विनयी त्रिवेणीका संक्रमित पुरुषको सम्पर्कमा आएका ६ जनाको पिसिआर नेगेटिभ

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १२ गते १४:५०

नवलपरासी, १२ जेठ । कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएका पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ का एक जना पुरुषको सम्पर्कमा आएका ६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।


जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका स्वास्थ्य प्रमुख केशव चापागाईका अनुसार गएराति आएको रिपोर्टमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो । कोरोना पोजेटिभ देखिएका पुरुषको भने चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा उपचार भईरहेको छ ।

भारतबाट नेपाल आएका ति पुरुषमा क्वारेन्टाइनमा बस्दा ज्वारो आएपछि उनलाई उपचारको लागि चोरमारा प्राथमिक स्वास्थ्य चौकीको आइसोलेशनमा राखेर उपचार गरिएको थियो । स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा कोभिड १९ पोजेटिभ आएपछि उनलाई थप उपचारका लागि चितवनको कोरोना विशेष अस्पतालमा लगिएको हो ।

यसैबीच उनलाई उपचार गर्न राखिएको चोरमारा स्वास्थ्य चौकीका कर्मचारीहरुको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने भएको छ । त्यसैगरी आरडिटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका गैडाकोटका दुई जना स्वास्थ्यकर्मीसँगै उनको सम्पर्कमा आएका १७ जना सबैको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।

प्रकाशित : २०७७ जेठ १२ गते १४:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI