प्रहरीले कुटेकाे छोरा जोगाउन गएकी आमाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १ गते १८:३०
प्रहरीले कुटेकाे छोरा जोगाउन गएकी आमाको मृत्यु


राजविराज । लकडाउनको उल्लघन गरेको भन्दै प्रहरीले कुटदै गरेको छोरालाई जोगाउन पुगेकी एक बृद्घाको मृत्यु भएको छ ।

सप्तरीको खडक नगरपालिका ६ विरपुर टोलकी ६२ बर्षिया जयनव खातुनको यसरी मृत्यु भएको हो । प्राप्त घटना विवरण अनुसार सोमबार विहान ११ बजे तिर विरपुर टोलको चक्वा चौकमा लकडाउनको उल्लघन गरेको भन्दै प्रहरीले उनको ३० बर्षिय छोरा नासिम अंसारी सहित १०–१५ जनाको समुह माथि लाठी प्रहार गरेको थियो ।

सोही क्रममा छोरालाई जोगाउन घरबाट चिच्याउँदै निस्केकी ६२ बर्षिया बृद्घा खातुनको मृत्यु भएको हो । घटना स्थलमा बेहोस भएकी उनलाई तत्कालै उपचारका लागि कल्याणपुर स्थित स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर, त्यहा उपचार हुन नसकेपछि खडक नगरपालिकाका प्रमुख हेमायु हकको गाडीमा उनलाई राखेर स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल पुर्याईएको थियो । जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

प्रहरी उपरिक्षक कृष्णा प्रसाईले ति महिला पहिले देखि नै मुटु रोगी भएको र हृदयघातले मृत्यु भएको दावी गरेका छन् । ‘उनी पहिले देखि नै मुटु रोगी थिए, प्रहरीलाई देखेर तर्सिएर हा ेवा छोरालाई कुटदै गरेको सुनेर अचानक ढलेकी हुन’, प्रहरी उपरिक्षक प्रसाईले भने, प्रहरीले ति महिलाई छोएको पनि छैन ।

यता आफन्तले भने छोरालाई जोगाउन जाँदा प्रहरीले जयनव खातुन माथि पनि लाठि प्रहार गरेको र सोही कारणले उनको मृत्यु भएको दावी गरेका छन् । आफन्तले लकडाउन उल्लघनको निहुमा प्रहरीले मान्छेलाई पशु झै कुटेको र सो क्रममा सोही वडाकी अर्की ६० बर्षिया चुन्नी बातरनीको पनि टाउको फुटेको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कार्यवाही तथा मृतक परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने माग समेत गरेका छन् ।

घटना पछि सो क्षेत्रमा तनाव देखिएको छ । कुनै थप अप्रिय घटना हुन नदिन अहिले खडक नगरपालिका क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित : २०७७ वैशाख १ गते १८:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI