विदेशमा अलपत्रको उद्धारको माग गर्दै गगन थापाद्वारा जरुरी महत्वको प्रस्ताव पेस

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २९ गते १६:०६
विदेशमा अलपत्रको उद्धारको माग गर्दै गगन थापाद्वारा जरुरी महत्वको प्रस्ताव पेस

काठमाडौं, २९ बैशाख । कोरोना भाइरस महामारीका कारण विदेशमा अलपत्र र अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल फर्काउन पहल गर्नुपर्ने माग गर्दै व्यवस्थापिका संसदमा जरुरी महत्वको प्रस्ताव पेस भएको छ । कोरोनाबाट प्रभावित विभिन्न देशमा समस्यामा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न माग गर्दै नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सो प्रस्ताव प्रतिनिधिसभामा पेस गरेका हुन् । प्रस्तावको समर्थकमा डिला संग्रौला र प्रकाश रसाइली छन् । कोरोनाको संक्रमणका कारण विदेशमा रहेका नेपालीहरु अलपत्र परेको र उनीहरुलाई तत्काल नेपाल फर्काउन ढिलाइ गर्न नहुने भन्दै जरुरी महत्वको प्रस्ताव संसदमा दर्ता गराइएको हो । जरुरी प्रस्तावमा छलफल गर्नुपर्ने विषय २ वटा राखिएको छ भने ८ वटा तत्काल गर्नुपर्ने काम रहेको उल्लेख गरिएको छ । जसमा विदेशमा रहेका नेपालीहरुको वास्तविक तथ्य तथ्यांक संकलन गर्नुपर्ने, जोखिमको अवस्था हेरी वर्गीकरण गरी उद्धार, राहत र स्वदेश फिर्ता योजना र कार्यक्रम ल्याउन माग गरिएको छ । यस्तै आकस्मिक संयन्त्र र प्रणालीको निर्माण गर्नुपर्नेदेखि भारतमा अलपत्र परेका र नेपाल आउन चाहानेहरुलाई सरकारले उचित पहल गर्नुपर्ने सुझाब दिइएको छ । विदेशबाट आएकाहरुका लागि परीक्षणसम्बन्धी व्यवस्था मिलाउन माग गर्दै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ । विदेशमा रहेका नेपालीहरु आफै खर्च गरेर आउन चाहानेको सन्दर्भमा विकल्प खुला गरिदिनुपर्ने थापाले पेश गरेको जरुरी महत्वको प्रस्तावमा जनाइएको छ ।

प्रकाशित : २०७७ वैशाख २९ गते १६:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI