संसदमा दिउसो ४ बजे बजेट प्रस्तुत हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १५ गते ७:१०
संसदमा दिउसो ४ बजे बजेट प्रस्तुत हुने

नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ ।

सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ । अपराह्न ४ बजे बजेट प्रस्तुत हुने बैठकका लागि संसद् सचिवालयले दुवै सदनका सदस्यहरूलाई सूचित गरिसकेको छ ।

दिउँसो ३ः४५ मा बैठक कक्षमा प्रवेश गरिसक्न पनि सचिवालयले आग्रह गरेको छ । सरकारको नयाँ आर्थिक वर्षको आय र व्ययको विवरण बजेट जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
सरकारले यो पटक कोरोना भाइरस रोग (कोभिड–१९) जोखिमले पारेको बहुपक्षीय असर न्यूनीकरणका लागि बजेट केन्द्रित गर्दैछ । न्यूनतम आर्थिक क्रियाकलापको सञ्चालन र कोरोना महामारीको असरबाट बच्न बजेट केन्द्रित हुने यसअघि नै अर्थमन्त्री डा. खतिवडाले सदनमा जानकारी दिइसक्नुभएको छ ।

रोजगारी सिर्जना, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण तथा सुदृढीकरणलाई मूल प्राथमिकतामा राखेर बजेट तयारी गरिएको छ । रोजगारीका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरूप बदल्ने यसअघि नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको छ ।
प्रिबजेट छलफलका क्रममा सांसदहरूले भने कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् ।

रोजगारी सिर्जना गर्ने कार्यक्रमसहित त्यस्ता क्षेत्रमा लगानी बढाउन उहाँहरूको सुझाव छ । बिहीबार सदनमा प्रस्तुत हुने बजेट २६ गतेसम्म पारित गरिसक्ने तयारी संसद् सचिवालयको छ । गोरखापत्रबाट

प्रकाशित : २०७७ जेठ १५ गते ७:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI