मौसम : प्रिमनसुन र पश्चिमी वायुले बदली, सतर्कता अपनाउन अनुरोध

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ११ गते १४:२१
मौसम : प्रिमनसुन र पश्चिमी वायुले बदली, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहिबार देशभर आंशिक सामान्य बदली रही  धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव कायमै रहेको र प्रिमनसुनी गतिविधि सक्रिय भएकाले  बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ ।

अहिले प्रिमनसुनका साथै पश्चिमी वायुको प्रभाव रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद्को भनाइ रहेको छ । मौसमविद् अर्याललका अनुसार नेपालको पश्चिमी भूभागबाट पश्चिमी वायु विकसित हुने क्रममै रहेकाले देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने छ ।

बिहिबार बिहान केही समय मौसम खुले पनि अपराह्नपछि देशभर बदली भई वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा रहेको पश्चिमी वायु अझै सक्रिय हुने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

हाल देशको पहाडी भूभागमा सामान्य र तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ ।

भोलि देशका मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । यसका साथै भोलि पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 मौसम पूर्वानुमान महाशाखाको पछिल्लौ विवरणअनुसार बिहिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ । बिहिबार सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम १७ दशमलव छ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित : २०७७ वैशाख ११ गते १४:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI