No ads found for this position
उदयपुरमा थप ८ जना कोरोना पुष्टि, जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय
NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ९ गते १८:५७
No ads found for this position
No ads found for this position
उदयपुरको भुल्केमा थप ८ जनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएसँगै प्रदेश सरकारले मंगलबारबाट पुरै जिल्लालाई चारैतिरबाट सील गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको बताए। ‘उदयपुर जिल्लाभित्र पूर्ण रुपमा लकडाउन गर्ने र जिल्लाको सबै नाका सिल गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णय गरी सर्वदलीय संयन्त्रको साथ सहयोगमा जिल्लालाई पूर्ण लकडाउन र सिल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छौं।’
स्थानीय प्रशासनले जिल्लाभरी लकडाउन गरिसकेको र जिल्ला पनि सिल गर्ने तयारी गरिररहेको जानकारी आएको मन्त्री कार्कीले बताए। मस्जिदमा बसेका १२ जनामा संक्रमण देखिएसँगै मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएको थियो। कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो। एकजनाको रिपोर्ट आउन बाँकी छ।
थप यकिन गर्न आठजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्दासमेत संक्रमण देखिएको पुष्टि भएको प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ। यससँगै भुल्केमा संक्रमितको संख्या २२ पुगेको छ। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एकजनामा शुक्रबार नै कोरोना संक्रमण पुष्टि भइसकेको छ। विराटनगरका एकजनामा शनिबार संक्रमण भेटिएको थियो। नेपाली सेनाको सहयोगमा मस्जिद भएको बस्ती वरपरका २ सय ५१ जनाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका काठमाडौं लगिएकोमध्ये एकजनामा संक्रमण भेटिएको छ। मन्त्री घिमिरेले अब भुल्केका प्रत्येक व्यक्तिको स्वाब नमूना परीक्षण गर्ने नीति लिएको बताए। ‘कन्ट्याक्ट ट्रेसिङमा नुरी मस्जिदमा आएका अनय मस्जिदका ३५ जना धर्म गुरु बसेका अन्य ६ मस्जिद भएको बस्तिको समेत स्वाब नमूना परीक्षण गर्ने अवस्था आएको छ,’ उनले भने, ‘मस्जिद भएको बस्तीबाट अन्य बस्तीमा कोरोनाको संक्रमण फैलिन नदिन पहिले पूर्णरुपमा लकडाउन र सिल गर्ने नीति लिएका छौं।’ लकडाउन र सीलपछि क्रमिक रुपमा थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षण गर्ने उनको भनाइ थियो। उनले भुल्केमा लकडाउन हुनु एक हप्ता अगाडीदेखि को को कहाँ गएको र को को कहाँबाट आएको तथ्यांक लिने काम भइरहेको बताए। उक्त तथ्यांकका आधारमा स्वाब परीक्षण गरेर संक्रमण फैलिने कारण र व्यक्ति पत्ता लगाउने नीति लिएको घिमिरेको भनाइ थियो।
प्रकाशित : २०७७ वैशाख ९ गते १८:५७
No ads found for this position
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by:
SAROJ BHATTARAI
Facebook Comment