राहतको चामलमा ठगी गर्ने मिल सञ्चालकमाथि ३ मुद्दा

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २९ गते १७:०३
राहतको चामलमा ठगी गर्ने मिल सञ्चालकमाथि ३ मुद्दा

नारायण शर्मा/नवलपरासी — रामग्राम नगरपालिकामा वितरण गरिएको चामलको तौलमा ठगी गरेको भन्दै राजेश राइस मिलका सञ्चालक पटवारी बानियाँलाई गुणस्तर तथा नापतौल कार्यालय -बुटवलले जिल्ला अदालत परासीमा मुद्दा दायर गरेको छ ।  बानियाँले हरेक १५ किलोको प्याकेटमा (राहत चामलका प्याकेट) ३ सय ७० ग्राम कम तौल राखेको कार्यालयले जनाएको छ । त्यस्तै बानियाँले अनुमतिपत्र नलिई विद्युतीय तराजु प्रयोग गरेको अभियोग पनि लगाइएको छ । जिल्ला अदालत परासीका वकिल भीमप्रसाद भुर्तेलका अनुसार कसुर ठहरभए अधिकतम एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । रामग्राम नगरपालिकाले कोभिड-१९ बाट प्रभावित नगरपालिकाका २३ सय परिवारलाई २ सय ५० क्‍विन्टल खाद्यान्‍न बानियाँको मिलबाट खरिद गरेर वितरण गरेको थियो । ४० रुपैयाँ प्रतिकिलोमा खरिद गरिएको चामलको तौलमा ठगी गरेको गुनासोपछि नापतौल कार्यालयले अनुसन्धान थालेको थियो । बानियाँले भने नगरपालिकाका कर्मचारीले हेरेर सदर गरेको चामल नै सप्लाई गरेको बताएका छन् । यसअघि गुण तथा खाद्य नियन्त्रण कार्यालय भैरहवाले पनि उनीविरुद्ध निम्‍न गुणस्तरको खाद्यान्‍न सप्लाई गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । बानियाँ ५० हजार धरौटीमा रिहा भएका थिए । अनुमतिबिना मिल सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पश्चिमनवलपरासी ले समेत उनीसँग १० हजार धरौटी लिएको थियो । एउटै कसुर (निम्न गुणस्तर, तौलमा ठगी र अनुमतिबिना तराजु सञ्चालन) मा बानियाँविरुद्ध ३ फरक-फरक कार्यालयले ३ वटा मुद्दा दायर गरेका हुन् ।

प्रकाशित : २०७७ वैशाख २९ गते १७:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI