नेकपाको सचिवालय बैठक बस्दै

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २० गते १०:४८
नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं।  सत्तारुढ दल नेपाल कम्युनिष्‍ट पार्टीको सचिवालय बैठक आज पुनः बस्दैछ। आजको बैठक निर्णायक हुने नेकपाका नेताहरू बताउँछन्। सरकारले दुईवटा अध्यादेश ल्याएपछि चर्किएको विवाद समाधान गर्न नेताहरू केही दिनदेखि छुट्टाछुट्टै छलफलमा केन्द्रित छन्। १७वैशाख साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विवादका विषयमा छलफल गरे पनि थप छलफल गर्न आज बैठक पुनः बस्‍ने सहमति भएको थियो।

निर्णायक छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे सचिवालयको बैठक बोलाइएको छ।  नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्‍ठले अपराह्न प्रधानमन्त्री निवासमा सचिवालयको बैठक बस्‍न लागेको जानकारी दिए। “पार्टीभित्र देखिएको विवाद समाधान र अन्य विषयमा नै आजको बैठक केन्द्रित हुनेछ,” प्रवक्ता श्रेष्‍ठले भने।

आजको बैठकको पूर्वसन्ध्यामा नेताहरूले आन्तरिक छलफल गरेका छन्। हिजो नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्‍पकमल दाहालसँग छलफल गरेका थिए। दाहाल र नेपालबीच नेपाल निवास कोटेश्वरमा पनि छलफल भएको छ।

१७ वैशाखको बैठकमा दाहाल-नेपाल समूहले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन अघि सारेको सर्तका बारेमै हिजोको बैठकमा पनि छलफल भएको छ। नेताहरूले आफ्नो पक्षमा बहुमत बनाउन हस्ताक्षर अभियान गर्नेदेखि लिएर नेताहरूलाई मनाउने प्रयास गरिरहेका छन्।

प्रधानमन्त्रीलाई राजीनामा दिन दबाब तीव्र बनेपछि १७ वैशाखको बैठकमा राजीनामा दिनु नै पर्ने भएपछि नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन अघि सारेको प्रस्तावले पनि नेकपाभित्र हलचल ल्याएको छ। दाहाल-नेपाल समूहले प्रधानमन्त्रीले पार्टीभित्र देखिएको विवादलाई मत्थर पार्न अघि सारेको प्रस्तावका रूपमा बुझेका छन्। उता नेता गौतमले प्रधानमन्त्रीले अघि सारेको प्रस्तावपछि आफ्नो भूमिकाका बारेमा परामर्शसमेत गरिरहेको नेताहरू बताउँछन्।

दाहाल-नेपाल समूहले आजको बैठकबाट स्थायी समितिको बैठकको मिति तय गर्नुपर्ने तीव्र दबाब दिइरहेको छ। नेकपाभित्रै अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको राजीनामा उचित नहुने भन्दै सहमति र सहकार्यकै माध्यमबाट अघि बढ्न नेताहरूलाई दबाब छ।

पूर्वमाओवादी खेमाका अधिकांश नेताले पनि अहिले कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका बेला सरकार फेर्न हस्ताक्षर अभियान नै सञ्‍चालन गर्नु उपयुक्त नहुने भन्दै दाहाललाई दबाब दिइरहेका छन्।

प्रकाशित : २०७७ वैशाख २० गते १०:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI