विदेशमा १४ नेपालीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ५ गते ७:२५
विदेशमा १४ नेपालीको मृत्यु

कोरोना भइरसबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ। त्यस्तै विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक कोरोना भाइरसबाट सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अमेरिका र बेलायतमा बढी प्रभावित
बेलायतमा आठ जना नेपाली नागरिकको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । त्यहाँ ३५ जना सङ्क्रमित छन् । अन्य ३० जना क्वारेन्टाइनमा छन् भने १० जना क्वारेन्टाइनबाट फर्किएका छन् ।
यसैगरी अमेरिकामा एक नेपाली मूलका नागरिकसहित छ नेपालीको मृत्यु भएको छ । तीनको मृत्यु कोरोना भाइरसका कारण पुष्टि भइसकेको छ भने बाँकी तीन जनाको पुष्टि हुन बाँकी रहेको जनाइएको छ । त्यहाँ कुल ६० जना नेपाली सङ्क्रमित छन् । सबैभन्दा बढी न्युयोर्कमा ४५ जना नेपाली सङ्क्रमित छन् । त्यहाँ यो सङ्ख्याभन्दा धेरै नेपाली सङ्क्रमित रहेको अनुमान छ ।
मन्त्रालयका अनुसार, विभिन्न सहरको आफ्नै स्थानीय कानुन अनुसार सङ्क्रमितको विवरण गोप्य राखिएकाले पूर्ण जानकारी आउन अझै बाँकी छ । अमेरिकास्थित नेपाली दूतावासका अनुसार नेपाली नागरिकको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सङ्क्रमित बढ्दै
बेलायत र अमेरिकापछि सबैभन्दा बढी नेपाली सङ्क्रमित रहेको देश बहराइन हो । नेपालको श्रम गन्तव्यमध्ये एक बहराइनमा २२ जना नेपाली नागरिक सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ती सबैको उपचार भइरहेको छ । पोर्चुगलमा १२ जना नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यहाँ थप २१ नेपाली क्वारेन्टाइनमा रहेका छन् ।
त्यस्तै, श्रम गन्तव्यकै अर्को मुलुक कुबेतमा १२ जना नेपालीलाई कोरोना सङ्क्रमण रहेको छ । यूएईमा ११ जनालाई सङ्क्रमण छ । त्यहाँ नौ जना नेपाली क्वारेन्टाइनमा छन् भने दुई जना घर फर्केका छन् । त्यस्तै, अस्ट्रेलियामा आठ जना नेपालीमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यहाँ थप सात जना नेपाली क्वारेन्टाइनमा रहेका छन् ।
त्यस्तै खुला सिमाना रहेको भारतमा धेरै नेपाली कामदारलाई कोरोना सङ्क्रमण भएको अनुमान छ । मन्त्रालयलाई प्राप्त जानकारीमा भने एउटै परिवारका आठ जनाको विवरणमात्र सामेल छ । अछाम घर भएका ती परिवारको उपचार भइरहको छ ।
त्यसैगरी, स्पेनका आठ नेपाली पनि कोरोना सङ्क्रमणको चपेटामा परेका छन् । तीमध्ये केही उपचारपछि घर फर्केका छन् भने केहीको उपचार चलिरहेको छ । स्विटजरल्यान्डमा पाँच जना नेपालीमा कोरोना भाइरसको सङक्रमण देखिएको छ। अर्को प्रमुख श्रम गन्तव्य साउदी अरबमा चार नेपाली सङ्क्रमित छन् । त्यहाँ एक नेपाली उपचारपछि निको भएका छन्।
जापानमा पनि दुई नेपाली कोरोना सङ्क्रमणपश्चात उपचारका क्रममा रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । त्यसैगरी, इजरायल, हङकङ, न्युजिल्यान्ड र मलेसियामा एक÷एक जना नेपाली सङ्क्रमित रहेको जनाइएको छ। स्रोत- गोरखापत्र

प्रकाशित : २०७७ वैशाख ५ गते ७:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI