कोरोनाबारे अफवाह र गलत सूचनाबाट कसरी बच्ने ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ३० गते १२:४८
कोरोनाबारे अफवाह र गलत सूचनाबाट कसरी बच्ने ?

कोरोना भाइरस (कोभिड–१९)को प्रभावभन्दा गलत सूचना, समाचार र जानकारीले मानिसलाई बढी त्रसित पारेको छ । फेसबुक, म्यासेन्जर, ह्वाट्स एप, टिवट्रजस्ता सामाजिक सञ्जालमा लिंक वा भ्वाइस म्यासेजका रूपमा झुटा र गलत समाचार आउँछन् । यस्ता सामग्री भाइरल हुने खतरा हुन्छ । यद्यपि, यी गलत समाचार र जानकारीलाई भाइरल हुनबाट जोगाउन भने सकिन्छ । यसका लागि यस्ता उपाय अपनाउन सकिन्छ :

आधिकारिक तथा विश्वसनीय स्रोतबाट आएको समाचार, सूचना र जानकारी मात्र पछ्याउनुपर्छ । ती सामग्री सरकारका अंग, राष्ट्रिय दैनिक पत्रिका, टेलिभिजन, रेडियो तथा विश्वासिला अनलाइन पोर्टलबाट आएका हुन्, होइनन् ‘कन्फर्म’ गर्नुपर्छ ।

– सबैभन्दा पहिले म्यासेज वा जानकारी आवश्यक छन् छैनन्, यिनीहरूले कत्तिको महत्व राख्छन्, सोचविचार गर्नुपर्छ । अनावश्यक रूपमा अफवाह फैलनलाई निरुत्साहित वा रोक लगाउन सक्नुपर्छ ।

– समाचार तथा जानकारी आधिकारिक र विश्वसनीय स्रोतबाट आएको हो वा होइन हेक्का राख्नुपर्छ । विशेषगरी, सरकारका अंग, राष्ट्रिय दैनिक पत्रिका, टेलिभिजन, रेडियो र विश्वासिला अनलाइन पोर्टलबाट आएका हुन् वा होइनन् ‘कन्फर्म’ गर्नुपर्छ ।

– सूचना र जानकारीबारे ‘कन्फर्म’ नभएसम्म सामाजिक सञ्जाल तथा साथीभाइमा सेयर गर्नुहुँदैन । हाम्रो थोरै बेवास्ताले अफवाह र त्रास फैलाउन चाहनेलाई सजिलो हुन्छ । 

– राहत वितरण गर्नु कतिपयका लागि मानवता र सहयोगभन्दा पनि समाजमा वाहवाही कमाउन र भाइरल हुने लालसाले हुन सक्छ । यस्ता व्यक्ति तथा समाचारलाई निषेध गर्नुपर्छ ।

 – भाइरल हुने होडमा मानिसहरू भावुक पोस्ट र भिडियो राख्ने गर्छन् । यसका लागि युट्युब हाल सबैभन्दा दूषित क्षेत्र बनेको छ । यसकारण, के–कस्तो जानकारी तथा भिडियो हेरिँदै छ, त्यसमा पनि ध्यान दिनुपर्छ । 

– कतिपय जानकारी तपाईंलाई सही हो भन्ने लाग्न सक्छ वा तपाईंको विचारसँग मिल्ने हुन सक्छ, तर नपाल्नुहोस् । त्यो गलत पनि हुन सक्छ । यसकारण, एकपक्षीय तथा आफ्नो वा कसैको विचार सम्प्रेषण हुने खालका जानकारीलाई बढावा नदिनु नै बेस हुन्छ । 

प्रकाशित : २०७७ वैशाख ३० गते १२:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI