हुप्सेकोटमा उच्च सतर्कता : चोकचोकमा स्वंयसेवक, लकडाउन निकै कडा

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १ गते ११:४१
हुप्सेकोटमा उच्च सतर्कता : चोकचोकमा स्वंयसेवक, लकडाउन निकै कडा

नवलपुर । “हैट हुप्सेकोटको लकडाउन निकै कडा छ”। चढेको साधनमा,लगाएको कपडामा सेनिटाईज गरेर हात साबुन पानीले धोए पछि हुप्सेकोट प्रबेश गर्ने जो कोहिले उच्चारण गर्ने शब्द हो यो । अनावश्यक वा अत्यावश्यक दुबै काममा हुप्सेकोट प्रबेश गर्ने मानिसहरु आ-आफ्नो स्वभाव र दृष्टिकोण अनुसार कोहि रिसायर फर्किन्छन त कोहि मुस्कुराउदै । कारण हो हुप्सेकोटमा कोरोना भाईरस(कोभिड 19)बाट बच्न उच्च सतर्कता अपनाईएको छ ।

हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाका अनुसार लकडाउनको घोषणा सङ्गै गाउँपालिकाले आफ्ना मुख्य नाका र सिमानाहरुमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,र स्वयंसेवकको ब्यवस्था गरेर अनावश्यक रुपमा हुने आवतजावतमा रोक लगाएको थियो भने अत्यावश्यक काममा हिडेकालाई स्वास्थ्य परिक्षण गर्ने गरेको थियो । अहिले पनि धेरै मानिसको आवतजावत हुने मुख्य नाकाहरु बेलुवा,कोलिया,शंखदेब,साबिक हुप्सेकोटमा र जुगेपानीमा स्वास्थ्यकर्मी सहितका स्वयंसेवकहरु सेनिटाईजरका सामान सहित चेकपोस्ट निर्माण गरेर सचेतना फैलाईरहेका छन ,अनावश्यक रुपमा हिडडुल गर्नेलाई रोकिरहेका छन ।

सापकोटाका अनुसार अहिले सामुदायिक बन,विभिन्न संघ संस्थाले पनि स्वयंसेवक खटाएका छन भने युवाहरु आफै सङ्गठित भएर पनि प्रत्येक वडाको सिमानामा मात्र नभएर टोल,चोक,चौतारोमा बस्ने गरेका छन । त्यि ठाउँहरुमा बाँस ,काठ,मुढो डोरीको सहायतामा चेक पोस्ट गराईएको छ । जसका कारणले गाउँ बासीले सुरक्षित महसुस गर्ने गरेको सापकोटाको अनुभव छ । सबै चेकपोस्टले प्रभाबकारी ढंगले काम गरेका छन । त्यसमा पनि बेलुवा नाका संबेदनसिल भएका कारण त्यहाँको चेकपोस्टमा उच्च सतर्कता अपनाईएको छ । गाउँबासिले सबै भन्दा सुरक्षित महसुस पनि बेलुवाको चेकपोस्टबाट गरेको सापकोटाले सम्झिए ।

बेलुवा नाका त्यही नाका हो जहाँ बाट धेरै मानिस र मालबाहक साधनको आवतजावत हुने गर्दथ्यो र लकडाउन भएपछी पनि अरु भन्दा त्यो नाका ब्यस्त नै छ । गाउँपालिकाले सुरुवातमा बेलुवा चेकपोस्टमा १ जना स्वास्थ्यकर्मी,हवल्दारको नेतृत्वमा २ जना प्रहरी र स्थानिय स्वयंसेवकलाई खटाएको सापकोटाले बताए । ” पछिल्ला दिनमा त्यही चेकपोस्ट हुदै अफिस जादा,फर्किदा दिनभरको थकान पलभरमै मेटिन्छ ” सापकोटाले अगाडि थप्छन” गाउँपालिकाको सहयोग भएर मात्र होईन त्यो सडकमा हुने ट्राफिक ,चेकपोस्टको नेतृत्व सम्हालेका युवा र सचेत स्वयंसेवकको कारणले कडा पनि छ र संयम पनि छ। जुन अहिलेको आवस्यकता पनि हो “। बेलुवा नाकाको नेतृत्व गरिरहेका छन स्थानीय अगुवा युवक लक्ष्मण सेनले । सेनका अनुसार त्यहा २४ घण्टानै स्वयंसेवकहरु खटिन्छन ।

उनी अरु चेकपोस्टमा भन्दा बेलुवा चेकपोस्टको नियम कडा रहेको सुनाउछन । सेनका अनुसार त्यहाँबाट आवतजावत गर्ने स्वास्थ्यकर्मि,सुरक्षाकर्मिलाई समेत उनिहरुको समय र ब्यस्तता हेरेर १५ मिनेट देखि १ घन्टा सम्म प्रबेश दिईदैन, एम्बुलेन्स ,दमकल भने छाडिने गरेको र प्रेसलाई सवार साधन सेनिटराईज गरेर प्रबेश दिईन्छ,अत्यावश्यक काममा आवतजावत गर्नेलाई रेकर्ड राखेर पालिका बाहिर जान दिईन्छ तर फर्किदा चेकपोस्टमा सेनिटाईज गरेर प्रबेश दिईन्छ तर अत्यावश्यक कामको बहाना मात्र भएको पाईएमा १ घन्टा चेकपोस्टमा नै राखिन्छ । सेनले अनुभव सुनाउदै थप्छन “विकसित मुलुकमा कोरोनाका कारणले मृत्यु वरण गरेका डाक्टरहरु रोगबारे अन्जान थिए होलान त पक्कै पनि थिएनन । त्यसैले पनि कसैको पद, ब्यक्तित्व, र प्रभाबको आधारमा अनावश्यक प्रबेश दिईन्न ।” सेनका अनुसार खाद्यान्न ,दाना लगायतका अत्यावश्यक सामान बोक्ने सवारीलाई निश्चित समय छुट्याईएको छ । तर समय भन्दा बाहिर पालिकामा आवतजावत गरे १ घन्टा देखि ६ घण्टा सम्म चेकपोस्टमै राख्ने गरिएको छ । त्यसरी चेकपोस्ट बाट तत्काल प्रबेश नपाउनेहरुका लागि मिनिरल वाटर,वाईफाईको समेत ब्यवस्था गरिएको उनको भनाई छ । “केही मानिस रिसाउछन ,सम्झाएर पठाईन्छ । स्वयंसेवक साथिहरुले पनि उत्साहित भएर साथ दिनुभएको छ ।” सेनले अनुभव सुनाउछन।

बेलुवा नाकामा २०७६ को अन्तिम रात कोरोनाबाट मृत्यु बरण गरेका संसार भरका मानिसको आत्मशान्ती र कोरोना भाईरस बिरुद्ध अग्र मोर्चामा खटिएका सबैको सम्मानका लागि दिप प्रज्वलन गरिएको सेनले जानकारी गराए ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डेले चेकपोस्टहरुले निकै प्रभाबकारी ढङ्गले काम गरेको भन्दै घरबाट बाहिर ननिस्कन माईकिङ गरेर अनुरोध गरेता पनि शुन्यमा झार्न नसकिएको बताउँछिन । सबै चेकपोस्ट र नाकाहरुमा गाउँपालिकाले सेनिटाईजरका सामान उपलब्ध गराएको र खटिएका स्वयंसेवकलाई पालिकाले खाजा नास्ताको ब्यवस्था गर्ने पाण्डेले जानकारी दिईन ।

प्रकाशित : २०७७ वैशाख १ गते ११:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI