गामठामको याद, “कोर्ना र किर्ना” !

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ८ गते १५:४१
गामठामको याद, “कोर्ना  र किर्ना” !

चेतनाथ कणेल हरित

फेसबुक हेर्ने क्रममा अमेरिकाको भर्जिनियामा बस्ने वरिष्ठ लोकगायक, पत्रकार तथा स्रष्टा मित्र रामप्रसाद खनालको ‘पिपलारुखे ठूल्दाइ’ शीर्षकको एक अनुभूतिजन्य आलेख पढ्न पुगेँ। उनको आलेखमा गुल्मी हर्दिनेटा, मैनडाँडा, मनभागतिरका सुन्दर ग्रामीण स्मृति–दृश्य झल्कने बाल्ययादका ‘नोस्टाल्जिक’ कुरा प्रशस्त रहेछन्, अनि ती दृश्यपटलाई वर्तमान कोरोनामय विश्वव्यापी (प्यान्डेमिक) कहर र पीडासँग गाँसेर हेर्ने प्रयास पनि गरिएको रहेछ। र, अन्त्यमा रामप्रसादको भनाइको भाव छ– गामठाममा हुर्कँदा धेरै कष्ट सहेर, धुलो–धूवाँ पचाएर र बिरामी पर्दा पनि गाउँका ‘डाक्टर’ मानिने सामान्य अनुभवी मान्छे वा ‘कम्पाउण्डर’ले एउटै सूई दर्जनौं जनालाई लगाउँदासमेत कुनै रोग नसरी, ती सबै–सबै कुरा पचाएर यो शरीर बलियो बनेको छ, तसर्थ कोरोना–सोरोनाले पक्कै छुँदैन होला; आजकाल ती ग्रामीण प्राकृतिकपन र रोगप्रतिरोधी शक्तिका कुरा सम्झेर मनमा साहस र आँट पलाएर आएको छ।

खनालजीको लेखले मलाई पनि एकछिन स्फुरित पार्‍यो। यतिबेला विश्वका अति सम्पन्न देश होउन् वा अति नै विपन, विकसित होउन् वा अद्र्धविकसित वा अल्पविकसित, ठूला र भव्य सहरमा बस्ने होउन् वा सामान्य सहर र बजारमा बस्ने, सबैसबैलाई आफ्नो देश र आफ्नो गामठामको यादले खुब सताएको छ। आफ्ना आमाबुबालाई छोडेर, परिवारका अन्य सदस्यहरूलाई छोडेर लामो समयदेखि देशकै विभिन्न सहरहरूमा रहने–बस्ने गरेका वा विदेशमा जागिर खान, पढ्न वा ‘बिजनेस’ गर्न भनी गएका व्यक्तिहरूले आफ्ना बाबुआमा खुब सम्झेका छन्, लोग्नेले स्वास्नी सम्झेका छन्, स्वास्नीले लोग्ने सम्झेका छन्,  परिवारका अन्य सदस्यहरूलाई पनि यो बेला झल्झल्ती सम्झेका छन्। आफ्नो गामठाममा बस्ने आफन्ती, दौँतरी र त्यहाँका खोला, खहरे, झरना, चौतारी (चौपारी), बगैँचा, धारा, इनार, कुवा, कुला-नहर, चउर, खेत-बारी, पाटीपौवा, मठ–मन्दिर, स्कुल, डाँडा, बेँसी, वन–जङ्गल, चियापसल, ढिकी, कोल, जाँतो (झाँतो) ……… आदि आदि कुराहरू हरेक व्यक्तिका आँखामा झल्झली नाचेका छन्। कतिपय आजका दिनमा पनि आफ्ना घरमा पुग्ने होडमा बेहाल हालतमा नै पैदलैपैदल यात्रारत छन्, लकडाउनको बेवास्तासमेत सामान्य बनेको छ केही दुःखी जनका लागि। अभावले डामिएका व्यक्तिका लागि।

लगभग पूरै विश्वका मान्छेहरू कोरोनाको पीडामा गृहबन्दी (लकडाउन) भएर बसेको धेरै भयो। हप्तौँ बन्दी भएर एकान्तवासमा बसिरहेको बेला, जिन्दगीमा कहिल्यै नसोचेको र जीवनमै पहिलोपटक भएको बाध्यात्मक र उकुसमुकुसको यो ‘घरबन्दी, यो ‘कोठाबन्दी’ले कसको मन पोलिरहेको छैन? कसको मन उद्वेलित भएको छैन ? सहरमा यो पीडा झनै बढी छ। उकुसमुकुस झन् बढी छ। कसैका लागि त न आँगन छ, न छत छ, न त गल्लीमा नै निस्कन मिल्छ, न सडकमा नै खुट्टा तन्काउन पाइन्छ। बडो कठिन छ। एउटै कोठामा बसेर ‘घरबन्दी’ समय बिताउनुपर्दा कसको मन रुँदैन? कसको मनले खुला हावा खान गाउँठाउँतिरै जाऊँ भन्दैन?

अझ कतिपयका लागि यो बेला ‘छोरो रुँदै सहरको झेलैमा, आमा रुँदै गाउँबेँसी मेलैमा’ भन्ने भएको छ। गाउँमा बाटाघाटोमा जान नपाए पनि ‘भौतिक-सामाजिक दूरी’कायम राख्दै आफ्नै टोल–छिमेकका आँगन र डहर चहार्न त पाइन्छ, पहिलेजस्तो चियापसलमा बसेर गफ गर्न नपाए पनि आफ्नै बारी, खेत, खर्‍यान, कुलो, पाखो आदिमा कृषिकर्मका साथ रम्न र जम्न त पाइन्छ। काम गरेर जीउ तन्काउन त पाइन्छ। गाई, भैंसी, बाख्रा, भेडा, कुखुरा, परेवा, कुकुर, बिराला, चराचुरूङ्गीसँग मनग्ये खेल्न त पाइन्छ।

यो कुरा लेख्दै गर्दा गजलकार विष्णु थापाका हालै प्रकाशित एक गजलका दुई पंक्ति सम्झन पुगेँ। उनले पनि गाउँघरको याद आउने कुरालाई आफ्नो गजल (मधुपर्क, चैत २०७६) मार्फत् निकै मर्मस्पर्शी पाराले अभिव्यक्त गरेका छन्। गजलका ती मर्मस्पर्शी दुई पंक्ति हेरौँ:

“बन्दीघरमा केको मस्ती, ज्यानै प्यारो रैछ आमा

मोजमस्ती गर्नलाई त, गामै प्यारो रैछ आमा”

हो, मान्छेले आफूलाई सहरमा कहर बढेको बेला, सहरमा दुःखको माकुराले बढी जालो लगाएको बेला, सहरमा अकल्पनीय भय र डरको गर्जन बढेको बेला आफ्ना परिवार र आफ्नै थातथलोको बढी याद गर्छ। आफू सहरमा भए पनि गाउँमा नै पूरै घरपरिवार र नालनाता हुनेले त अझ भन्ने गर्छ– आखिर ‘स्वर्ग’ त्यतै रहेछ, आखिरी ‘शान्ति’ त्यतै रहेछ यिनै कुरा सम्झँदै विदेशमा भएका मान्छे होउन्,  सहरमा भएका मान्छे होउन्, हरेक व्यक्ति सबै भौतिक सुख र चयनका कुरा तिलाञ्जलि दिएर आफू बसेको सहरबाट बुर्कुसी मार्दै आफ्नै घरदेश र गाउँघरतिर हुत्तिन चाहन्छन् कोरोना–सन्त्रासले सताएको यो बेला।

केही दिनअघि लकडाउन (बन्दाबन्दी) को समयलाई दुई दिन केही खुकुलो पारी ‘उपत्यका छाडेर बाहिर जान चाहनेलाई सरकारले जान दिने भयो रे’ भन्ने खबर लिक भएको ग्यास वा हुस्सु–कुहिरोझैं सहरभरि एकाएक फैलियो। करिब दुई हप्ताको लकडाउन सास्ती खेपेर आजित सहरवासी गाउँलेहरू एकाएक आफ्ना झोला र पोकापुन्तुरा कस्न थाले। गाडी र टिकटका लागि फोन गर्न थाले । जाने टोली तयार गर्ने र गाडी रिजर्भका कुरा गर्दै बाटो खर्चको जोहो पनि गर्न थाले। तर फेरि तीन–चार घण्टाभित्रै खबर फैलियो– ‘हैन रैछ।’

गाउँघरको याद र सहरको कोरोना कहरले मान्छे कति उकुसमुकुसमा छ भनेर ‘जाँच्न’का लागि भने त्यो दुई-तीन घण्टाको सनसनीपूर्ण समय यथेष्ट थियो। गाउँठाउँको याद र आमा–घरको सम्झनाले सताएपछि मान्छेले कोरोना-सोरोना केही भन्दा रहेनछन् भन्ने पनि देखियो। बस, ट्रक, माइक्रो, ट्याक्सी, जीप, ट्र्याक्टर आदिमा यात्रा गर्दा अन्य संक्रमित व्यक्तिसँगै यात्रा गर्न पुगियो भने के हालत होला? यो कुरा कसैलाई मतलब पनि थिएन। खाली घर जान पाए पुग्यो। आमाका काखमा गएर फालिन पाए पुग्यो। सायद त्यसै भनिएको होइन, “आमा र मातृभूमिभन्दा ठूलो कुरा यो संसारमा केही हुँदैन।” दुःख परेको बेला आमा, बाबा र भगवानलाई जसले पनि बढी सम्झन्छ भनेको यही हो।

कोर्ना किर्ना” !

कोरोनाकालमा हामी सामाजिक सञ्जाल निकै प्रयोग गरिरहेका छौं। फेसबुक कमै चलाउने मान्छे भए पनि यति धेरै फेसबुक मैले कहिल्यै चलाएको थिइनँ। हरेक दिन एक दुई घण्टा फेसबुकमा नबसी आफू अद्यावधिक भएजस्तो नै लाग्दैन, आफू ‘सामाजिक प्राणी’ भएजस्तो नै लाग्दैन। यो नसा हो, पक्कै हो, तर यो आवश्यकता पनि भएको छ अहिले। व्यापक जनबीच आफ्ना विचार राख्न छिटो र भरपर्दो माध्यम भएको छ, अनि प्रतिक्रिया पनि यसमा तुरुन्त पाइने गर्छ, विचार वा ‘स्टाटस आफूलाई चित्त नबुझ्दा आफैं तुरुन्तै सम्पादन गर्न पनि पाइन्छ। हामीजस्ता दशकभन्दा बढी समयदेखि नियमित चलाएका व्यावसायिक व्यक्तिलाई मात्र नभएर यो समयमा विद्यालय पढ्ने किशोरकिशोरी, युवायुवती, गृहिणी, बूढापाका आमा–बुबालाई पनि फेसबुकले निकै राम्रो साथ दिएको छ। व्यक्तिगत कुरा आदानप्रदान गर्न, फोन–वार्ता गर्न, समाचार हेर्न, फोटो राख्न आदि विविध सेवा यसबाट पाइने भएकोले पनि आजभोलि सर्वाधिक लोकप्रिय र व्यापक प्रयोगमा आएको हो फेसबुक।

फेसबुक, टिकटक, युट्युब, भाइबर, स्काइप, जुम आदि जस्ता सामाजिक सञ्जाल र उच्चस्तरीय इन्टरनेट प्रविधिले कोरोना–समय बिताउन सजिलो भएको छ संसारभर नै। नेपालमा पनि धेरै व्यक्तिका हातहातमा स्मार्ट फोन सजिएका छन् यतिबेला। नखाएर र नलाएर भए पनि स्मार्टफोन चाहिने अवस्था सिर्जना भएको छ आजकाल। तार इन्टरनेट नपुगेका ठाउँमा ‘डाटा’बाट भए पनि नेट चलाउने चलन बढेको छ। अझ कोरोना–समयमा छोराछोरी, नातिनातिनाहरू पनि हजुरबा–हजुरआमासँग रमाएका छन्। नातिनातिनाले हजुरबा–हजुरआमालाई पनि नयाँनयाँ कुरा र प्रविधि सिकाउँदैछन्। मोबाइल फोनमा गर्न सकिने अनेक कामकुराका चर्तिकलाबारे बताउँदैछन्।

हाल बुटवलमा बस्ने हाम्रा आफ्नै एकजना ८३ वर्षे बुबाले नातिको सहयोगमा कोरोनासम्बन्धी लयात्मक कविता वाचन गर्ने जाँगर चलाएको देख्दा छुट्टै आनन्द लाग्यो। उहाँले बडो मिठास शैलीमा ‘कोर्ना’को कहर सुनाउनुभएको छ। गाउँघरमा किर्ना भनेर सबैले जान्दछन्। गाईबस्तुलाई नराम्ररी टोक्छ किर्नाले, रगत चुसेर सताउँछ किर्नाले। र, पशुको रगत टन्न खाएपछि अघाएर त्यतिबेलै मर्छ किर्नो। त्यही किर्नोको कुरा सम्झेर अब कोरोनालाई पनि नेपाली ज्येष्ठ जिब्रोहरूले उहाँ बुबाले जस्तै ‘कोर्ना’ भन्न थालेका छन् । आखिर नेपाली नाम ‘कोर्ना’ भन्दा के फरक पर्‍यो त यो विश्व–विध्वंशकारी रोग ‘कोरोना भाइरस (कोभिड–१९) लाई ?

कोर्नाले जसरी विश्व खाँदैछ, जसरी नेपाललाई पनि विस्तारै विस्तारै सताउँदैछ, त्यसरी नै ‘किर्ना’ प्रवृत्तिका केही स्वार्थी व्यक्तिहरूले यो समयमा भ्रष्ट आचरण देखाउँदैछन्। स्वास्थ्य–सामग्री खरिदमा कमिशन र भ्रष्टाचार, कुटनीतिक गाडीसमेत प्रयोग गरी लूट मच्चाउने खेल, खाद्यान्न र औषधिजन्य सामग्रीहरू लुकाएर कालोबजारी गर्ने, राहतको दुरुपयोग गर्नेजस्ता काम कतिपय व्यक्तिबाट हुँदैछन्। ती व्यक्ति समाजका ‘किर्ना’ हुन्। यही सन्दर्भमा किर्नाको प्रवृत्तिबारेमा डोटेली युवाकवि खेम बतासले ‘किर्नाहरू’ शीर्षकमा लेखेको एक कविताका पंक्ति असाध्य मर्मस्पर्शी छन्

रगत चुस्नु ने यिनको धर्म

यी अनेक रूप र जातका किर्नाहरू

रगत पसिना चुस्न पाएपछि

मरन्च्याँसेबाट रातारात खाइलाग्दा बनछन्

उमरी र उपियाँबाट एकाएक किर्नामा बदलिन्छन्

किर्ना भनेका किर्ना नै रहेछन् !

अन्तमा, ‘कोर्ना’ समयमा ‘किर्ना’बन्न उद्यत केही महास्वार्थी व्यक्तिहरूमा चेत पलाओस् भन्ने विशेष आग्रह। कठिन समयमा पनि यथार्थ समाचार र सिर्जनामार्फत् असल सन्देश फैलाउन चाहने हरेक पत्रकार र प्रबुद्ध सर्जक–जनमा सयौँ सलाम !

छत्रकोट गाउँपालिका–४, श्रृङ्गा, गुल्मी,

हालः नयाँबानेश्वर, शङ्खमूल, काठमाडौं– ३१

प्रकाशित : २०७७ वैशाख ८ गते १५:४१
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI