सरकारलाई कांग्रेसको अपीलः घुम्ती परीक्षण शिविर शुरू गरौँ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३ गते १६:५७
सरकारलाई कांग्रेसको अपीलः घुम्ती परीक्षण शिविर शुरू गरौँ

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोरोना भाइरस परीक्षणको दायरा बढाउन घुम्ती परीक्षण शिविर शुरू गर्न सरकासँग माग गरेको छ।


आज विज्ञप्ति जारी गर्दै कांग्रेसले लकडाउन शुरू हुनुभन्दा अघिल्लो हप्ता देशका विभिन्न नाकाबाट करीब दुई लाख नेपाली अव्यवस्थित ढंगले प्रवेश गरेको स्मरण गर्दै घुम्ती परीक्षण शिविर शुरू गर्न सरकासँग माग गरेको हो। 

विदेशबाट आएको २८ दिनमा सनसिटी अपार्टमेन्टमा बसेकामा संक्रमण देखिएजस्तै बाहिरबाट आएर गाउँमा छरिएकाहरूमा लक्षण नदेखिने संक्रमण रहेछ भने त्यसले भयावह स्थिति निम्त्याउने कांग्रेसको चिन्ता छ। 

‘नेपाली कांग्रेस गाउँ तहसम्म घुम्ती परीक्षण शिविर चलाउने तयारी तत्काल शुरू गर्न तीनै तहको सरकारलाई युद्धस्तरमा समन्वयसाथ कार्य गर्न अपील गर्दछ’, प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

रौतहटमा संक्रमण देखिएका युवक लकडाउनको बेला पैदल हिँडेर नेपाल प्रवेश गरेको पुष्टि भएकाले सरकारले नै व्यवस्थित तरिकाले निश्चित ठाउँबाट प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने विषय बाहेक अब नाकामा थप गम्भीरता जरुरी रहेको कांग्रेसको भनाइ छ। 

‘लकडाउनको समयमा पनि कोही लुकिछिपी प्रवेश गरेका या गर्न सक्ने देशैभरका कुनैपनि नाकामा नेपाल र नेपालीको रक्षाका लागि अब चौबीसै घण्टा विशेष सावधानीको अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले कोरोना भाइरस संक्रमणको जोखिम बढेको स्थिति दृष्टिगत गरेर सरकारले लकडाउनको समयावधि थप गर्नुलाई स्वभाविक भनेको छ।

तर, लकडाउनको समय थप्ने, कोरोनासँग जुध्ने गति र सतर्कताको मात्रा थप्न नसक्ने हो भने लकडाउन गरेर मात्रै कोरोनालाई परास्त गर्न नसकिने उसको ठहर छ। अघिल्लो चरणका कमजोरी अन्त्य गरेर सतर्कताको स्थितिलाई मजबुत तुल्याउन कांग्रेसले  सरकारसमक्ष अपील गरेको छ। 

साथै, अत्यावश्यक मेडिकल सामग्री खरिद गर्ने या निश्चित मुलुकबाट मानवीय सहयोगका रूपमा आयात गर्ने कार्यमा ढिलाइ भइरहेको कांग्रेसको भनाइ छ।

‘पारदर्शी ढंगले कुन प्रक्रिया र कुन माध्यमबाट ल्याउने त्यो सरकारको अधिकार क्षेत्रको विषय हो। तर, कोरोनाबाट संक्रमितको संख्या बढ्दै गएको आजको मितिमा सामग्रीको पर्याप्त बन्दोबस्त गर्न अब रत्तिभर ढिलाइ नगर्न हामी आग्रह गर्दछौँ’, कांग्रेसले भनेको छ।

र्‍यापिड टेस्टको परिणाम विश्वव्यापी रूपमै विश्वसनीय र भरपर्दो नदेखिएको भन्दै कांग्रेसले पीसीआर विधिको व्यापकता बढाउन माग गरेको छ। 

प्रकाशित : २०७७ वैशाख ३ गते १६:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI