गण्डकी सरकारलाई काङ्ग्रेसको २२ बुँदे सुझाव : रोजगारी सिर्जना गर्ने बजेट ल्याउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ६ गते १२:३३
गण्डकी सरकारलाई काङ्ग्रेसको २२ बुँदे सुझाव : रोजगारी सिर्जना गर्ने बजेट ल्याउ

पोखरा । नेपाली कांग्रेस संसदीय दल गण्डकीले कोरोना महामारीका कारण धेरैको रोजगारी गुमेको अवस्थामा नयाँ रोजगारी सिर्जना हुने कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।कोरोना संकटका कारण गण्डकीका ६० हजार युवा रोजगारी गुमाएर विदेशबाट फर्किने आँकलन गरिएको छ । यो आँकलनलाई ध्यानमा राख्दै सरकारले ल्याउने आर्थिक वर्ष ०७७/७८ को बजेटले नयाँ रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन कांग्रेसले सुझाव दिएको हो ।

यस्तै, वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै रोजगार गुमाएकाहरूलाई कृषि पेसामा लाग्‍ने वातावरण सिर्जना गर्ने र उत्प्रेरणाका कार्यक्रम ल्याउन समेत दलको सुझाव छ । कुन ठाउँमा के के अन्नबाली, के के फलफूल खेती गर्न सकिन्छ भनी सरकारी सुझाव किसानलाई दिने व्यवस्था गरी जमिनको अधिकतम उपभोग हुने व्यवस्था मिलाउन कांग्रेसको राय छ । नयाँ नीति तथा कार्यक्रम ल्याउँदा दक्ष जनशक्ति पलायन र व्यवसायलाई सञ्चालन गर्नेतर्फ ध्यान दिन पनि कांग्रेसको सुझाव छ ।


आइतबार संसदीय दलको बैठकपछि दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई २२ बुँदे सुझाव बुझाएका छन् । यस्तै, शनिबार कांग्रेसले मुख्यमन्त्रीसँग छुट्टै भेटवार्ता पनि गरेको थियो । कांग्रेसले अबको बजेट ल्याउँदा अबण्डा बजेट र बास्केटमा राख्‍ने परम्परा पनि त्याग्‍न सुझाव दिएको छ । चालु आर्थिक वर्षको विनियोजन विधेयक पनि अबण्डा भएकै कारण कांग्रेसले संसद अवरुद्ध पारेको थियो भने सरकारले विनियोजन विधेयक सच्याएर ल्याएको थियो ।

यस्तै, नीति तथा कार्यक्रम र बजेट कर्णप्रिय तर अवास्तविक योजना, नारामुखी कार्यक्रम भन्दा ठोस र यथार्थपरक योजना समावेश गर्न कांग्रेसको सुझाव छ । आर्थिक तथ्यांकलाई अध्यावधिक गरी रोजगारीको वित्तीय संस्थाहरूको लगानी र निक्षेप, संघीय राजस्वबाट प्रदेशमा उपलब्ध सहयोग आयकर, भन्सार, मुअक, अन्त:शुल्क, बहाल, उठाउने राजस्व, अनुदान र ऋणको अवस्था, विप्रेषण र समग्र आर्थिक गतिविधिको जानकारी पाउने प्रणालीको विकास गर्न कांग्रेसले सुझाव दिएको छ । प्रदेश पर्यटन व्यवसाय बचाउन मूल्य अभिवृद्धि कर घटाउने, व्यवसाय बचाउन कोष खडा गर्ने र राहत उपलब्ध गराउन गरी बजेट बनाउन सरकारलाई सुझाव दिईएको दलका नेता कृष्णचन्द्र नेपालीले बताए ।

बजेट विनियोजन गर्दा स्पष्ट ढंगबाट विभाग, मन्त्रालय समेतको ढाँचामा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अपांग तथा उद्योग, वन पर्यटन आदिमा छुट्टाछुट्टै बजेट निर्धारण गर्ने र अबण्डा र पोके बजेट कठोरताका साथ हटाउन प्रदेश सरकारसँग कांग्रेसले माग गरेको छ ।


प्रदेश सभा नेतृत्वसँग परामर्श गरी व्यवस्थापिका सञ्चालनमा पर्याप्त बजेट विनियोजन गर्न कांग्रेसले माग गरेको छ । नगदेबाली, कुखुरा, खसी, राँगा पालनमा जोड दिँदै कृषिमा उत्पादन तथा उत्पादकत्व बढाउने, उत्पादनको न्यूनतम समर्थन मूल्य तोकी बजारीकरण गर्ने वा खरिदको व्यवस्था गर्ने र उत्पादनका आधारमा कृषकलाई अनुदान दिनुपर्ने ससाना सिँचाइ योजना मल बिउ र विशेषज्ञ सेवाको पनि माग गरिएको छ ।

प्रदेशलाई न्यूनतम ६ महिना पुग्‍ने खाद्यान्न तथा अत्यावश्यक सामग्री भण्डारणको व्यवस्था गर्ने, प्रत्येक स्थानीय तहमा आगामी आवमा सञ्चालन हुने गरी कोल्ड स्टोरेजको निर्माण गर्न पनि दलको सुझाव छ । महिलाहरूको सीप क्षमता विकासमा व्यक्तिगत र समूहगत ऋण उपलब्ध गराई विविध घरेलु उद्योगमा प्राथमिकता दिन दलको माग छ ।


राहत उद्धार कार्यक्रमममा पारदर्शितापूर्वक सबै वडामा सर्वदलीय सर्वपक्षीय समिति मार्फत् वितरण गर्न कांग्रेसको माग छ । सार्वजनिक मावि तहसम्मको शैक्षिक अवस्था सुधार गर्न प्रदेश सरकारको पहलमा पालिका सरकारलाई शिक्षाविद् सहित योजना बनाई प्रभावकारी कार्यान्वयनमा जोड दिन माग गरिएको दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए । पर्यटन र पर्यटनसँग सम्बन्धित सेवालाई बचाउने र तत्पश्चात् पुनर्जीवित गरी चलायमान गराउने योजना बजेटमा समावेश गर्न दलले आग्रह गरेको छ ।


उद्योगी, व्ययवसायीले राहत महसुस गर्ने गरी बैंकको ब्याजदरमा कटौती, करमा छुट, ऋणको ब्याजलाई पुनतालिकिकरण गरी ब्याज, किस्ता तिर्न सरल समायवधि बढाउनेतर्फ संघ सरकार, राष्ट्र बैंक र अन्य सरोकारवालाहरूसँग समन्वय गरी बजेटमार्फत् सकारात्मक सम्बोधन गर्न कांग्रेसले सुझाव दिएको छ । यसबाहेक, ठूला आयोजनामा बजेट विनियोजन गर्दा यस आवमा खर्च हुनसक्ने परिस्थिति र सामर्थ्यलाई वैज्ञानिक रूपमा दृष्टिगत गरेर मात्र रकम छुट्याउन सुझाव दिएको दलका नेता नेपालीले बताए ।

बजेट कार्यान्वयनको सन्दर्भमा भने दुई महिनाभित्रै डीपीआर, सर्भे सकेर टेन्डरमा जाने र उपभोक्ता समितिसँग सम्झौता गरिसक्नुपर्ने माग पनि राखिएको उनले बताए । स्वास्थ्य क्षेत्रलाई अत्यावश्यक साधानस्रोत, जनशक्तिको यथाशीघ्र व्यवस्था, गरी महामारी, दीर्घरोग र अन्य स्वास्थ्य समस्यासँग लड्न सक्षम स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च महत्त्वका साथ बजेटले सम्बोधन गर्न सुझाव दिइएको सांसद ललितकला गुरुङले जानकारी दिइन् ।


फेवाताललाई राजनीतिक नारामा मात्र सीमित नराखी सकारात्मक परिवर्तन हुने यथार्थपरक कार्यक्रममा बजेट विनियोजन गर्ने, अन्य पर्यटकीय गन्तव्य, धरोहरहरूको निर्माण विकास संरक्षणका कार्यक्रम समेट्न कांग्रेसले माग गरेको सचेतक ओमकला गौतमले जानकारी दिईन

प्रकाशित : २०७७ जेठ ६ गते १२:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI