यी हुन् महामारीका बेला उच्च नाफा कमाउने प्रविधि जगतका कम्पनीहरू

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ६ गते २०:५१
यी हुन् महामारीका बेला उच्च नाफा कमाउने प्रविधि जगतका कम्पनीहरू

कोरोना भाइरस महामारीका कारण विश्वभर नै उद्योग व्यवसाय चौपट बनिरहेको छ । अधिकांश टेक्नोलोजी कम्पनीहरूको अवस्था पनि राम्रो छैन यो बेला । तर केही यस्ता कम्पनीहरू छन् जो लकडाउनका बेला उल्लेख्य आम्दानी गर्न सफल भइरहेका छन् ।

सफ्टवेयर कम्पनी
लकडाउन सुरु भएसँगै जब तपाईंको कार्यालयले तपाईंलाई घरबाटै काम गर्न भन्छ। तब तपाईंले त्यसका लागि आवश्यक प्राविधिक तयारी गर्नुपर्ने हुन्छ । धेरैका लागि यो झण्झट तथा खर्चिलो विषय पनि हो । तर, सफ्टवेयर बनाउने कम्पनीहरूका लागि भने यो निकै नै सुखद् सावित भएको छ । कतिपय सुरक्षा तथा गोपनीयतासम्बन्धी विवादलाई छाड्ने हो भने भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर जुमले यस अवधिमा उल्लेख्य व्यापार गर्न सफल भएको छ।

जुम एप निर्माता कम्पनीको सेयर मूल्य डिसेम्बरको तुलनामा अहिले दोब्बर बनिसकेको छ भने प्रयोगकर्ताको संख्या एक करोडबाट बढेर २ करोड पुगेको छ । यसअघि आमसर्वसाधारणले खासै नसुनेको जुम एप अहिले विश्वका धेरै मुलुकहरूका मन्त्री परिषद् बैठकदेखि लिएर तमाम कार्यालयहरूका बैठक सञ्चालन गर्ने प्लटफार्म बनेको छ ।

महामारीका बेला फस्टाउने सफ्टवेयर कम्पनीमा जुम मात्र एक्लो होइन । गत मार्च महिनामा माइक्रोसफ्ट टिम्सका प्रयोगकर्ता बढेर ४ करोड ४० लाख पुगेका छन् । माइक्रोसफ्टले एक हप्तामा ४० प्रतिशतसम्म प्रयोगकर्ताको संख्यामा बढोत्तरी हासिल गर्दै कीर्तिमानी नै कायम गर्न सफल भयो ।

त्यस्तै रिमोट एक्सेस सफ्टवेयर टिमभ्युअरको माग पनि बढिरहेको छ ।

वर्क च्याट एप स्लाकका प्रमुख कार्यकारीका अनुसार, गत मार्च महिनाको अन्त्यसम्ममा एप प्रयोगकर्ताको संख्याले दैनिक नयाँ रेकर्ड कायम गरेको थियो ।

गेमिङ सफट्वेयर कम्पनीहरू
लकडाउनका बेला होम अफिसमा काम गरिरहँदा जब कार्यालयको काम सकिन्छ। तब धेरै मानिस घरमै बसेर समय कटाउनका लागि कम्प्युटर गेम खेल्दछन् । जसका कारण गेमिङ सफ्टवेयर बनाउने कम्पनीहरूको व्यवसाय पनि चम्किरहेको छ।

लकडाउनका बेला मानिसहरू अनलाइन गेम खेल्नमा धेरै समय खर्चिरहेका हुन्छन्। अनलाइनमा गेम खेल्नेहरूको संख्यामा भारी वृद्धि भएको तथ्यांकले देखाउँछ । केही समयअघि मात्र लञ्च भएको नयाँ अनलाइन गेम ‘कल अफ ड्युटी’ रातारात हिट भयो र दशौं लाख प्रयोगकर्ता पुगे ।

विश्लेषकहरूका अनुसार गेमिङ सफ्टवेयरको बिक्रीमा ३५ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै गेमिङसम्बन्धी हार्डवेयरको बिक्रीमा ६३ प्रतिशत बढोत्तरी भएको छ । अहिलेको बिक्रीलाई हेर्दा निकट भविष्यमै गेमिङ कन्सोलको अभाव हुने देखिएको छ । नयाँ गेम तथा कन्सोल तयार हुने क्रम जारी रहे तापनि बजारमा आउनका लागि ढिलाइ हुने कारणले गर्दा अभाव चर्किने विश्लेषण गरिएको छ ।

यद्यपि, एक्स ब्वायज कम्पनीका प्रमुखका अनुसार सन् २०२१ मा गेमिङ सफ्टवेयर उद्योगले समस्याको सामना गर्नुपर्ने र राम्रो बिक्रीका बाबजुद कम्पनीका सेयर मूल्यमा गिरावट आउन सक्दछ ।

भिडियो स्ट्रिमिङ कम्पनीहरू

केवल गेमिङ मात्र होइन भिडियो स्ट्रिमिङ्ग कम्पनीहरूले पनि लकडाउनको फाइदा उठाइरहेका छन् ।

मनोरञ्जनका लागि इन्टरनेट प्रयोगकर्ताहरू नेटफ्लिक्सलगायतका विभिन्न भिडियो स्ट्रिमिङ्ग प्लाटफर्महरूमा मनग्य खर्च गरिरहेका छन् ।

यसबीचमा नेटफ्लिक्सले १६ लाख नयाँ सब्सक्राइबरहरू प्राप्त गरेको छ । नेटफ्लिक्सले वर्षभरकै लागि सामग्रीहरू पहिले नै तयार गरिसकेको थियो । आगामी महिनाको लागि पनि ऊसँग नयाँ कार्यक्रम तयार छ ।

डिज्नी प्लसले पनि ऐन मौकामा मार्चको अन्त्यतिर बेलायतलगायतका ठाउँहरूमा आफ्नो लञ्चिङ गर्यो । डिज्नी प्लसका पहिले नै ३ करोड ३० लाख सब्सक्राइबर्स थियो । अहिले त्यो संख्या करिब साढे ५ करोड पुगिसकेको छ र नेटफ्लिक्सलाई कडा टक्कर दिइरहेको छ ।

हलहरू बन्द भएसँगै अहिले ठूलो लगानीका फिल्महरू समेत डिजिटल प्लेटफर्ममा रिलिज हुन थालेका छन् । फिल्म निर्माता कम्पनी युनिभर्सलका अनुसार अब महामारी पछि पनि डिजिटल प्लेटफर्ममा फिल्म रिलिज गर्ने कार्यले निरन्तरता पाउनेछ ।

त्यस्तै डिजिटल म्युजिक सर्भिस स्पटिफाइका शुल्क तिर्ने सब्सक्राइबरको संख्या १३ करोड पुगेको छ ।

फिटनेस

यो एउटा यस्तो क्षेत्र हो जसमा लकडाउनको नकारात्मक असर त पर्‍यो नै तर यसले अनेक प्रकारले आफूलाई सम्हाल्न सफल भइरहेको छ ।

व्यायाम कक्षा सञ्चालन गर्ने कम्पनी क्लासपासका अनुसार, लकडाउनपछि उसले अनलाइन सेवाका माध्यमबाट जिम ट्रेनिङ दिन सुरु गरेको छ । लकडाउनपछि अनलाइन व्यायाम सेवाको मागमा उच्च वृद्धि भएको छ । तर, लकडाउनका आफ्नो मुनाफामा ९५ प्रतिशतले कमी आएको कम्पनीको भनाइ छ ।

उता, पेलोटिन कम्पनीले आफ्नो फिटनेस बाइकको प्रवर्द्धन गर्नका लागि भिडियो स्ट्रिमिङ्ग कक्षा सञ्चालन गर्दछ । कोरोना भाइरस संक्रमणसँगै कम्पनीले आफ्नो स्टुडियो बन्द गर्नुपर्यो । तर, पनि कम्पनीले ६० प्रतिशतभन्दा धेरै मुनाफा कमाउन सफल भयो ।

घरमै बसेर युट्युबमार्फत व्यायाम सिकाउने युट्युबर जो विक्सलाई पनि लकडाउनले फाइदा पुर्‍याएको छ । उनका युट्युब भिडियो हेर्नेको संख्यामा तीव्र वृद्धि भएसँगै उनलाई ठूलो स्पोर्टस् ब्राण्डहरूले प्रायोजन गर्ने तयारी गरिरहेको बताइएको छ ।

अमेजन

कोरोना भाइरस महामारीका कारण अमेजन कम्पनीले केही समस्याको सामना अवश्य पनि गर्नु परिरहेको छ । अमेजनको गोदाममा काम गर्ने श्रमिकहरूले न्यून सुविधा तथा उच्च जोखिम भएको भन्दै केही समयका लागि काम नै रोकिदिए । हड्तालको आयोजना गर्ने कर्मचारीलाई अपमानित गरेको घटना आएसँगै फ्रान्स सरकारले अमेजनका अत्यावश्यकबाहेकका सामानहरूको सूचना जाँच नहुँदासम्मका लागि बिक्रीमा रोक लगाइदियो । तर, यसका बाबजुद पनि अमेजन कम्पनीका मालिक जेफ बेजोसले लकडाउनका समयमा मात्रै आफ्नो सम्पत्ति २४ अर्ब डलर थप्न सफल भए।

अमेजनले उच्च मुनाफा कमाएसँगै अमेजन कम्पनीको सेयर मूल्यमा पनि भारी वृद्धि भयो ।

बीबीसीको सहयोगमा

प्रकाशित : २०७७ जेठ ६ गते २०:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI