भारतले निर्वाध प्रवेश दिदां नवलपरासीमा कोरोना संक्रमण जोखिम बढयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २९ गते २१:५१
भारतले निर्वाध प्रवेश दिदां नवलपरासीमा कोरोना संक्रमण जोखिम बढयो

हरि शर्मा/परासी, २९ बैशाख
भारतीय सुरक्षाकर्मीले बिना रोकतोक नेपालीलाई पठाउँदा पश्चिम नवलपरासीमा कोरोना जोखिम बढेको छ । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने दुई देशका नागरिकलाई जहाँको त्यही राख्ने सहमति भएपनि सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई निर्वाध पठाउने गरेको पाइएको छ । त्यसरी नेपाल आउने केही नेपालीहरु भारतीय सुरक्षाकर्मीकै मिलमतोमा ठगिन पुगेको गुनासो छ ।

 जिल्लाको महेशपुर, गेर्मी, भूजहवा, झोलनीपुर, बलिनगर, लक्ष्मीपुर, विस्नुपुरालगायतका नाका र लुकीछिपी घर आउनेको संख्या बढ्दो छ । संख्या बढ्दै गए अबको एक साताभित्र भारतबाट जिल्ला भित्रिनेको संख्या करिब ४ हजारको हाराहारीमा पुग्ने स्थानीय तहका प्रमुखहरुको अनुमान छ । दिनप्रतिदिन संख्या बढ्न थालेपछि स्थानीय तहहरुलाई उनीहरुको व्यवस्थापन गर्न समेत समस्या भएको छ ।

 भारतीय सुरक्षाकर्मीले धमाधम नेपाल पठाउन थालेपछि हप्ता दिनको अवधिमा क्वारेन्टाइनमा बस्नेको संख्या दोब्बरले वृद्धि भएर २ सय १९ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए ।

२८ कि.मि. सीमा क्षेत्रमा फैलिएको यो जिल्ला भारतको बिहार र उत्तर प्रदेशसँग   जोडिएको छ । सोमबार दिउँसोसम्म जिल्लाको सीमा क्षेत्रको दसगजा क्षेत्रमा करिब १ सय बढीको संख्यामा नेपालीहरु आएर बसेको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।

आइतबारदेखि आएका उनीहरुलाई सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीहरुले आउन नदिएपछि दसगजामै अलपत्र छन् । केही मजदुर बालबच्चासहित छन् । अलपत्र परेकाहरुलाई गाँसबासको समेत समस्या भएको छ ।   नेपालबाट भारत जान खोज्ने र भारतबाट नेपाल आउन खोज्नेलाई त्यहीको सरकारले व्यवस्थापन गर्ने सहमति भएपनि भारतीय सुरक्षाकर्मीले बिना रोकतोक पठाउँदा नेपालमा राख्न नीतिगित समस्या भएको प्रजिअ दाहालले बताए ।

भारत सरकारले मजदुरका लागि ट्रेन (रेल) सञ्चालन गरेको छ । त्यहाँबाट नेपाली सीमासम्म डिपो गाडी (सरकारी बस) सञ्चालन गरेको छ । त्यसले गर्दा नेपालीहरु धमाधम घर फर्कन थालेका हुन् ।

प्रकाशित : २०७७ वैशाख २९ गते २१:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI