यौन उत्तेजना र नग्नता  

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २८ गते २३:१६
यौन उत्तेजना र नग्नता  

नग्नता

नग्नता अर्थात् न्युडिटी (nudity) को अर्थ शरीरमा कुनै वस्त्र वा लुगा नलगाउनु हो । कतिपय सांस्कृतिक परिवेशमा कम लुगा लगाउनु वा शरीरको कुनै भाग देखाउनुलाई पनि नग्नता भनिन्छ । त्यसैले परिभाषा तथा बुझाइमा निकै विविधता रहेको पाइन्छ । नग्न हुनु आफ्नै इच्छाले गर्छ र यसो गर्दा उसमा लाजको भाव हुँदैन ।

नाङ्गो (naked) हुनु वा नाङ्गोपन भने व्यक्ति आफैंले नचाहेको अवस्थामा हुने गर्छ । नाङ्गोपन व्यक्तिले नचाहेर पनि शरीरमा वस्त्र वा लुगा नभएको वा कुनै अङ्ग देखिएको स्थिति हो । यस्तो स्थितिमा व्यक्तिलाई निकै लाजको अनुभूति हुन्छ । कुनै व्यक्तिको वस्त्र वा लुगा उसले नचाहँदा–नचाहँदै पनि दबाब दिएर वा जबरजस्ती फुकाल्न लगाइनु वा फुकालिदिनु नङ्ग्याउनु (stripped, स्ट्रिप्ड) अर्थात वस्त्र हरणको स्थिति हो । महाभारतको द्रौपदीको वस्त्रहरणको कुरा तपाईंले सुन्नुभएकै हुनुपर्छ ।

तपाईंले पक्कै पनि अनुभव गर्नुभएकै होला, पुरुष तथा महिलामा नग्नताको मापदण्ड फरक–फरक हुने गर्छ । अहिले नग्नतावाद (Nudism) को अभियान पनि पश्चिमा मुलुकमा चलेको छ ।

यौन उत्तेजना र नग्नता 
पहिरन लगाउनु वा नग्न रहनु वा अर्धनग्न हुनु कुनै पनि व्यक्तिको यौनिकता प्रदर्शित गर्ने तरिकाका रूपमा विकसित भएको छ । यौन उत्तेजनासँग यो गहिरोसँग जोडिएको छ । यौन उत्तेजित हुन मिल्ने स्थान वा परिस्थितिमा नग्नता सहज रूपमा स्वीकार गरिन्छ भने अन्य स्थान वा परिस्थितिमा यसो नहोस् भनेर सक्दो विचार गरिन्छ र शरीरका अङ्गहरूलाई छोप्ने वा लुकाउने गरिन्छ ।

यौनिक पक्षलाई व्यापारिक प्रयोजनका लागि नग्नताको प्रचुर मात्रामा प्रयोग भएको देखिन्छ । चलचित्र वा छापामा नग्न वा अर्धनग्न तस्बिर राखिनुको मुख्य उद्देश्य यही हुने गर्छ । केही परिस्थितिमा अनावश्यक रूपमा नग्नताको विरोध गरिएका जस्ता लेखहरूको उद्देश्य पनि त्यही हुन्छ भन्दा अतिशयोक्ति नहोला । मानव मनमा यौनेच्छा एकदम स्वाभाविक हो

। यही यौनेच्छासँग यौन उत्तेजना गाँसिएर आउने गर्छ । यी आधारभूत कुरा भएको मस्तिष्कमा यसलाई सञ्चालन गर्ने प्राचीन मस्तिष्कको भागले गर्छ । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम (endocrine system) अन्तर्गतका रागरसहरूले सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायु प्रणालीले । यौनेच्छाका सन्दर्भमा हाम्रा इन्द्रियहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । हाम्रो शरीरका पाँच इन्द्रियहरू दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो ।

तपार्इंलाई थाहै भएको कुरा हो, दृष्टि एक महत्त्वपूर्ण पक्ष हो । हामी विशेषत: यौन आकर्षक कुरा देख्नासाथ यौन उत्तेजित हुने गर्छौं । सामान्यतया पुरुषका लागि महिलाको नग्न शरीर र त्यसमा पनि यौनाङ्ग, स्तन, नितम्ब, कटी प्रदेश, तिघ्राजस्ता कतिपय अङ्ग बढी यौन उत्तेजक लाग्ने गर्छन् । यो स्वाभाविक कुरा हो । तपाईंले नग्न मानिस शब्दको प्रयोग गर्नुभएको छ र तपाईंको यौन उत्तेजना, विपरीत लिङ्गी हुनुहुन्छ भने फरक लिङ्ग भएको र समलिङ्गी हुनुहुन्छ भने आफूजस्तै लिङ्ग भएको व्यक्तिको नग्न शरीरले उत्तेजित बनाउँछ ।

तपाईंले पक्कै अनुभव गर्नुभएको होला कि पहिले देखेको दृश्यको परिकल्पनाले मात्रै पनि तपाईंलाई उत्तेजित बनाउन सक्छ । तपाईंले विचार गर्नुभयो भने कतिपय पत्रपत्रिकामा कामोत्तेजक चित्र, चलचित्रमा दृश्य हुने मूल कारण नै प्राय: सबैजसोले नग्न शरीर हेर्दा आनन्द प्राप्त गर्छन् । अहिले यौन चलचित्रका कुरा गर्दा नग्नता मात्रै होइन, नग्न शरीरका साथसाथै यौन क्रियाकलाको चित्रण नै गरिएको हुन्छ ।

 तपाईंको समस्या र समाधान

तपाईंको समस्या के हो, राम्ररी स्पष्ट छैन । जे होस्, यसरी नग्न शरीर देख्दा यौन उत्तेजित हुनु स्वाभाविक हो । त्यसैले शारीरिक रूपमा कुनै पनि प्रकारले बाधाजनक हुँदैन । तर, तपाईंलाई प्रत्येकजस्तो समाजले कतिसम्मको नग्नतालाई स्विकार्ने भन्ने सामाजिक मान्यता बनाएको हुन्छ र त्यसैसँग पहिरनको पनि विकास हुनुमा महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ । कुनै व्यक्ति नग्न हुने स्थितिमा कसरी गोपनीयता कायम गर्ने र अनि अन्यले हेर्न वर्जित गरिनेदेखि लिएर नग्न शरीर अन्य व्यक्तिलाई देखाउन नहुनेसम्बन्धी विस्तृत सामाजिक नियम बनेका हुन्छन् । यसरी सामाजिक मूल्य–मान्यताभित्र रहँदा सामाजिक तथा मानसिक रूपमा पनि कुनै हानि–नोक्सानी गर्दैन । त्यसैगरी कुनै व्यक्तिले यौन उत्तेजना भएको कुरालाई प्रदर्शित गर्नुलाई पनि सामाजिक नियमभित्र बाँधेको छ । त्यसैभित्र रहनुभयो भने हानि हुने कुरै भएन ।

प्रकाशित : २०७७ वैशाख २८ गते २३:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI