शान्त लुम्बिनी – आर्थिक गतिविधि ठप्प

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २५ गते १६:२३
शान्त लुम्बिनी – आर्थिक गतिविधि ठप्प

भैरहवा, वैशाख २५ गते । हरेक वर्षको बुद्ध जयन्तीमा लुम्बिनीमा पर्यटकहरुको बाक्लो चहलपहल हुन्थ्यो । आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुने लुम्बिनी यस वर्षको बुद्धजयन्तीमा भने सुनसान रह्यो । कोरोना भाइरसको महामारीका कारण सरकारले लकडाउन घोषणा गरेकाले २५६४ औं बुद्ध जयन्तीमा लुम्बिनी सुनसान बनेको हो ।
हरेक वर्षको बुद्धजयन्तीका दिन राष्ट्रपति, प्रधानमन्त्री लगायत स्वदेश र विदेशबाट विशिष्ट पाहुनाहरुको आगमन हन्थ्यो भने बुद्ध जन्मस्थल लुम्बिनीमा मायादेवी मन्दिरको दर्शन, पूजापाठ र प्रार्थना लगायतका औपचारिक कार्यक्रम हुने गर्थे । तर यसवर्ष भने लुम्बिनीमा कुनै औपचारिक कार्यक्रम गरिएन । लुम्बिनी विकास कोषका अनुसार मायादेवी मन्दिर बनेयता लुम्बिनी सुनसान भएको यो पहिलोपटक हो ।हरेक वर्ष वैशाख शुक्ल पूर्णमाका दिन आयोजना गर्ने बुद्ध जयन्ती मूल समारोह र यसवर्ष आयोजित तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समेत कोषले बैशाख १९ गते सूचना प्रकाशित गरी स्थगीत गरेको थियो ।
लुम्बिनीका होटलहरुले बुद्ध जयन्तीमा राम्रो आम्दानी गर्थे । तर यसपटक होटल क्षेत्र पूर्णरुपमा सुनसान रहेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले बताउनुभयो । “लुम्बिनीका होटलहरु बुद्धजयन्तीमा भरिभराउ हुन्थे, तर यसपटकको सुनसानले होटलहरु संकटमा परे”–उहाँले भन्नुभयो । लुम्बिनी क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद फकरुद्धिन खानले आफूले पहिलोपटक लुम्बिनी सुनसान बनेको बताउनुभयो । “पर्यटकविहीन बुद्धजयन्ती र सुनसान लुम्बिनी यसअघि कहिल्यै भएको थिएन”–उहाँले भन्नुभयो । कोषका कामु सदस्यसचिव ज्ञानिन राइका अनुसार चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेपछि नै लुम्बिानी सुनसान बनेको हो । बुद्ध जयन्तीमा मात्रै स्वदेशी र विदेशी गरी कम्तीमा दशहजार मानिस लुम्बिनी भ्रमणमा आउने गरेको कोषको तथ्यांक छ । बुद्धजयन्तीमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करनी कुण्ड, विश्व शान्ति दीप, केन्द्रीय नहर, शान्ति स्तुपा, सेन्टर क्यानल, ग्रेट लाटर स्तुपा मात्र होइन, यहाँ रहेका विभिन्न बिहारहरु पनि पूर्णरुपमा खाली रहे ।
बुद्धजयन्ती मनाउन सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा एक समिति बनाई एक करोड बजेट समेत बिनियोजन गरी तयारी अघि बढाएको थियो । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले गौतमबुद्धले सोंचेको शान्त भूमि अहिले लकडाउनको समयमा शान्त भएको बताउनुभयो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले लुम्बिनीमा ठूला ध्यान गराएर ध्यानको महत्व दर्शाउने गरी कोरोनाको महामारी सकिएपछि कार्यक्रम गर्ने योजना बनाएको बताउनुभयो । कोषका अनुसार सन २०१९ को जनवरीदेखि डिसेम्बरसम्म यहाँ १५ लाख ५८ हजार पर्यटक भित्रिएका थिए । यो पर्यटक आउने मौसम पनि हो । तर गत चैत ११ गतेदेखिको लकडाउनपछि सबै होटल बन्द छन् । होटलमा काम गर्ने श्रमिकहरु बिदामा छन् । लकडाउन खुलेपनि तत्काल होटलको अवस्था माथि उठ्न सक्ने देखिंदैन । लुम्बिनीमा एकसय २० होटल, ३० ट्राभल एजेन्सी, एकसय ६० रिक्सा र एकसय १० हेन्डिक्राफ्टका पसलहरु लकडाउनका कारण प्रभावित छन् ।

प्रकाशित : २०७७ वैशाख २५ गते १६:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI