय हाम्रो अर्को बिकल्प छैन।

सबैले अपेक्षा गरौँ बिश्वबाटै यो कोभिड-१९ महामारीको बिषम परिस्थिति छिट्टै निर्मूल होस। सबै नागरिकहरू ढुक्कसँग पूर्व कार्यावस्था तथा दैनिक जीवनमा फर्किन पाउँ। थप बिश्वले अवोध बालक तथा युवा सहित बयोबृद्धहरू परिवारबाट गुमाउन नपरोस्। पशुपतिनाथले हामी सबैको कल्याण गरून। सबै नेपालीलाई लकडाउनको सहि सदुपयोग गर्दे घरमै शुरक्षित रहन आग्रह गर्दे नेपालीहरूको नयाँ बर्ष २०७७ को शुभकामना।

प्रकाशित : २०७६ चैत ३० गते १८:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI