६ दिन हिँडेरै नवलपुर, रोल्पा पुग्न अझै ५ दिन !

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ५ गते १८:१४
६ दिन हिँडेरै नवलपुर, रोल्पा पुग्न अझै ५ दिन !

दिपक भट्टराई कावासोती, नवलपुर ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायण खण्ड सवारी चाप हुने क्षेत्रमा पर्दछ । लकडाउनका कारण यो सडक अहिले सुनसानजस्तै छ । सुरक्षा निकाय का सवारी केही खाद्यान्न बोक्ने र केही औषधि बोक्ने सवारीबाहेक अन्य ठप्प छन् ।

तर यही राजमार्गमा लकडाउनका कारण आफ्नो रोजगारी गुमाएका हजारौं मजदुर तातो घाम अनि तातेको राजमार्गमा पैताला घिसार्दै घर फर्कनु परेको छ ।

न खानको ठेगान छ न सुत्नेको, भोकभोकै झण्डै दैनिक हजारौ को संख्यामा हिंड्ने पैदल यात्रुको आआफ्नै गुनासा छन् ।

काठमाडौंबाट ५ दिनअघि २८ जनाको समूहसहित घर हिंडेका रोल्पा होलेरीका धनबहादुर मगर छैटौं दिन नवलपुरको देबचुली १५ प्रगतिनगर आइपुग्दा थकित देखिन्थे ।

केही महिनाअघि घर निर्माणको काम गर्न काठमाडौं पुगेका उनी लकडाउनसँगै रोजगारी गुम्यो अनि घर फर्कन बाध्य भए । उनीसँगै २८ जनाको समूह काठमाडौंबाट आइतबार बिहान पैदल हिंंडेको बताए ।

काम गर्ने ठेकेदारले पैसा पनि दिएन घर जाउ भने चिउरा र चाउचाउ पानी खाँदै यहाँसम्म आइपुगियो, स्थानीयको सहयोगमा खाना खान बसेका मगरले भने, छ दिनपछि बल्ल आज भात खान पाइयो ।

नारायणी टोल सुधार समिति र स्थानीयको सहयोगमा अलपत्र पैदल यात्रुलाई खाना, खाजा र पानी को ब्यवस्था गरेको समिति सचिव रमेश खनालले बताए । उनले राजमार्गमा हिंड्ने मजदुर भोकै नहुन् भनेर खानाको ब्यवस्था मिलाएको बताए ।

रोल्पा पुग्न अझै ५ दिन लाग्ला बरू हामीलाई रोल्पा घरसम्म पुरर्याइ दिए हुन्थो, मगरले गुनासो गरे ।

उनीमात्रै होइनन्, अहिले राजमार्गमा भारी बोकेर घर फर्कने मजदुरको लर्को नै देख्न सकिन्छ । हेडौटाबाट कन्चनपुर पैदल हिंडेका मदन चौधरीको पनि गुनासो उस्तै छ ।

सडकको जाली बुन्ने काममा परिवारसहित पेटी ठेकेदारमार्फत हैटौडा पुगेका उनको पनि लकडाउसँगै रोजगारी गुम्यो । नत काम गरेको पैसा पाए, न काम नै, खान गार्‍हो हुन थालेपछि परिवारसहित घर फर्कन लागेको बताए ।

बरु गाउँमै गए बाँचिन्छ कि भनेर फर्केको, उनले भने । श्रीमती र एक बच्चासहित चाउचाउ र पानीको भरमा हिंडेको उनले बताए । प्रहरीलाई खाली ट्रक रोकेर पठाउन आग्रह गरे पनि हिंडेर जा किन आको भनेर गाली गर्ने गरेको समेत उनले गुनासो पोखे ।

महेन्द्रनगर लालपुरकै कृष्ण चौधरीले पनि काम गर्ने ठाउँमा ठेकेदारले पैसा नदिएर घर खाली हात फर्काएको गुनासो गरे । पैसा पनि छैन बाटोमा स्थानीयले दिएको खाना, खाजा र पानी खाँदै ५८ घन्टा हिडेर यहाँसम्म आइपुगेको सुनाए ।

कामकै सिलसिलामा काभ्रेबाट दाङको घोराही पुगेका सूर्यबहादुर लामाको पनि रोजगारी गुमेपछि काभ्रे फर्कैका छन् । ३ दिनअघि दाङबाट काभ्रे फर्कँदै गरेका लामा कावासोतीमा भेटिए । उनको पनि गुनासो तेस्तै थियो ।

छ महिनाअघि सडक बनाउने जेसीभी मेसिन चलाउने काम गर्दै आएका उनको पनि लकडाउनसँगै रोजगारी गुमेको छ । साहुले अब काम छैन घर जाउ । मैले खुवाएर पाल्न सक्दिन भनेपछि आफूसँगै १० जना घर फर्केको उनले सुनाएका थिए ।

प्रकाशित : २०७७ वैशाख ५ गते १८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI