चौध वर्षीय बालकलाई कोरोना पुष्टिपछि सर्लाहीको धनकौल गाउँ सिल गर्ने तयारी

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ११ गते १८:३२
चौध वर्षीय बालकलाई कोरोना पुष्टिपछि सर्लाहीको धनकौल गाउँ सिल गर्ने तयारी

वैशाख ११ । जनकपुरमा परीक्षण गर्दा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नदेखिएका सर्लाही धनकौलका १४ वर्षीय एक बालकको काठमाडौंमा पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छ ।

जिल्लाको दक्षिण–पश्चिम भेगमा पर्ने धनकौल गाउँपालिका–५, का ती बालकलाई वैशाख ५ गते आरडीटी विधिबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यस लगत्तै उनलाई पीसीआर विधिबाट स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइयो । त्यहाँ बालकमा कोरोना संक्रमण नदेखिएपछि घर पठाइयो । लक डाउनको बेला भारतको दिल्लीबाट आएका ती बालकको जनकपुरबाट पनि थप परीक्षण गर्ने भन्दै स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा टेकु पठाइएको थियोे । टेकुमा गरिएको परीक्षणमा बालकमा कोरोना संक्रमण पुष्टि भएको बिहीबार सार्वजनिक गरिएको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले प्रादेशिक अस्पतालले कोरोना नरहेको पुष्टि गर्दै रिपोर्ट निकालेको बालकमा काठमाडौंमा पुनः स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएपछि अचम्मित भएको प्रतिक्रिया दिनुुभयो । जनकपुरमा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि बालकलाई घर पठाइएको थियो । बालकलाई घर पठाएको चार दिनपछि बिहीबार पुनः कोरोना रहेको भन्दै रिपोर्ट आएको हो ।

प्रमुख जिल्ला अधिकारी जिसीले बालक घर फर्किएपछि कतै हिँड्डुल गरेको/नगरेको र धनकौललाई शिल गर्नेबारे तयारी गर्न आफूहरु त्यसतर्फ गइरहेको बताउनुभएको छ । संक्रमित बालक भारतको दिल्लीस्थित एक ब्याग फ्याट्रीमा काम गर्थे । उनी लक डाउनकै बेला रौतहटको गौर हुँदै घर आएको सूचना पाए लगत्तै प्रहरीले हरकठवास्थित क्वारेन्टाइनमा लगेर राखेका थिए ।

प्रकाशित : २०७७ वैशाख ११ गते १८:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI