कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओलाई सघाउँछौं : चीन

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २६ गते १२:४९
कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओलाई सघाउँछौं : चीन

एजेन्सी  — कोरोना भाइरस(कोभिड–१९) को उत्पत्तिबारे विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले गर्ने अनुसन्धानमा चीनले सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । चीनले कोरोना भाइरसको उत्पत्तिबारे गरिने वैज्ञानिक अनुसन्धानमा डब्लूएचओलाई पूर्ण साथ र सहयोग गर्ने बताएको छ । तर यसलाई राजनीतिकरण गर्न नहुने कुरा पनि चीनले दोहोऱ्याएको छ । अमेरिकाले कोरोना भाइरसको उत्पत्तिबारे चीनले पारदर्शी ढंगले सूचना नदिएको आरोप लगाउँदै आएको छ । तर चीनले अमेरिकी आरोपको लगातार खण्डन गर्दै आएको छ । चिनियाँ विदेश मन्त्रालयका एक जना प्रवक्ताले त कोरोना भाइरसको उत्पत्ति चीनबाहिर भएको समेत दाबी गरेका थिए । अमेरिकाले एउटा झुट लुकाउन अर्को झुट बोलेको उनको आरोप थियो । बुधबार डब्लूएचओकी संक्रामक रोग विशेषज्ञ डाक्टर मारिया भान केर्खोवले कोरोना भाइरस संक्रमण कुन जनावरबाट सुरु भयो भन्नेबारेमा अनुसन्धान गर्न चीनसँग कुरा भइरहेको बताएकी थिइन् । बिहीबार बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले अमेरिकाले गैरजिम्मेवार र झुटो आरोप लगाएको उल्लेख गर्दैै भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओलाई ‘उपयुक्त समय’ मा सहयोग गर्न चीन सहमत भएको बताइन् । उनले अमेरिकाले यसलाई राजनीतिकरण गर्दै अनुसन्धान गर्न अन्तर्राष्ट्रिय दबाब दिइरहेको पनि आरोप लगाइन्  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको प्रयोगशालामा तयार भएको हुन सक्ने भन्दै यसको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउँदै आएका छन् । साथै उनले यो महामारी अमेरिकाका लागि पर्ल हार्बरमा गरिएको आक्रमणभन्दा पनि ठूलो भएको बताएका छन् । चीनले चाहेको भए महामारी चीनमै मात्र सीमित हुने पनि उनले दाबी गरेका छन् । तर अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप अमेरिकाका गुप्तचर निकायले नै खण्डन हुने गरी बयान दिएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुका अनुसार कोरोना भाइरस प्रयोगशालामा तयार पारिएको हो भन्ने कुनै प्रमाण फेला परेको छैन । गत वर्षको डिसेम्बर महिनामा वुहानको सि फुड मार्केटबाट फैलिएको कोरोना भाइरसका कारण २ लाख ६९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ३८ लाखभन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म गरिएको खोज अनुसन्धानबाट चमेरोबाट कुनै समु्द्री जीव हुँदै मानिसमा कोरोना संक्रमण भएको मानिएको छ ।

प्रकाशित : २०७७ वैशाख २६ गते १२:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI