लकडाउनपछि उपत्यकाभित्रका प्रहरी हिरासत कक्ष खाली

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ५ गते ९:००
लकडाउनपछि उपत्यकाभित्रका प्रहरी हिरासत कक्ष खाली

कोरोना भाइरसको संक्रमण फैलिन नदिन देश लकडाउन भएको २४ दिन पुगेको छ । लकडाउनका कारण मानिसहरू घरबाहिर निस्कन पाएका छैनन् । गतिविधि ठप्प छ । सडक खाली छन् । सरकारी र निजी कार्यालय सुनसान छन् । अवसर मात्र होइन, अपराधको समेत राजधानी मानिएको काठमाडौं उपत्यकामा लकडाउनयता छिटफुटबाहेक अपराध करिब–करिब शून्यमा झरेको छ । अपराधका घटना नभएकै कारण उपत्यकाभित्रका प्रहरी हिरासत कक्षसमेत यतिवेला प्रायः खाली बन्न पुगेका छन् । दिनहुँजसो अपराधमा संलग्न व्यक्तिहरूको पछाडि दौडने प्रहरीसमेत फुर्सदमा छन् ।

प्रहरी तथ्यांकअनुसार अपराधका दृष्टिले उपत्यकाभित्रका तीनमध्ये सबैभन्दा संवेदनशील काठमाडौं जिल्ला मानिन्छ । काठमाडौंमातहत रहेका १४ वटा हिरासत कक्षमा सामान्य दिनमा सरदर पाँच सय थुनुवा रहन्थे । तर, अहिले सो संख्या घटेर २४ मा आइपुगेको छ । ललितपुरमातहत रहेका तीन हिरासत कक्षमा सामान्य वेला प्रत्येक दिन ८० थुनुवा हिरासत कक्षमा रहन्थे । अहिले हिरासत कक्षमा मात्रै १८ जना थुनुवा छन् । त्यस्तै, भक्तपुरमातहतका हिरासत कक्षमा सधैँ सरदर ३० थुनुवा रहन्थे । तर, अहिले हिरासत कक्षमा थुनुवा एकजना मात्र छन् । प्रहरीका अनुसार तीन जिल्लामातहतको हिरासत कक्षमा रहेका सबै थुनुवा लकडाउनअघि नै पक्राउ परेका हुन् । त्यसमा पनि अधिकांश लागुऔषध मुद्दासँग सम्बन्धित छन् ।

लकडाउनपछि आत्महत्याका घटना सात मात्रै

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले लकडाउनयता अपराधका घटना सर्लक्कै तल झरेको बताए । ‘लकडाउनयता काठमाडौंमा अपराधका घटना करिब–करिब शून्यमा झरेको छ । हामीकहाँ प्रत्येक दिन पाँच सयको संख्यामा थुनुवा हुन्थे । अहिले जम्मा २४ जना मात्रै छन्,’ उनले भने, ‘ती पनि सबै लकडाउनअघि पक्राउ परेकाहरू हुन् । अधिकांश लागुऔषध मुद्दाका अभियुक्त हुन् । त्यसबाहेक हामीले नै चलाएको मुद्दा अहिलेसम्म एउटा पनि छैन ।’  स्रोत- लोकान्तर डटकम

प्रकाशित : २०७७ वैशाख ५ गते ९:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI