लकडाउन उल्लंघन हुन थालेपछि सेना परिचालन

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १९ गते १४:५४
लकडाउन उल्लंघन हुन थालेपछि सेना परिचालन

लहान । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन सिरहामा उल्लंघन हुन थालेपछि शुक्रबार बिहानैदेखि नेपाली सेना परिचालन गरिएको छ ।

 सदरमुकाम सिरहामा नेपाली सेनाको टोलीले ठाउँठाउँमा लकडाउन उल्लंघन गरी सडकमा आवतजावत गर्नेलाई सचेत गराइरहेको छ । सिरहाको चोहर्वास्थित शेर गणबाट खटिएको सेनाले सदरमुकाम सिरहाको मुख्य चोकमा लकडाउन उल्लंघन गर्नेलाई रोकेर सचेत गराइरहेको छ ।

स्थानीय राजेश ठाकुर पार्क, क्याम्पस चोक, हेमनारायण चोक, इमली चोक र महावीर चोकमा मास्क नलगाई अनावश्यक आवतजावतमा देखिएकालाई रोकेर सोधपुछ गर्दै लकडाउन पालना गर्न आग्रह गरेका छन् ।

 त्यस्तै सिरहाको लहानमा पनि शुक्रबार बिहानैदेखि लकडाउनलाई थप कडा पारिएको छ । प्रदेश नं २ मा कोरोना संक्रमितको सङ्ख्या १२ र छिमेकी जिल्ला उदयपुरको भुल्केमा २८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि लहान पनि उच्च जोखिममा रहेको ठहर गर्दै लकडाउनलाई कडा पारेको हो ।

इलाका प्रहरी कार्यालय लहान, सशस्त्र प्रहरी बेस क्याम्प लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले लकडाउन कडा पारेको हो । अत्यावश्यक कामबाहेक बाहिर घुमफिर गरेको फेला परेमा वा पासबाहेकका सवारी साधन सडकमा गुडाएको पाइएमा नेपालको प्रचलित कानूनबमोजिम सजायका साथै दिनभर होल्ड जोनमा राखिने इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणबाट बचाउन नेपाल सरकारले गत चैत ११ गतेदेखि नै देशभर लकडाउन गरेको छ ।

साथै कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको अवस्थामा कोरोना संक्रमित मृतकको सङ्ख्यामा वृद्धि भई भयावह स्थिति सिर्जना भएमा मृत शरीरको व्यवस्थापन कसरी गर्ने भन्ने उद्देश्यका साथ नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरअन्तर्गत सिरहाको चोहर्वास्थित शेर गण ब्यारेक हाताभित्र कोरोना भाइरस संक्रमित मृत शरीर व्यवस्थापनको पूर्वाभ्यास गरेको छ ।

 उक्त ‘डेमोष्ट्रेसन’ कार्यक्रममा सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागार्इं, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियो । डेमोष्ट्रेसन कार्यक्रम विशेषतः प्याटेन्ट रिसिभर टिम (पिआरटी)ले शङ्कास्पद संक्रमित भेट्दा गरिने कारवाही, कोरोना संक्रमित मृत शरीरको व्यवस्थापन गर्ने तरिका र एम्बुलेन्स तथा सवारी साधनलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा केन्द्रीत रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागार्इंले जानकारी दिए ।

प्रकाशित : २०७७ वैशाख १९ गते १४:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI