नववर्षारम्भ २०७७ सन्दर्भ: नयाँ वर्ष, कोरोना कोरस र विद्वत्जनका हल्ला !

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १ गते १०:१३
नववर्षारम्भ २०७७ सन्दर्भ: नयाँ वर्ष, कोरोना कोरस र विद्वत्जनका हल्ला !

चेतनाथ कणेल ‘हरित’

समय निरन्तर चलिरहेको छ। यसलाई कुनै महामारीले रोक्दैन । पृथ्वी निरन्तर चलिरहेछ, घुमिरहेछ, यसलाई पनि कसैले रोक्न सक्दैन । ब्रह्माण्ड आफ्नै नियम र परानियममा ‘नित्यकर्म’मा छ । यो एउटा नियमिततामा छ । सयौं, हजारौं, लाखौं, करोडौं, अझ भनौं अर्बौं वर्षदेखि । अझ कति अर्ब वर्ष जाने हो त्यो भविष्यको समयले नै बताउने कुरा हो । हाम्रा सन्तान, दरसन्तान, परमसन्तानले हेर्दै र भोग्दै जाने कुरा हो ।

‘समय’को गणना गर्ने हामी मान्छे यही ब्रह्माण्डका साना प्राणी । साना यस अर्थमा कि हामीभन्दा भीमकाय जीवजन्तु डायनोसरहरू यहीँ थिए । ती गए, सखाप भए । डायनोसरहरू गए पनि यहाँ अझै छन् विशालवयी प्राणीहरू, जस्तो कि ह्वेल, हात्ती, गोही, गैँडा, जिराफ, अर्ना, सिंह, बाघ, भालु, एनाकोन्डा, अजिङ्गर र यस्तै तमाम प्राणीहरू जो हामीभन्दा ठूला छन्, विशाल–वयका साथ पृथ्वीका हिस्सा, पारिस्थिकीय प्रणालीका महत्वपूर्ण हिस्सा बनिरहेका छन् । यसमै निर्भर छौँ हामी । यसमै आश्रित छ हाम्रो जीवन–प्रणाली ।

प्राणी–प्राणीबीचको यही आपसी अन्तक्र्रिया र यही ब्रह्माण्डीय नित्यकर्मभित्र छौँ हामी, यही समयको बक्ररेखाभित्र छौँ हामी। हामी हाम्रो भूमण्डल पृथ्वीसँग यही गहिरो नातामा रुमल्लिएका छौँ हामी। हामी एक अवयव यहाँका। तर बुद्धि र बर्कतका हिसाबले हामी सबै प्राणीभन्दा ठूला। हामी सचेत, हामी बुद्धिजीवी, हामी बाठा र टाठा। त्यसैले त पत्ता लगायौं समय। त्यसैले त हिसाब निकाल्यौँ समयको।

पृथ्वी घुम्छ आफ्नै अक्षमा, अनि घुम्छ सूर्यको एक फन्का, एक दिन मान्यौं । पृथ्वी घुम्छ सूर्यको एक फन्का अर्को कक्षमा, अनि एक वर्ष भन्यौँ । सूर्य र चन्द्र जसरी घुमिरहेछन् फनफनी, ठिक हामी पनि घुमिरहेछौं घरि अक्षांश हेर्दै, घरि देशान्तर हेर्दै । एक वर्ष भन्नुको अर्थ ३६५ दिन । कति छिटो बित्दैछन् दिनहरू, कति छिटो बित्दैछन् रातहरू, महिनाहरू र वर्षहरू ! आखिर आफ्नै वय पुरानो हुँदै गएको न हो !

हिजो राति (मध्यरात) देखि हामी विक्रमाब्दको २०७७ मा प्रवेश गर्‍यौँ। आज पहिलो दिन, अर्थात्, २०७७ वैशाख १ गते। आज संक्रान्ति। तर संक्रान्तिजस्तो छैन यो ‘वैशाखे संक्रान्ति’ यसपटक। नववर्ष आगमनजस्तो लागेको छैन कसैलाई पनि । संसार कोरोना भाइरस (कोभिड १९) को कहरमा छ । संसार कोरोना–जहरमा छ ।

कोरोना–कहरको ‘कोरस !

करिब सवा लाख मान्छेले यो धर्ती छाडिसके कोरोना–कहरबाट । अझै कतिले विदा लिने हुन् कुनै टुंगो छैन, कुनै निश्चितता छैन । आकलनभन्दा बाहिरका कुरा भएका छन् । अनुमानभन्दा फरक कुरा भएका छन् । संख्याका गणना र तथ्य–तथ्याङ्क छिनछिनमा पुराना भएका छन् । संसारभरि मृत्यु र देहावसानका समाचार पल–प्रतिपल ‘नयाँ’ भएका छन् । यी सबै घटनाले विश्व चकमन्न छ, विश्व साँच्चिकै महाखिन्न छ ।

महाशक्तिशाली देश अमेरिका अब ‘एक नम्बर’ भयो कोरोनाकै कारण ज्यान गुमाउनेमा । दुई हप्ताअघिसम्म यो परिदृश्य कसका दृष्टिमा थियो ? यो आशंका स्वयम् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि थिएन । नत्र किन भन्थे केही दिनअघिसम्म पनि डोनाल्डले – ‘अमेरिका इज नट मेड फर लकडाउन !’ अहिले सबै फुर्ती, सेँखी तल झरेको अवस्था छ । ‘चाइना भाइरस’ भनेर चीनलाई सुरुसुरुमा चिढ्याए ट्रम्पले, तर अहिले चीनसँग नै हारगुहार गरिरहेछन्, चाइना भाइरस होइन, ‘चाइना दाइ सर’ भनिरहेका छन् । विश्वको यो एकदम बदलिँदो परिदृश्य हो । यस्ता परिदृश्य र नयाँ नयाँ दृश्यहरू अझ के के देखिने हुन् हेर्दै जानुबाहेक अर्को उपाय हामीसँग पनि छैन ।

एउटा देशमात्र होइन, दुई–चारवटा देशमात्र होइन, विश्वका २ सयभन्दा बढी देश कोरोना–कहरमा छन् यो समयमा । अमेरिकासँगै पछि पछि छन् इटाली, स्पेन, फ्रान्स, बेलायत आदि । चीनको वुहान पहिले ‘चिहान’ बन्यो, करिब चार महिनापछि अहिले विस्तारै उठ्दै छ । तर पनि संशय र भय सकिएको छैन । सामान्य अवस्था भएको छैन । ढोकाहरू खुल्न बाँकी नै छन् । विमानस्थल र कार्यस्थलहरू पूर्णतः चालु हुन बाँकी नै छन् ।

हामी नेपालीलाई पनि कोरोना–कहरले छोएको छ । अहिलेसम्म एक जनाले पनि यहाँ ज्यान गुमाउन नपरे पनि कुल १२ जनामा सङ्क्रमण भेटिएको छ । थप व्यक्तिमा सर्ने हो कि भन्ने भय र सन्त्रास पनि उत्तिकै छ । सुदूरपश्चिम, बागलुङ र वीरगञ्जले अहिले संक्रमणको बढी पीडा भोगेका छन् । विदेशबाट उडेर आउने र भारतबाट गुडेर आउनेबाट नेपालमा कोरोना भित्रियो । करिब दुई महिनादेखि हामी विशेष सजग छौं । २१ दिनदेखि हामी लकडाउनमा नै छौं । तर पनि हामीमा थप संक्रमण बढ्ने हो कि, केही व्यक्तिको ज्यान जाने हो कि भन्ने भय हरेक व्यक्ति र समाजमा छ । 

कोरोना पीडा बढेसँगै हाम्रा सबै सांस्कृतिक पर्व, मेला, उत्सव, जमघट रोकिएका छन् । भोजभतेर रोकिएका छन् । तीर्थब्रत रोकिएका छन् । नदी–स्नान रोकिएका छन् । नत्र आज संक्रान्तिका दिन कन्काई–माई, बराहक्षेत्र÷चतरा–धाम, त्रिशूली, उत्तरगया, त्रिवेणी, देवघाट, गोलाघाट, नारायणघाट, राम्दी, रिडी, रुद्रवेणी, सेतीविनी, गलेश्वर आदि पवित्र तीर्थस्थलहरूमा कत्रो जमघट हुन्थ्यो होला तीर्थयात्रीहरूको ! तर हामी ‘लकडाउन’मा छौं । हामी बन्दाबन्दी र घरबन्दीमा छौं । हामी डेराबन्दी र कोठाबन्दीमा छौं । कि त हामी ‘क्वारेन्टाइन’मा क्रियापुत्रीझैं बसेर दिन गनिरहेका छौं । यो सबैको कमाल कोरोनाकै हो ।

पूर्वमन्त्री तथा वरिष्ठ कवि एस्पी (शङ्कर) कोइरालाले केही हप्ताअघि ‘गोरखापत्र’को शनिवार अङ्कमा ‘कोरोना कोरस’ शीर्षकको एउटा असाध्य मार्मिक कविता लेख्नुभएको थियो । कोरोना–आतङ्क एउटा नयाँ खतरनाक दैवी ‘अवतार’ हो भन्दै ‘कोरोनेश्वर अवतार’ शब्द प्रयोग गर्नुभएको सन्दर्भ यहाँ कोट्याउन मन लाग्यो । उहाँका केही पंक्ति हेरौँ ः

भाइरस न हो आखिर

मुखले केही भन्दैन

तर मान्छेलाई मान्छे गन्दैन !

आज बाँचिएछ भने गाउनुपर्ला भोलि

भाइरस भगवान्को भजन

हे ‘कोरोनेश्वर अवतार’

हाम्रो कोटि–कोटि नमस्कार !

कवि कोइरालाले भनेजस्तै यतिबेला हामी अरु देवदेवीका मन्दिर जान छोडेका छौं । कोरोनेश्वरकै चियोचर्चामा छौं । घरभित्रै कैद छौं । कैदीबन्दीजस्तै हामी कैद–मुक्तिमा लागि ‘कोरोनेश्वर अवतार’को प्रार्थना गर्दै दिन काट्नु, अलग (एकान्तवास) बस्नुको विकल्प छैन । आवतजावत रोक्नुको विकल्प छैन । हाम्रा लागि राक्षस पनि कोरोना यतिबेला, हाम्रा लागि भगवान पनि कोरोना यतिबेला । ‘कोरोनेश्वर’ले राम्रोसँग सुने भने हामी सबैका घर–प्रार्थना र अनुनय–विनय, हामी भोलिका दिनमा मन्दिर जाऊँला, गुम्बा जाऊँला, मौलाना र मस्जिद जाऊँला, गुरुद्वारा आऊँला, चर्च जाऔंला । सिमभूमि, देवभूमि, पितृभूमि सबै सबै सिमेभूमेको पूजामा रमौँला । ईश्वर, भगवान, परमेश्वर, अल्लाह सबैको  राम्रोसँग दर्शन गरौंला । अहिलेको विकल्प केबल आइसोलेसन, लकडाउन, घरबन्दी नै हो ।

विद्वत्जनका बेफ्वाँके हल्ला !

कोरोनालाई थप फैलावट हुन नदिन, आगन्तुकबाट थप व्यक्तिमा सर्न नदिन लकडाउनको अवधि वैशाख ३ पछि पनि केही हप्ता बढाउनु अनिवार्य छ । भारतसमेत यस दिशामा तयारी अवस्थामा छ । भारतमा प्रथम चरणको लकडाउन २१ दिनका लागि गरिएकोमा सो अवधि अप्रिल १४ मा (भोलि) समाप्त हुँदैछ । त्यो थपिने निश्चित छ ।

हाम्रा नाकासँगको सन्तुलन मिलाउन पनि भारतसँग लकडाउनमय ‘सहकार्य’ र ‘समन्वय’ जरुरी छ । अतः सम्पूर्ण अन्तर्राष्ट्रिय  उडानहरू वैशाख १८ सम्मका लागि बन्द गरिएझैं वैशाख ३ पछि २ लटमा गरी कम्तीमा २ हप्ता बढाई वैशाख १७-१८ सम्म कडा नियमका साथ ‘लकडाउन’ गर्न सकियो भनेमात्र हाम्रो देशमा कोरोनाको सम्भावित संक्रमण घटाउन सकिने छ । त्यसपछिको अवस्था त्यतिबेलै मूल्याङ्कन गरेर थप रणनीतिक उपायका साथ अघि बढ्नुपर्छ ।

कतिपय बुज्रुक–उपबुज्रुक विद्वत्जन यतिबेला पूरापूर ‘विपक्षी’ बनी सरकारको दोहोलो काढ्ने सुर र लयमा देखिएका छन् । भ्रमपूर्ण सूचना बाँडेर अथवा केही ‘ब्रेकिङ विचार’ छोडेर वर्तमान अवस्थालाई आतङ्कित र थप भयभीत पार्ने प्रयासमा पनि छन् । सामाजिक सञ्जाल र केही निजी पत्रिकालाई आफ्ना ‘मञ्च’ बनाएर विद्वता छाँट्न र नयाँ नयाँ मनगढन्ते आकलन गर्न व्यस्त देखिन्छन् । एक उपबुज्रुकको सामाजिक सञ्जालमा देखियो ः “यदि लकडाउन थप भयो भने कम्तीमा ३५ हजार नेपाली खान नपाएर २ हप्ताभित्र मर्नेछन्, तसर्थ वैशाख ३ पछि लकडाउन थप्नुहुन्न ……. ।” यस्तै यस्तै मनगढन्ते तर्साउने पुलिन्दा फिँजाएर तिनले समाज, स्थानीय सरकार, प्रादेशिक सरकार र सङ्घीय सरकारको  ‘सातोपुत्लो उडाउने’ प्रयत्न गर्छन् । सरकार परिवर्तनको ‘च्याँखे’मा सघाउँछन् । बेमौसमको बाजा बजाउँछन् । विचारको बल्छी हानेर समाज तरङ्गित र भरङ्गित पार्नु उनीहरुको ‘जागिर’ नै हो । यस्ता ‘ब्रेकिङ–विचार’का तथाकथित ‘विद्वानजन’ले समाज बनाउँदैनन्, बिगार्छन्; देशमा बसेर पनि देश बनाउँदैनन्, झन् बिगार्छन् । अहिले ‘सलाम’ ‘महासलाम’ गर्नुपर्ने स्वास्थ्यकर्मी र स्थानीय पालिकालाई गाली गरेर कसैलाई लाभ हुनेछैन । सबैले बुझौं । केही सकारात्मक बन्ने प्रयास पनि गरौं ।

नेपाली भूमिमा कुनै व्यक्तिले आजसम्म कोरोनाका कारण ज्यान गुमाउनु परेको छैन । तर चैत ३० का दिनसम्म नेपाल–आमाका १४  पुत्रपुत्रीले विदेशी धर्तीमा ज्यान गुमाइसकेका छन् ।  त्यो पनि हाम्रा लागि पीडाको विषय हो,   संवेदनाको विषय हो । यी सबै पीडा र सम्भावित जोखिमका बीचमा हामी आज वैशाख १ मा छौं, नयाँवर्षको आँगनमा छौं । तर यसपटकको नयाँ वर्ष उत्सव सबैसबै कोरोना–कहरलाई नै समर्पित गरौं । केबल हामीबीच शब्दार्पणसहित ‘शुभकामना’ भन्ने वातावरण छ । नमस्कार गर्ने, भेट गर्ने, मुखबाटै प्रत्यक्ष शुभकामना भन्ने वातावरण अहिले छैन । अन्तमा, लेखनीका माध्यमबाट समस्त नेपालीजनमा शुभकामना भन्नका लागि आज म कवि प्रा.डा. मनप्रसाद वाग्लेको असाध्य ताजा एक टुक्रा कविता शब्दपुष्पस्वरूप सापटी माग्दछु ः

हटून् सारा धुलोमैलो मानवी मनका तम

खटून् मान्छे सधैँ हाँस्दै धरा पुज्दै नमोनमः

तरङ्गित बनोस् ध्वनी शान्तिका निम्ति देशमा

फलोस् फुलोस् नयाँ वर्ष सबैमा शुभकामना !

बस्, आजलाई यत्ति नै । फेरि पनि भन्छु– सबैका लागि नववर्ष शुभ होस् । यो धर्तीबाट कोरोना छिट्टै परास्त होस्। जनजनमा धैर्य, पराक्रम, साहस र सहनशीलता तथा संहिता पनि बढोस् । आशावादिता र सकारात्मकता पनि बढोस्। शुभकामना !!!

(लेखक पर्यटनविज्ञ तथा विकास–चिन्तक)

छत्रकोट गाउँपालिका–४, श्रृङ्गा, गुल्मी, हाल: नयाँबानेश्वर, काठमाडौं–३१

प्रकाशित : २०७७ वैशाख १ गते १०:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI