आरडीटी टेस्टमा पोजिटिभ देखिएका चितवनका व्यक्तिको पीसीआरमा नेगेटिभ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३ गते २२:३५

चितवन । र्‍यापिड डाइग्नोस्टिक परीक्षण (आरडीटी)मा कोरोना पोजिटिभ देखिएका चितवनको रत्ननगर नगरपालिका–१२का एक व्यक्तिको स्वाबबाट पीसीआर मेसिनमा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ । आज (बुधबार) गरिएको (आरडीटी) परीक्षणमा पोजिटिभ देखिएपछि पुनः स्वाब संकलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा आजै परीक्षण गरिएको थियो । पुनः परीक्षण गर्दा नेगेभिट आएको भरतपुर अस्पतालका अध्यक्ष भोजराज अधिकारीले जानकारी दिनुभयो । 

कोरोनाको आशंका गरिएका ती ४७ वर्षीय पुरुष गत फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए । उनी आएदेखि नै १४ दिन होम क्वारेन्टिनमा बसेका थिए । त्यसपछि उनी खासै धेरै व्यक्तिको सम्पर्कमा नपुगेको स्थानीयले बताएका छन् । ती पुरुषमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन । उनको गुञ्जमान सिंह हस्पिटलमा आज र्‍यापिड टेष्ट गरिएको थियो । र्‍यापिड टेष्ट पश्चात उनी घर पुगेका थिए । र्‍यापिड टेष्टमा उनको रिपोर्ट पोजिटिभ आएपछि उनलाई फोन गरेर अस्पताल बोलाइएको थियो । उनलाई अहिले गुञ्जमान सिंह हस्पिटलको आइसोलेसन कक्षमा राखिएको छ ।
यसैविच भरतपुरमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा आज परीक्षण गरिएका २७ वटै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । आज भरतपुर कोरोना विशेष अस्थाई अस्पतालबाट २२, चितवन मेडिकल कलेजबाट १, गुञ्जमानसिंह अस्तालबाट ३, भरतपुर अस्तालबाट २ पठाईएको स्वाबको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रकाशित : २०७७ वैशाख ३ गते २२:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI