नारायणीमा घडियालको अण्डा संकलन सुरु 

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १८ गते १५:४२
नारायणीमा घडियालको अण्डा संकलन सुरु 

नारायण शर्मा/नवलपरासी

चितवन राष्ट्रिय निकुञ्‍जले नारायणी नदीमा घडियाल गोहीका अण्डा संकलन सुरु गरेको छ । नदी किनारमा घडियालले अण्डा पार्छ । निकुञ्‍जका सहायक वार्डेन तथा गोही विशेषज्ञ वेदबहादुर खड्काको टोलीले २ साता अघिदेखि अण्डा टिप्‍न थालेको हो । अण्डा टिप्‍ने काम वैशाख र जेठमा हुन्छ । निकुञ्‍जले ती अन्डा कसारामा रहेको गोही प्रजनन् केन्द्रमा लैजान्छ । बिहीबारसम्म नारायणी र राप्तीमा २ सय ५० वटा अण्डा संकलन गरेर केन्द्रमा ओथारोका लागि राखिएको छ । त्यहाँ ५ सय घडियाल छन् । घडियालले नदी किनारमा अण्डा पारेर बालुवाले छोप्छ र बेलाबेलामा आएर त्यहीँ सुरक्षा दिनका लागि आउँछ । खेर जाने अण्डा मात्रै टिपिने गरेको खड्काले बताए । प्रजनन् केन्द्रमा रहेका गोहीले ओथारो बसेर ७५ दिनदेखि अधिकतम् १ सय दिनमा बच्चा कोरल्ने खड्काले बताए । घडियालका बच्‍चाहरुलाई नारायणी नदीमा लगेर छाडिन्छ ।नदी किनारमा यस पटक २५ देखि ४७ वटा सम्म अण्डा फेला परेको छ । नदी किनारमा अन्य जीवजन्तुवाट जोगाउन र बाढीको जोखिममा घडियालका अण्‍डा पर्ने गरेकाले टिप्‍ने गरिएको हो ।चितवन निकुञ्‍जतर्फ नारायणी नदीको नवलपरासीमा पर्ने बबुअनदेखि दक्षिणको त्रिवेणी धामसम्म घडियालको संख्या धेरै रहेकको संरक्षण अधिकृत खड्काले जानकारी दिए । यो क्षेत्र तुलनात्मक रुपमा शान्त र स्वच्छ वातावरण छ ।

प्रकाशित : २०७७ वैशाख १८ गते १५:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI