बाग्लुङ्गकी संक्रमित महिलाको तेस्रो रिपोर्ट नेगेटिभ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ५ गते ७:५७

कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीय महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचार गराइरहनुभएकी महिलाको तेस्रो स्वाब परीक्षणमा नेगेटिभ आएको हो।

नेपालमा कोरोना भाइरस संक्रमणको पुष्टी भएका दोस्रो र पाँचौ युवतीसँग एउटै विमानबाट बेल्जियम हुँदै नेपाल आएकी महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको र चौथो रिपोर्टका लागि स्वाब पठाउँने तयारी गरिएको धौलागिरि अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डा. शैलेन्द्र बि. पोखरेलले जानकारी दिनुभयो ।

कोरोना संक्रमण मुक्त हुनका लागि दुईवटा रिपोर्ट नेगेटिभ आउनुपर्ने भएकाले चौथो स्वाब परीक्षणका लागि पोखरा पठाउने तयारी गरिएको छ । १५ दिन अघि कोरोना भाइरस संक्रमण भएको पुष्टी भएपछि उपचाररत महिलाको दोस्रो रिपोर्ट पोजेटिभ आएको थियो ।

तेस्रो रिपोर्ट नेगेटिभ आउनु सुःखद् भए पनि चौथो रिपोर्टपछि मात्र महिलालाई डिस्चार्ज गरिने पोखरेलले बताउनुभयो । ‘कोरोना भाइरस संक्रमणको पुष्टी भएपछि हामीले आइसुलेसन वार्डमा राखेर उपचार गराइरहेका थियौ, शारिरिक रुपमा कुनै समस्या नभए पनि दोस्रो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल बसाइ लम्बिएको थियो, तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अब चौथो रिपोर्टकालागि स्वाब पठाउँने तयारी गरेका छौं, चौथो रिपोर्टमा नेगेटिभ आएपछि मात्र संक्रमितलाई डिस्चार्ज गछौं।’

संक्रमित महिलाका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको समेत स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । नेपालमा छैठौं संक्रमित महिलाको रिपोर्ट पोजेटिभ आउँनु सुखद् रहेको अस्पताल विकास समितिका सदस्य सालिकराम शर्माले बताउनुभयो । अहिलेसम्म नेपालमा पहिलो संक्रमित मात्र कोरोना मुक्त भएर घर फर्किएपनि दोस्रो, तेस्रो, चौथो र पाँचौ संक्रमित अहिलेपनि उपचाररत रहेका छन् ।

धौलागिरि अञ्चल अस्पतालमा महिला बाहेक पाँचौ संक्रमित युवतीको समेत उपचार भइरहेको छ । महिला भन्दा केही दिन अघि नै संक्रमण पुष्टी भएर उपचाररत युवतीको रिपोर्ट भने पोजेटिभ आइरहेकाले अस्पताल बसाइ लम्बिएको छ ।

प्रकाशित : २०७७ वैशाख ५ गते ७:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI