राहतमा गुणस्तरहीन चामल : सप्लायर्सलाई मात्र मुद्दाको तयारी

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ११ गते १४:०२
राहतमा गुणस्तरहीन चामल : सप्लायर्सलाई मात्र मुद्दाको तयारी

नारायण शर्मा/नवलपरासी — रामग्राम नगरपालिकाका विपन्नलाई गुणस्तरहीन चामल राहत दिइएको प्रकरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाले सप्लायर्स राजेश राइस मिलका सञ्चालक पटवारी बानियाँलाई मुद्दा चलाउने भएको छ । अघिल्लो साता २३ सय परिवारलाई वितरण गरिएको खाद्यान्न कमसल रहेको गुनासो आएपछि कार्यालयले छानबिन थालेको थियो ।

नगरपालिकाले लकडाउनमा अप्ठेरोमा परेका विपन्न परिवारलाई राहत दिन परासीस्थित उक्त मिलबाट प्रतिकेजी ४० रुपैयाँका दरले २५० क्विन्टल चामल खरिद गरेको थियो । अनुसन्धानमा वितरित खाद्यान्न कमसल भेटिएपछि कार्यालयले मुद्दा दर्ता गर्न बुधबार सरकारी वकिलको कार्यालयमा बुधवार राय मागेको छ ।

सरकारी वकिलको कार्यालयका सूचना अधिकृत अमृत मरासिनीले कार्यालयकै राय अनुसार सप्लायर्स बानियाँलाई मुद्दा चलाउने निर्णय भएको बताए । कार्यालयले खाद्यान्न खरिद कार्यमा संलग्न नगरपालिकाका कर्मचारीलाई भने छोएको छैन ।

बानियाँविरुद्ध शुक्रबार जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ । अभियोग प्रमाणित भए ५ वर्ष कैद, ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।यही प्रकरणमा बुटवलस्थित गुणस्तर तथा नापतौल कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । ती दुवै कार्यालयले अर्को साता मुद्दा दायर गर्ने जानकारी दिए । अख्तियारले नगरपालिकाबाट भएको खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित : २०७७ वैशाख ११ गते १४:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI