प्रधानमन्त्रीले नेताहरूलाई भने- अध्यादेश फिर्ता लिन्छु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ११ गते १३:०९
प्रधानमन्त्रीले नेताहरूलाई भने- अध्यादेश फिर्ता लिन्छु

पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा विहीबार कार्यबाहक अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीवीच अध्यादेशबारे छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक राख्न र विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई भनेका थिए । यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन सुझाव दिएका छन् ।

दुबै नेताको दबाबपछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने वचन दिएको बालुवाटार स्रोतले अनलाइनखबरलाई बतायो । प्रधानमन्त्रीले कानूनविदहरुसँग परामर्श गर्ने र अध्यादेश फिर्ता लिने बताएको स्रोतको भनाइ छ ।

संविधानको धारा ११४ (२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।

प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने दुई अध्यक्षबीच विकसित घटनाक्रमबारे छलफल भएको जानकारी दिए । प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका प्रचण्ड करीव एक घण्टा छलफलपछि बाहिरिएका थिए ।

स्थायी कमिटीका २० जना सदस्यले पछिल्लो राजनीतिक घटनाक्रमको छलफल गर्न स्थायी कमिटी बैठक माग गरेलगत्तै नेकपा अध्यक्ष ओली र प्रचण्डबीच बिहीबार छलफल भएको हो । बैठक माग गर्ने स्थायी कमिटी सदस्यहरु प्रचण्ड र माधव नेपाल निकट छन् । प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य र मन्त्री रहेका सदस्यहरुले बैठक मागको पत्रमा हस्ताक्षर गरेका छैनन् । स्रोत- अनलाईनखबर डटकम

प्रकाशित : २०७७ वैशाख ११ गते १३:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI