गण्डकी प्रदेशले नवलपुर चिन्दैन: गौतम

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १६ गते १५:३९
गण्डकी  प्रदेशले  नवलपुर चिन्दैन: गौतम

नवलपुर -गण्डकी प्रदेशको आसन्न नीति तथा कार्यक्रम र बजेट पूर्व ल्याइएको विनियोजन विधेयक २०७७ को शुक्रबारको छलफलमा सहभागी सांसद ओमकला गौतम चालिसेले सिद्धान्त र प्राथमिकता अघिल्लै वर्षको निरन्तरता बाहेक कही नभएको बताइन् । प्रदेशसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उनले गरेको टिप्पणीको केही अंश ।


वास्तवमा भनिन्छ, सुझाव दिने कार्यान्वयन नहुने भएपछि जिब्रोको राग मेटेर के गर्नु ? नेपाली कांग्रेसले लिखित रूपमा बुँदागत सुझाव पनि दिइसकेको छ । त्यो कति प्राथमिकतामा पर्‍यो वा परेन भन्ने विषय यहाँ प्रश्‍न उठ्न सक्छ । सिद्धान्त र प्राथमिकता विगतकै निरन्तरता हो । कार्यान्वयन पाटोको बारेमा हामीलाई छर्लङ्गै छ । कार्यान्वयन कति भयो कि भएन ? यहाँ प्रश्‍न उठिसकेको छ ।

चैत ११ देखि लकडाउन भयो । त्यसभन्दा अगाडि यो सरकारले ती विगतका बजेट, योजनाको कार्यान्वयन गर्न किन चुक्यो ? किन ढिला भयो ? टेन्डर किन भएन ? यसको जवाफ कसले दिने ? यो सोच्‍न जरुरी छ ।

हिजोका योजनाहरू कार्यान्वयन भएका छैनन्, टेन्डर पनि भएका छैनन् । हामी यहाँ आएर बोल्दै गर्दा, हामीलाई यहाँ पुर्‍याउन सहादत पाउनेहरूलाई म सम्झिन्छु । तर, के त्यो मर्म अनुसार यहाँ चलेको छ त ? जनताको भावना अनुरूप चलेको छ त ? आज हामी मन्त्री, सांसद हुँदैमा हिजोका ती कुराहरूलाई बिर्सिने ? खोला तर्ने लौरी बिर्सने कुरा भएको छ ।

यतिबेला, कोरोना भाइरस अदृश्य शत्रु बनेर आएको छ । देखिनेसँग त लडौँला नदेखिन शत्रुसँग हामी लड्नुपर्ने चुनौती छ । जनता बचाउन सके, हामी बाँचे विकास पछि गरौँला भन्ने हो । पहिला प्राथमिकता स्वास्थ्यलाई दिनुपर्छ, जनता बचाउनुपर्छ । यो मेरो माग छ ।

छुट्याइएको बजेटले नपुग्ला हामीले बृहत तरिकाले जाऔँ । अलपत्र नेपालीहरूलाई अहिलेसम्म ल्याउन सकिएको छैन । साँच्चिकै बोर्डरबाट भारतसँग सहमति गरेर नेपालीहरूलाई ल्याउने प्रक्रिया थालेको भए यसरी दिनप्रतिदिन दोब्बर हुने थिएन होला ।

हामीले लकडाउन गर्‍यौँ । उपयुक्त थियो, तर यसको विकल्प खोजिएन । लकडाउन काम गर्न नसक्ने, तयारी गर्न नसक्ने सरकारका लागि मात्र हो । अमेरिकामा पनि लकडाउनको मोडालिटी फरक छ । नेपालमा त लकडाउन भनेको छ, नेपालीहरू लुकिछिपी आउने अनि संक्रमण गाउँ समाजमा फैलिएको छ । मैले बारम्बार भनेको छु, अलपत्र नेपालीलाई बोर्डरबाट ल्याएर पीसीआर गरेर स्वास्थ्योपचार चाहिनेलाई उपचार, क्‍वारेन्टाइनमा राख्नुपर्छ ।

अर्कातर्फ उपचार खर्च त्यति महंगो हो भने सरकारले धान्न सक्छ कि सक्दैन ? बागलुङका संक्रमितको उपचार खर्चका बारेमा मन्त्रीज्यूले जवाफ दिनुहोस् ।

हामीले कोरोना नियन्त्रण गर्न मात्र होइन, दीर्घकालीन रूपमा अहिले कोरोना फैलिएझैँ फेरि अर्को रोग आउन सक्छ । त्यसैले सुविधासम्पन्न अस्पताल, जिल्ला अस्पतालमा अरू रोगको महामारी पनि आउन सक्छ ।

नवलपुर जिल्ला त यस्तो पर्‍यो नि । राम्दीको नाका र मुग्लिङको नाका बन्द गरेर गण्डकी प्रदेश सुरक्षित बनाऔँ भन्ने कुरा मैले सुनेको छु । नवलपुर जिल्ला गण्डकीको हो कि होइन ? माननीयहरूलाई पनि हामीले नवलपुरभन्दा त्यो जिल्ला पनि छ र भन्ने हुन्छ होला ?

कान्छो जिल्ला, नयाँ जिल्ला भनिएको छ । त्यहाँ संरचनाहरू खडा गर्न जरुरी छ । सबै कार्यालय व्यवस्थापनमा पनि सरकारले ध्यान देओस् । एकीकृत कार्यालय बनाउने भनिएको छ, त्यहाँ विशेष बजेटको व्यवस्था गरियोस् । ध्यानाकर्षणमात्र होइन विशेष रूपमा नवलपुरलाई हेरियोस्, हिजो मात्रै संक्रमित थपिएका छन्, भोलि पनि थपिने छन्, स्वास्थ्योपचारसहित सबै भौतिक सुविधाको व्यवस्थापन गर्न तत्काल जरुरी छ ।

कोरोनापछि भोकमरी सँगै आएको छ, मानिसहरू मर्ने अवस्था आएको छ, चुलो निभेको छ, चुलो बल्ने खालको कार्यक्रम ल्याउने कृषिको उत्पादनलाई जोड दिन आवश्यक छ । माटोको परीक्षण गरेर कृषि उपज उत्पादन गरियोस् । भूमिहीनलाई समेत सम्बोधन गर्ने खालको कार्यक्रम ल्याइयोस् ।

प्रकाशित : २०७७ जेठ १६ गते १५:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI