कोभिड-१९: बेलायतमा ३३ बर्षीय युवती सहित थप ३ नेपालीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १२ गते ७:३८
कोभिड-१९: बेलायतमा ३३ बर्षीय युवती सहित थप ३ नेपालीको मृत्यु

बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेमध्ये ३२ वर्षीय नाछिरिंग राई सबैभन्दा कम उमेरकी नेपाली युवती हुन् ।

उनको बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारको क्रममा कोरोनाका संक्रमणका कारण मृत्यु भएको हो ।

लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित राईलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एकहप्ता अघि अस्पताल भर्ना गरिएको थियो ।

खोटाङ जिल्लाको ऐसेलुखर्क पुर्ख्यौली घर भएकी राई पछील्लो समय धरान १७ मा बस्दै आएकी थिइन् । गतवर्ष मात्र बेलायत आएकी मृतक राई बेलायतको नानिटनमा आफ्ना आमाबाबा र बहिनीका साथमा बस्दै आएकी थिइन् । पूर्व गोर्खा डाकबहादुर राईकी छोरी मृतक राई अविवाहित नै थिइन् ।

कोरोना संक्रमणकै कारण अर्का एकजना नेपालीको पनि मृत्यु भएको छ ।  सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका झापा जिल्लाको खुदुनाबारी निवासी ६५ वर्षीय हंसराज लिग्देलको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको बताइएको छ । मृतक लिंग्देल झापाको जनता माध्यामिक विद्यालय खुदुनावारीका पूर्व प्रधान अध्यापक हुन् ।

तेस्तै बेलायतको व्ह्वाइटसिटीमा बस्दै आएका पूर्व गोर्खा सैनिक एवं साहित्यकार ७२ वर्षीय गोपाल शाहीको पनि बुधबार कोरोनाको संक्रमणबाट मृत्यु  भएको छ । मृतक शाहीलाई गतवर्ष हृदयघात भएको थियो, उनि ढाडको समस्याबाट समेत पीडित थिए । पुर्ख्यौली घर प्युठान भएपनि पछिल्लो समय पछिल्लो समय भैरहवा बस्दै आएका थिए ।

मृतक शाही बेलायतमा हुने साहित्यिक गतिविधिमा समेत संलग्न हुँदै आएका थिए । बेलायतमा उनि श्रीमतीका साथ् बस्दै आएका थिए। बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई दर्जन पुगिसकेको छ । तेस्तै बेलायतमा कोरोनाबाट १८ हजार ७ सय जनाले ज्यान गुमाइसकेका छन् । स्रोत- रातोपाटी

प्रकाशित : २०७७ वैशाख १२ गते ७:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI