भारत कोरोना सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा १०औं स्थानमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १२ गते ८:३१

कोरोना भाइरस सर्वाधिक फैलिएका देशको सूचीमा भारत १०औं स्थानमा उक्लिएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको  तथ्यांक अनुसार भारतमा १ लाख ३८ हजार ५ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । सूचीको सबैभन्दा माथि अमेरिका छ। त्यसपछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी, टर्की तथा भारत छन।

भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या चार हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार त्यहाँ ४ हजार २४ जनाको मृत्यु भइसकेको छ। सर्वाधिक मृत्यु हुने देशहरुको सूचीमा भारत १५औं स्थानमा छ। भारतमा ५७ हजार ६ सय ९२ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५४ लाख नाघेको  छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार ५४ लाख ६ सय ८ जनामा संक्रमण पुष्टि भएको छ।

सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा अमेरिका पहिलो स्थानमा छ। त्यहाँ १६ लाख ४१ हजार ५ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, ब्राजिलमा ३ लाख ६३ हजार २ सय ११, रुसमा ३ लाख ४४ हजार ४ सय ८१, बेलायतमा २ लाख ६० हजार ९ सय १६, स्पेनमा २ लाख ३५ हजार ७ सय २२, इटालीमा २ लाख २९ हजार ८ सय ५८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। विश्वभर ३ लाख ४४ हजार ७७ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। सर्वाधिक मृत्यु हुने देशको सूचीमा पनि अमेरिका नै अघि छ। त्यहाँ ९७ हजार  ६ सय ८६ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३६ हजार ८ सय ७५, इटालीमा ३२ हजार ७ सय ८५, स्पेनमा २८ हजार ७ सय ५२ जनाको मृत्यु भइसकेको छ। विश्वभर २१ लाख ६५ हजार ७ सय ८२ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्। तीमध्ये अमेरिकामा ३ लाख ६६ हजार ७ सय ३६, जर्मनीमा १ लाख ६० हजार २ सय ८१, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, ब्राजिलमा १ लाख ४९ हजार ९ सय ११ जना संक्रमणमुक्त भएका छन्। नेपालमा पनि संक्रमितको संख्या ६ सय ३ पुगेको छ। आइतबार नुवाकोटामा पनि संक्रमित भेटिएसँगै देशका ४२ जिल्लामा संक्रमण फैलिएको छ। संक्रमितमध्ये १ सय ५ जनामा अहिले संक्रमणमुक्त भएका छन्। नेपालमा ३ जनाको भने कोरोना संक्रमणपछि मृत्यु भएको छ।

प्रकाशित : २०७७ जेठ १२ गते ८:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI