मोरङकी युवतीमा देखियो कोरोना एन्टीबडी पोजेटिभ

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ५ गते ८:४१
मोरङकी युवतीमा देखियो कोरोना एन्टीबडी पोजेटिभ
भारतबाट फर्किएको २४ दिनपछि मोरङमा एक युवतीमा कोरोना भाइरसको एन्टीबडी पोजेटिभ देखिएको छ ।
बिहीबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा बुढीगंगा गाउँपालिका– १ कि २७ वर्षकी युवतीमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको हो ।
बुढीगंगा गाउँपालिका १ का वडाअध्यक्ष युवराज पौडेलका अनुसार युवती अर्का एक साथीसँगै बैंगलोरबाट १० चैतमा घर आएकी थिइन् । उनी घर आएदेखि होम क्वारेन्टाइनमा बसिरहेकी थिइन् ।
युवतीलाई कोशी अस्पताल विराटनगरको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । अस्पतालले युवतीमा कोरोना रहेको वा नरहेको निश्चित गर्न प्रयोगशाला परीक्षण गर्दैछ । यसको नतिजा शुक्रबार आउनेछ ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले एकजनामा र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको जानकारी आफूलाई आएको बताए ।
बुढीगंगा गाउँपालिकामा बिहीबार पुगेको परीक्षण टोलीले २७ वर्षकी युवतीसँगै आएकी अर्की युवतीको पनि परीक्षण गरेको थियो । तर उनमा र्‍यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी नेगेटिभ आएको थियो ।
भ्यान भागेपछि एम्बुलेन्स
र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि युवतीलाई विराटनगरस्थित कोशी अस्पताल ल्याउन वडा अध्यक्षसहितको टोली युवतीको घर पुगेको थियो ।
युवतीलाई अस्पतालसम्म लैजानका लागि एउटा भ्यान बोलाइएको थियो । तर भ्यानले भने कोरोना शंकास्पद विरामी भनेपछि बोक्न मानेन । त्यसपछि एम्बुलेन्सा राखेर ल्याइएको थियो । स्रोत- अनलाईनखबर डटकम
प्रकाशित : २०७७ वैशाख ५ गते ८:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI