लकडाउनमा हुने घरेलु हिंसाको विरुद्ध आवाज उठाउन बलिउड सेलिब्रेटीको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ९ गते १:२६
लकडाउनमा हुने घरेलु हिंसाको विरुद्ध आवाज उठाउन बलिउड सेलिब्रेटीको आग्रह

एजेन्सी : कोरोना भाइरसको संक्रमणबाट बच्न आह्वान गरिएको लकडाउनका बीच बढिरहेको घरेलु हिंसाविरुद्ध आवाज उठाउन बलिउडका सेलिब्रेटीले आग्रह गरेका छन् । बलिउडका चर्चित अभिनेता तथा अभिनेत्रीदेखि खेलाडीसम्मले पछिल्लो समय लकडाउनमा घरभित्र महिलाहरुले भोगिरहेको हिंसाको विरुद्ध लड्न र प्रहरीमा उजुरी गर्न समेत आग्रह गरेका छन् । हालै सार्वजनिक भएको भिडियोमा विराट कोहली, अनुष्का शर्मा, माधुरी दीक्षित र विद्या बालनजस्ता केही हस्तीहरुले घरेलु हिंसाको विरुद्ध आवाज उठाउन सन्देश दिइरहेका छन् । भिडियोमा उनीहरु सबैलाई अपिल गरिहेका छन् । हिंसा भएको देखे आवाज उठाउन र दुर्व्यवहारको विरुद्ध उजुरी दिन समेत आग्रह गरेका छन् । भिडियोमा भनिएको छ, ‘आउनुस्, हामी घरेलु हिंसामाथि लकडाउन गरौँ । यदि तपाईं घरेलु हिंसाबाट पीडित हुनुहुन्छ भने उजुरी दर्ता गराउनुहोस्  । यो समय चुपचाप लागेर बस्ने समय होइन ।’ यसैगरी, माधुरी दीक्षितले भिडियो शेयर गर्दै लेखेकी छिन्, ‘हामी कोरोनाजस्तो महामारीसँग लडिरहेका छौँ । त्यहीमाथि घरेलु हिंसाको शिकारका घटनाहरु हुनु निकै दुखद हो । यसको विरुद्ध आवाज उठाउनुस् र १०० नम्बर डायल गर्नुहोस् ।’ त्यस्तै, क्रिकेटर रोहित शर्मा, अभिनेता राहुल बोस, फरहान अख्तर र फिल्म निर्माता करण जौहर पनि भिडियोमा सहभागी भएका छन् ।

प्रकाशित : २०७७ वैशाख ९ गते १:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI