कोरोना संक्रमित ८ जना शुक्रबार डिस्चार्ज हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २५ गते १९:०४

मोरङ — विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा बस्दै आएका उदयपुरको भुल्केका थप ८ जना संक्रमित कोरोना भाइरस मुक्त भएका छन् । उनीहरुको सोमबारदेखि लगातार तीन पटक गरेको स्वाब परीक्षण रिपोर्टमा बिहीबार नेगेटिभ देखिएको हो । उनीहरुलाई शुक्रबार डिस्चार्ज गर्ने प्रदेश सरकारले तयारी गरेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले भुल्केका १५ जनाको स्वाब परीक्षण गरिएको मध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको बताए । उनले बाँकी ७ जनाको रिपोर्ट पोजिटिभ नै आएको सुनाए । नेगिटिभ रिपोर्ट आउनेमा १ भारतीय, विराटनगर १७ का २ र १ महिला सहित ५ जना भुल्केका छन् । उनीहरुमा वैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो । कोशी अस्पतालका चिकित्सक डा. दीपक सिग्देलले उपचार केन्द्रमा आएदेखि हालसम्म कसैलाई पनि कुनै किसिमको उपचार नगरिएको बताए । ‘कोरोना भाइरसको संक्रमण देखिएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘उपचार केन्द्रमा बसेका ३१ जनामै कुनै किसिमको कोरोना भाइरसको लक्षण देखिएको छैन ।’ यसअघि प्रदेश १ मा सबभन्दा पहिले संक्रमण पुष्टि भएका १३ जनामध्ये ६ जना स्वस्थ्य भएर बुधबार डिस्चार्ज भएका छन् । उनीहरुलाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टाइनमा राखिएको छ । लगातार ३ पटकसम्म स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आउनेको संख्या १३ पुगेको छ । रिपोर्ट पोजिटिभ आउनेहरुको ५ दिनपछि पूनः स्वाब परीक्षण गरिने सिग्देलको भनाइ छ । उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीय र ४ विराटनगरबासीमध्ये १ विराटनगरबासी सहित १२ जनामा बैसाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यही दिन उनीहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा ल्याएर राखिएको थियो । त्यसपछि भुल्केका थप १६ जना गरी कूल २८ जना संक्रमित भई उपचार केन्द्रमा भर्ना गरिएको थियो । भोजपुरको हतुवागढीको १ र झापाको बाह्रदशी र दमकको २ जना गरी अहिले कूल २५ जना उपचार केन्द्रमा भर्ना छन् ।

प्रकाशित : २०७७ वैशाख २५ गते १९:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI