कोरोना संक्रमितको उपचार गर्न पृथ्वीचन्द्र अस्पतालनै खाली गराईयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १ गते २३:४५
कोरोना संक्रमितको उपचार गर्न पृथ्वीचन्द्र अस्पतालनै खाली गराईयो

परासी । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–५ बड्की बैदौलीका ३६ वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भए पछि संक्रमितलाई राख्न परासी सदरमुकामस्थित पृथ्वीचन्द्र अस्पताल नै खाली गराइएको छ ।

अस्पतालमा भर्ना भएका बिरामीहरु संक्रमित हुन सक्ने भएकाले सबैलाई घर पठाएर उनलाई अस्पतालमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए ।

संक्रमित राख्न थालेपछि जिल्ला अस्पतालले यसअघि सञ्चालन गर्दै आएको ओपडी सेवासहित सामान्य सेवाहरु बन्द गरेको छ । बिहीबारदेखि इमर्जेन्सी, ज्वरो क्लिनिक र प्रसूति सेवाबाहेक सबै सेवा बन्द गरिएको होदाले बताए ।

भारतबाट जिल्ला भित्रिने नेपालीको संख्या बढ्दै गएकाले अस्पताललाई नै आइसोलेसन केन्द्र बनाउने तयारी गरिएको छ । अस्पतालमा १० बेडको आइसोलेसन कक्ष बनाइएको छ । बुटवल र भैरहवामा रहेका कोरोना उपचार केन्द्रमा ठाउँ अभाव रहेकाले जिल्ला अस्पताललाई नै आइसोलेसन केन्द्र बनाउने बारे छलफल भइरहेको डा. होदाले बताए ।

प्रकाशित : २०७७ जेठ १ गते २३:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI