शिवाकोटीलाई ‘लोकतन्त्र र पत्रकारिता पुरस्कार’

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १४ गते १०:३९
शिवाकोटीलाई ‘लोकतन्त्र र पत्रकारिता पुरस्कार’

काठमाडौं । नेपाल प्रेस युनियनका महासचीव  अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । 
तेज तिर्थ ट्रष्टले शिवाकोटीलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छनोट समिति सदस्य जगत नेपालले जानकारी दिए । 

एक लाख राशीको यो पुरस्कार सिवाकोटी सँगै राष्ट्रिय समाचार समितिकी पहिलो महिला महाप्रवन्धक वरिष्ठ पत्रकार निर्मला आचार्यलाई पनि प्रदान गर्न लागिएको ट्रष्टले जनाएको छ । 

दुई जनालाई संयुक्त रुपमा प्रदान गरिने भएकाले दुवै जनालाई जनही पचास हजार रुपैयाँ र  प्रमाणपत्र प्रदान गरिने नेपालले जनाए । 

यसअघ शिवाकोटी लाई अन्तर्राष्ट्रिय पत्रकारहरुको नेपाली संस्था इन्जाले एक हजार अमेरिकी  डलरको इन्जा साहसिक पत्रकार पुरस्कार प्रदान गरेको थियो ।  त्यस्तै शिवाकोटीले कानुन पत्रकारिता पुरस्कार पनि पाएका थिए ।

तेज तिर्थ ट्रष्टका अन्य पुरस्कारहरु

ट्रष्टले यस वर्षको मानव अधिकार तथा लोकतन्त्र पुरस्कार भने प्रजातन्त्र सेनानी शिव कंगाललाई दिने निर्णय गरेको छ । पञ्चायत विरुद्वको आन्दोलनका योद्वा कंगाललाई विगत पाँच दशक यता मूल्य र मान्यताको राजनीतिमा पुर्याएको योगदानका लागि पुरस्कार प्रदान गरिएको हो ।

यो पुरस्कारको राशी पनि एक लाख र प्रमाणपत्र रहेको छ । त्यसैगरी जनही पचास हजार पुरस्कार राशी र र प्रमाण पत्र रहेको जुजुभाई नानीमैजु पुरस्कार इतिहासकार योगेन्द्रमान श्रेष्ठ र कवयत्री नारायणदेवी श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छनोट समितिका संयोजक, सांसद एवं पूर्व मन्त्री भिमसेनदास प्रधानले जानकारी दिए ।

 उनीहरु लाई नेपाल भाषाको इतिहास र साहित्य तर्फ पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको प्रधानले बताए । प्रधानको संयोजकत्व मा प्राध्यापक ओमकारेश्वर श्रेष्ठ र पत्रकार जगत नेपाल सदस्य रहेको समितिले पुरस्कार प्रदान गर्ने व्यक्तिहरुको छनोट गरेको हो ।

 हरेक बर्षको गणतन्त्र दिवसका अवसरमा प्रदान गर्ने गरिएको यो पुरस्कार यस बर्ष भने कोरोना भाईरसको महामारी सामान्य भएपछि प्रदान गरिने ट्रष्टले जनाएको छ । पूर्व स्वास्थ्य राज्यमन्त्री तिर्थराम डंगोलले आफ्नो अंशको सम्पत्ति बिक्री गरी ट्रष्टका नाममा एक करोड रुपैयाँ राशीको कोष स्थापना गरेका हुन् । त्यसैको व्याजबाट हरेक वर्ष, तीन विधामा पुरस्कार वितरण गरिँदै आएको छ ।

प्रकाशित : २०७७ जेठ १४ गते १०:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI