दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ मा

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २९ गते १०:२४
दिवेश अमेरिकन आइडलको उत्कृष्ट ७ मा

विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल अगाडि बढ्नुभएको छ । आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट सातभित्र पर्न सफल हुनुभएको छ ।

उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गर्नुभएको हो । दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाउनुभएको थियो ।

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ । विश्वकै निकै चर्चित रियालिटी सोका रूपमा रहेकाे साे कार्यक्रममा श्राेताकाे भोटबाट उहाँ टप सेभेनमा पुग्न सक्नुभएको हो । दिवेशको दमदार प्रस्तुतिबाट जजहरु निकै प्रभावित हुने गरेको र उहाँलाई अहिले अमेरिकन आइडलको दरो प्रतिश्पर्धीका रुपमा पनि हेरिने गरिएको छ । यो चरणमा पनि छनाेट हुन सफल भए उहाँ टप पाइभ अर्थात  फाइनलमा पुग्नु हुने छ । फाइनल प्रतिश्पर्धा यही मे १७ मा हुने छ ।

उहाँको प्रस्तुतिमा भोटिङका लागि अमेरिकी आइडलको वेभसाइटमा गएर वा एप मार्फत  गर्न सकिने छ । यो सुविधा अमेरिकामा बस्नेका लागि मात्र भएको हो तर नेपालबाट भोट गर्न चाहेमा भिपिएन डाउनलोड गरी गर्न सकिने छ ।

प्रकाशित : २०७७ वैशाख २९ गते १०:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI