शिक्षा क्षेत्रलाई एकखर्ब ७२ करोड बजेट

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १५ गते १९:३५
शिक्षा क्षेत्रलाई एकखर्ब ७२ करोड बजेट

काठमाडौँ  । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । गत वर्षको भन्दा ८ अर्ब बढी हो ।

आलु आर्थिक वर्षका लागि शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन् ।

आगामी शिक्षा बजेटमा दिवा खाजामा ७ अर्ब ५२ करोड, छात्रवृत्तिमा २ अर्ब ७० करोड,  निशुल्क स्यानिटरी प्याडमा १ अर्ब ८२ करोड, शिक्षण स्वयसेवकका लागि २ अर्ब २३ र राष्ट्रपति शैक्षिक कार्यक्रमका लागि ६ अर्ब विनियोजन गरिएको छ । यस्तै, निःशुल्क पाठ्यपुस्तकका लागि  २ अर्ब ७६ करोड, विश्वविद्यालय अनुदान अयोगमार्फत् दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड बजेट विनियोजन गरिएको छ ।

सरकारले यसवर्ष थप ६ हजार स्वयंसेवक शिक्षकका लागि २ अर्ब २३ करोड बजेट विनियोजन गरेपनि इसिडि शिक्षक र विद्यालय कर्मचारीको सुविधाका लागि बजेट विनियोजन गरेको छैन ।

यस्तै, राहत, करार, साविक उमावि शिक्षकलगायतका दरबन्दी सिर्जना र स्थायी प्रक्रियाबारे पनि बजेट मौन छ । यी शिक्षक कर्मचारीको माग पुरा गर्ने विषयमा कतिपय सम्झौता भएका थिए भने शिक्षक महासंघले शिक्षा मनत्रालयलाई मागपत्र नै बुझाएको थियो । साथमा एकीकृत अखिल नेपाल शिक्षक संगठनलेसमेत ७७ जिल्लाका सांसदमार्फत यि विषयलाई बजेट मार्फत् सम्बोधन गर्न दबाब दिएको थियो । तर, यी कुनैपनि शिक्षकका माग बजेटमा परेनन् । सरकानरले सार्वजनिक गरेको बजेटमा कोभिड–१९ का कारण पठनपाठनमा भएको अवरोधलाई दृष्टिगत गरी भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा, टेलिभिजन तथा रेडियोमार्फत नयाँ शैक्षिक क्षेत्रको पठनपाठन अगाडि बढाउने  तयारी उल्लेख छ ।

संक्रमण जोखिमका कारण विद्यार्थीमा परेको मनोसामाजिक असर निवारण गर्न सकारात्मक सोचसहित सिर्जनशीलता विकासका क्रियाकलाप सञ्चालन गरिने खतिवडाले जानकारी दिए । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न सबै जिल्लामा दिवाखाजा कार्यक्रा लागु गरिने भएको छ । 

हाल ४३ जिल्लामा लागु यस कार्यक्रमलाई देशभर लागु गरिने बजेटमा उल्लेख छ ।अर्थमन्त्री खतिवडाले देशभरका कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाका लागि ७ अर्ब ५२ करोड विनियोजन गरिएको बताए ।  यसबाट २८ लाख बालबालिका लाभान्वित हुने मन्त्री खतिवडाले बताए । यस्तै,  आगामी वर्ष २६ लाख विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न २ अर्ब ७० करोड विनियोजन गरिएको उनले बताए ।

साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान सञ्चालन गरेर साक्षर नेपाल घोषणा गरिने बताए । यस्तै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सरकारले ६ अर्ब विनियोजन गरेको छ ।यस्तै आगामी आर्थिक वर्षमा सरकारले १ हजार ८ सय विद्यालय भवन र ३८ आंगिक क्याम्पस भवनको पुर्निर्माण गर्ने सरकारको तयारी छ । २ हजार ५२० कक्षाकोठा, १–१ हजारको संख्याको विज्ञान प्रयोगशाला, पुस्ताकलय र कम्प्युटर ल्याब स्थापना गरिने बजेटमा उल्लेख छ । १३ लाख ४० हजार छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन स्थानीय तहलाई सशर्त अनुदान दिने अर्थमन्त्री खतिवडाले बताए । यसका लागि १ अर्ब ८२ करोड विनियोजन गरिएको उनले बताए ।

यस्तै, गणित विज्ञान जस्ता विषयका लागि थप स्वंसेवक शिक्षक राख्नका लागि २ अर्ब २३ करोड विनियोजन गरिएको छ । सरकारले मातृ भाषामा पढाइ हुने मदरसा,गुरुकुल गुम्बा लगायतका शैक्षिक संस्थाहरुलाई आधुनिक शिक्षाको मूलधारमा लगिने छ । निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन सरकारले २ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ। विश्वविद्यालय अनुदान अयोगमार्फत् दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड बजेट विनियोजन गरिएको छ ।

प्रकाशित : २०७७ जेठ १५ गते १९:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI